Comments Add Comment

इलेक्सन क्वीजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण

१७ मंसिर, काठमाडौं । मतदाता शिक्षाका लागि सुुरु गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्वीज) विवादमा निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ ।

इलेक्सन क्वीजमा अमुख दलको पक्षमा प्रश्न सोधिएको भन्दै एमालेले आपत्ति जनाएको थियो ।

लगत्तै, आयोगले इलेक्सन क्विज सात भागको रहेको र सबैमा प्रधानमन्त्रीदेखि विभिन्न दलका अध्यक्ष, शीर्ष नेता तथा अन्य उम्मेदवारको नाम रहेको बताएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटै भागमा सबै उम्मेदवारहरूको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नामहरू समावेश भएको जानकारीका लागि अनुरोध छ ।’

आयोगका अनुसार हाजिरीजवाफको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ भनेर सोधिएको थियो भने दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवाल बारेमा प्रश्न समावेश छ । तेस्रो भागमा उम्मेदवारहरु गगन थापा, रविन्द्र मिश्र र विश्वप्रकाश शर्मा तथा चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश गरिएको छ ।

रेकर्ड भइसकेका भागहरु पाँचौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र बाबुराम भट्टराई तथा छैटौं भागमा पशुपति शमशेर राणा, लालबाबु पण्डित र अग्निप्रसाद सापकोटा र भाग सातमा के.पी. शर्मा ओली, विजयकुमार गच्छदार र ईश्वर पोखरेलको उम्मेदवारी सम्बन्धमा प्रश्न समावेश गरिएका आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको स्पष्टीकरण दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment