Comments Add Comment

कोही महावीरसँग ऋचा शर्माले मूर्ख भनेको भिडियो छ ?

सन् २०१६ आयोजना भएको एक नेपाली साहित्य फेस्टिबलमा नायिका ऋचा शर्माले हिरोको परिभाषाको विषयमा प्रस्तुत गर्नुभएको विचारदेखि नै उहाँ बौद्धिक फिल्मीकर्मी हुनुहुन्छ भन्ने लागेको थियो ।

तर, त्योबेला उहाँले प्रस्तुत गर्नुभएको तर्कमा कुनै बहस अनि विवाद भएन । किनकि, मानव मनको एउटा कुना नकरात्मकताले बनेको हुन्छ र त्योकुना नै जीवनमा धेरै हाबी हुन्छ भन्ने मैले सुनेको थिएँ ।

ऋचालाई त्यति उत्तम अनि उत्कृष्ट र सकारात्मक बिचारका लागि कसैले एक दुई शब्द खर्चेको देखिनँ । तर, अहिले सामाजिक सञ्जालमा उहाँको पक्ष अनि विपक्षमा हजारौं स्टाटस देखिन्छन् ।

हुन त हो, कसैका बारे हामी राम्रोभन्दा नराम्रो खबर छिटो पत्याउँछौं अनि, त्यसैलाई प्राथमिकतासाथ बहस अनि विवाद गर्न चाहन्छौं ।

मैले जीवनमा आजसम्म ऋचा शर्मालाई एकपटक पनि भेटेको छैन । तर, अहिलेको आधुनिक प्रविधिका कारण उहाँलाई नजिकबाट चिनेको छु ।

उहाँले प्रस्तुत गर्नुभएको भनाइको मूल कुरा नै नबुझी उहाँमाथि गेट वेल सुन भन्नेहरुले उहाँको भनाइ रहेको भिडियो हेर्नुभयो कि भएन भन्ने ठूलो प्रश्नचिन्ह खडा भएको छ ।

हामीले लेखेको यो कुरालाई ती फिल्मकर्मीले कति महत्व दिन्छन्, त्यो त थाहा भएन तर, पछिल्लोचोटि फेसबुकमा नेपाली चलचित्र क्षेत्रमा एउटा विषयमा निक्कै बहस चलेको देख्दा अनि देश तथा विदेशमा रहेका दर्शक र चलचित्रकर्मीहरुले सो विषयमा सामाजिक सञ्जालमा आफ्नो कुरा राखेको देख्दा मैले पनि दर्शकका रूपमा केही लेख्नुपर्छ भन्ने लागेर केही कुरा उल्लेख गरेको छु ।

अभिनेत्री ऋचा शर्माले केही हप्ताअघि सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस’ शीर्षकमा भएको छलफलमा वक्ताका रुपमा सहभागी भएर ‘छक्का पञ्जा’ का एक दृश्य आफूलाई अस्वाभाविक लागेको बताउनुभएको थियो ।

कसैका बारे हामी राम्रोभन्दा नराम्रो खबर छिटो पत्याउँछौं अनि, त्यसैलाई प्राथमिकताका साथ बहस अनि विवाद गर्न चाहन्छौं ।

तर, उता उहाँले ‘छक्का पञ्जा’ हेर्ने दर्शकलाई मूर्ख भनेको आशयको शीर्षक राखेर नेपाली मिडियाले सो कार्यक्रमको भिडियो प्रकाशित गरेपछि ‘छक्का पञ्जा होइन, छक्क पञ्जा-२ को’ समूहले उहाँलाई ‘गेट वेल सुन’ भन्दै उहाँको स्वास्थ्यलाभको कामना गरे ।

उहाँले छक्का पञ्जा–१ को दृश्यको कुरा गर्नुभएको थियो तर उहाँलाई छक्का पञ्जा २ का समूहले सामूहिक रुपमा सामाजिक सञ्जालमार्फत सबैले एउटै स्टाटस पोस्ट गरेर हमला गरे । जुन उहाँका लागि सोचेको भन्दा फरक हुन बन्न पुग्यो ।

नायिका ऋचा शर्माको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा आएका छक्का पञ्जा– २ समहूको सामूहिक आक्रमणमा सो चलचित्रका कलाकार दीपकराज गिरीले स्टाटस नै लेखेर हाम्रो फिल्म हेर्ने हेर्ने दर्शकलाई मूर्ख भन्ने नायिकाज्यूले कहिल्यै दर्शक नै पाउनुभएन समेत भन्नुभयो ।

तर, त्यो झूठो अनि प्रोपोगाण्डवाला स्टाटस थियो । मूल कुरा त छक्का पञ्जा हेर्ने दर्शकलाई मूर्ख शब्द उहाँले प्रयोग गर्नु भएकै थिएन ।

उहाँले छक्का पञ्जाको एक दृश्य, जुन महिलालाई हरेक रात थप्पड हान्छु अनि मात्र विवाह गर्छु भन्दा हाँसेर ताली पिट्ने दर्शकहरु देखेर आफू अनि आफ्ना केही साथीहरुले ताली पिट्न नसकेको बताउनुभएको थियो ।

सबैजना रमाइलो मानिरहेका थिए तर, आफूहरुलाई चाहिँ मूर्खजस्तो अनुभव भएको बताउनुभएको थियो । त्यति भन्नु कुनै ठूलो गल्ती होइन । आफूले महसुस गर्नु पाइन्छ । सो दृश्य सामान्य दृश्य भएर नै होला, अरुले ताली पिटेको भन्ने तर्क पनि पेश गर्नुभएको थियो ।

एउटा दृश्यको कुरा गरे पनि नेपाली फिल्ममा महिलामाथि थप्पड हान्छु भन्दा हाँस्नु ताली पिट्नु आफुले नसकेको कुरा गर्नु भएको उहाँलाई र छक्का पञ्जा फिल्मलाई नै जोडेर दुनियाँले अनेक समाचार अनि स्टाटस फेसबुकमा पोस्ट गरे ।

उहाँले त्यसबेला प्रस्तुत गर्नुभएको भनाइको भिडियो हेर्दै नहेरी फेसबुकमा कराउनेहरुको गरिब मानसिकता देखेर नेपाली फिल्म क्षेत्रप्रति धेरै माया लागेर आयो । उहाँहरूको धेरै माया लाग्यो । त्यसरी कराउनेहरुलाई उहाँको सो भिडियो पूरापुरी हेर्नु हार्दिक अनुरोध गर्दछु ।

अर्को कुरा, ऋचाले प्रश्न सोध्ने प्रस्तोताको सुरुको प्रश्नको उत्तर भन्दै आफूलाई पनि दर्शक झैँ ठानी हामी दर्शक पाखण्डी छौं भन्नुभएको छ तर, उहाँले छक्का पञ्जा हेर्ने दर्शकलाई पाखण्डी भन्नुभएको हो भन्ने कुरा त्यो भिडियोबाट मैले चाहिँ बुझिनँ ।

उहाँलाई सोधिएको प्रश्न के थियो अनि उहाँले किन उत्तर त्यसरी दिन भयो भन्ने कुरा बुझ्नु पर्छ सुरुमा । उहाँ नेपाली फिल्म उद्योगमा हुनुहुन्छ । उहाँले पनि महिला हिंसा भएको फिल्ममा अभिनय गर्नुभएको छ ।

तर, त्यस्ता फिल्महरुको केही दृश्यबाट आफुले मनोरन्जन लिन नसकेको उहाँले बताउदै आउनुभएको छ । यसो भन्दैमा आफूलाई नमीठो लागेको कुरा रोक्नैपर्छ भन्ने हुन्न ।

अभिनेत्री र महिला हुनुका साथसाथै अरुको फिल्मका लागि दर्शक पनि हो उहाँ । अरुका फिल्मका बारेमा उहाँलाई जे लाग्छ, त्यो बोल्ने उहाँलाई अधिकार छ ।

तर, उहाँले प्रस्तुत गर्नुभएको पूरा सन्दर्भ नबुझी फेसबुकमा किन उहाँमाथि हमला भयो त ? छ कोही महावीर यो दुनियाँमा, जोसँग, ऋचा शर्माले बोलेको मात्र होइन, प्रश्नकर्ताले के प्रश्न सोध्नुभएको अनि ऋचाले छक्का पञ्जा हेर्ने दर्शकहरु मूर्ख हुन् भन्नुभएको भिडियो ? यदि छ भने प्रस्तुत गर्नु होला !

मलाई थाहा छ, सत्य कुरा बोल्ने आँट ऋचा शर्मा जस्ता मुटु भएका मान्छेमा मात्र रहेछ । उहाँलाई सो फिल्म मन परेको या मन नपरेको भन्ने कुरा नै छैन ।

छ त केवल गुनासो बाहिर महिला हिंसा हुनुहुँदैन भन्ने अनि फिल्ममा महिला हिंसा भएको देख्दा ताली पिट्ने महिलावादीहरुसँग ।

मूल कुरो नबुझी छक्का पञ्जाको समूहले ऋचा शर्मासम्बन्धी त्यसरी स्टाटस लेख्नु एकदम धेरै हतारो गरे । हतार मात्र होइन, ठूलो गल्ती पनि गरे । प्रियंका कार्कीले जस्तै अरुले पनि आफ्नो गल्तीको महसुस गर्नै पर्छ माफी नै माग्नुपर्छ भन्दिनँ । तर, गल्तीको महसुस गर्नैपर्छ ।

ऋचाले दर्शक नपाएको भन्नु हुने दीपकराज गिरीहरुले नेपाली चलचित्रको धार नै परिवर्तन गरेको चलचित्र लुटमा ऋचाले अभिनय गर्नुभएको थियो भन्ने कुरा यति छिटो भुलिसक्नुभएछ ।

सो चलचित्रले धेरैभन्दा धेरै दर्शकको साथ अनि माया पाएको थियो अनि बाटोमुनिको फूल २ ले दर्शक नपाएको भन्न मिल्दैन ।

ऋचाले ‘टलकजङ्ग भर्सेस टुल्के’ बाट उत्कृष्ट नायिकाको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो । दर्शकको साथ कमेडी फिल्मलाई मात्र होइन, यथार्थफरक फिल्मलाई पनि मिल्छ ।

हो, महाभारतमा द्रौपदीमाथि अन्याय हुन्छ लछार–पछार पारिन्छ, त्यसैले युद्ध हुन्छ द्रौपदीले जित्छिन् अन्याय गर्ने हार्छन् ।

अनि, रामायणमा रावणले सीतामाथि अन्याय गर्छ र त्यसै कारणले उ अन्त्यमा मारिन्छ । यो कुरा सही हो तर, रावणले सीतामाथि अन्याय गर्दा कसैले पनि ताली पिटेको मैले कहिलै देखिनँ । अनि द्रौपदीमाथि अन्याय हुँदा हाँसेर ताली पिटेको पनि देखिनँ !

हो, ऋचा शर्माको भनाइ नै यही होजस्तो लाग्छ मलाई । फिल्मको कथावस्तु जस्तै भए पनि फिल्मको एक दृश्यमा महिलामाथि भएको अन्यायमा ताली पिटेको उहाँलाई मन नपरेको हो ।

अन्याय भएको देखाउनुहुन्न थियो भन्ने होइन । अन्याय हुँदा हाँसेर ताली पिटेर रमाउनु हुन्नथ्यो भन्ने हो । यसमा धेरै दर्शकहरु पनि सहमत हुनुभएको छ ।

उहाँले छक्का पञ्जाको एक दृश्य, जुन महिलालाई हरेक रात थप्पड हान्छु अनि मात्र विवाह गर्छु भन्दा हाँसेर ताली पिट्ने दर्शकहरु देखेर आफू अनि आफ्ना केही साथीहरुले ताली पिट्न नसकेको बताउनुभएको थियो ।

छक्का पञ्जा फिल्ममा महिला हिंसा भएको भनेर एक महिलावादीले लामो पत्र लेखेर बिरोध गर्नुभएको मलाई थाहा छ ऋचा शर्मा मात्र होइन, सो फिल्मको त्यस्तो दृश्यप्रति गुनासो गर्ने केही फिल्म समीक्षकहरुले पनि त्यसरी नै समीक्षा लेखेको पनि मलाई थाहा छ ।

महिलालाई थप्पड हानेको चलचित्र धेरै छन् तर, किन ऋचा शर्माले छक्का पञ्जाको बारेमा मात्र बोल्नुभएको होला भनेर मैले पनि धेरै समय खर्च गरें र अन्तिममा निर्णय निकालें, जुन फिल्मले धेरै दर्शकको माया पाएको छ, जुन फिल्म हिट भएको छ ।

जुन फिल्ममा दर्शकको आँखामा परेको छ, त्यसैका बारेमा जसले पनि बोल्ने हो । त्यही कारण ऋचा शर्माले पनि बोल्नुभएको होला भन्ने लाग्यो ।

ऋचा शर्माले नेपाली फिल्म क्षेत्रका लागि एउटा राम्रो बहस प्रस्तुत गर्न भएको छ । तर, केही फिल्मकर्मीले बुझ्न सक्नुभएन । मलाई आशा छ उहाँहरुले पनि बुझ्नुहुन्छ अनि यो बहसमा सकारात्मक रुपमा सहभागिता जनाउनुहुन्छ ।

फिल्ममा चुरोट या मदिरा सेवन गर्दा त स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश आउँछ । ट्राफिक नियम पालना नगर्दा ट्राफिक नियम पालना गरौं भन्ने सन्देश आउँछ ।

तर, महिला पिट्छु भन्दा या महिला हिंसा भएको दृश्य प्रस्तुत हुँदा महिला हिँसा विरुद्धको सन्देश किन आउँदैन ?

अब सधैं पुरानो फिल्मलाई फ्लो गरेर हुन्न । फिल्म मेकरहरुले अबको फिल्ममा यसरी परिवर्तन गरे ऋचा शर्माहरुले सुरु गरेको बहसले प्राप्त गरेको ठूलो परिवर्तन या उपलब्धी हुनेछ ।

(हाल–अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment