Comments Add Comment

मतपेटिकाको पहरेदारीः चिसो रात, टेण्टको बसाइ !

१९ मंसिर, सिन्धुपाल्चोक । चिसो रात, टेण्टको बसाइ ! जिल्ला कृषि विकास कार्यालय परिसरमा मतपेटिका कुर्न बसेका दलका प्रतिनिधिहरुलाई रात कटाउन सकस परिरहेको छ । तर पनि उनीहरु पहरेदारी गरिरहेका छन् ।

मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका जिल्ला कृषि विकास कार्यालयको नवनिर्मित भवनमा भण्डारण गरिएको छ । मतपेटिका सुरक्षा निकायका तीन घेराको सुरक्षामा छ ।

तर, दलका प्रतिनिधि पनि २४ घण्टै पहरेदारी गरिरहेका छन् । कार्यालय परिसरमा दुई वटा टेण्ट राखिएको छ, त्यही टेण्टभित्र दलका प्रतिनिधि रात कटाउँछन् ।

ब्यालेट बक्समा बन्द गरिएको जनमतलाई तलमाथि हुन नदिन आफूहरु रातभर पहरेदारी गरिरहेका भन्दै एमाले प्रतिनिधि विवेक नेपालले मतदातालाई शंका र उपशंका नगर्न आग्रह गरे ।

‘मुल गेटमा ४ वटा ताल्चा लगाइएको छ, झ्यालहरुमा प्लाइ ठोकिएको छ’, उनी भन्छन्, ‘हामी २४ सै घण्टा मतपेटिका राखिएको कृषि विकास कार्यालय फन्को मारिहेका छौं ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेराको सुरक्षा व्यवस्था भएपनि दलका प्रतिनिधिहरु रातभर निदाउँदैनन । वाम गठबन्धनका तर्फबाट एमाले, माओवादीका प्रतिनिधि छन् भने लोकतान्त्रिकका तर्फबाट कांग्रेस र राप्रपा प्रजातान्त्रिकका प्रतिनिधि बसेका छन् ।

कार्यालय परिसरको एउटा टेण्टमा वाम गठवन्धनका प्रतिनिधि बस्छन्, अर्कोमा लोकतान्त्रिकका । ‘जनमतमाथि कुठाराघात नहोस भनेर हामी नांै दिनदेखि २४ घण्टे पहरेदारी गरिरहेका छौं’, माओवादी नेता चन्द्र सापकोटा भन्छन् ।

मतपेटिका भण्डारणपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुल गेटमा ताल्चा लगाएको थियो । थप सुरक्षाका लागि भन्दै केही दिनअघि राजनीतिक दलहरुले पनि छुट्टछुट्टै ताला लगाएका छन् ।

२१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि सोही दिन साँझ ५ बजेदेखि यहाँको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणनामा एक सय जना कर्मचारी खटिने बताइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनालाई छरितो र सहज बनाउनका लागि आवश्यक तयारी गरेकोे प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment