Comments Add Comment

दलित नेता जगत विश्वकर्माले तय गरे संसदको यात्रा


२३ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्माले पहिलो पटक संसदको यात्रा तय गरेका छन् । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाएका हुन् । शर्माको यो तेस्रो हार हो ।

कांग्रेस उम्मेदवार शर्माले २४ हजार १ सय ६४ मत ल्याउँदा वा उम्मेदवार एमाले नेता जगतले ३२ हजार ६ सय ९० मत ल्याएका हुन् । ७२ वषर्ीय शर्मा र ४३ वषर्ीय विश्वकर्माबीचको कडा प्रतिस्पर्धा हुने धेरैको अनुमानलाई गलत सावित गर्दै विश्वकर्माले सहजै जीत हात पारे ।

जगत एमालेबाट राजनीतिको माथिल्लो तहसम्म पुग्ने दोस्रो दलित परिवारका नेता हुन् । एमालेबाट चुडामणि जंगली यसअघि केन्द्रीय सदस्य तथा समानुपातिकबाट सांसद भएका थिए । दलित मुक्ति तथा अधिकारको आन्दोलनमा लागेका एमाले वैकल्पिक पोलिटब्युरो सदस्य विश्वकर्माले पहिलोपटक संसदीय निर्वाचनबाट संसद पुग्ने सौभाग्य पाएका हुन् ।

विद्यार्थी आन्दोलनबाटै मूल राजनीतिमा छिरेका विश्वकर्मा ०५४ सालमा साविकको लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । विकास र समृद्धिका लागि मतदाताले आफूलाई जिताएको विश्वकर्मा बताउँछन् । पर्यटन, कृषि, प्रविधि, जलविद्युत, सडक सञ्जाल विश्वकर्माले एजेन्डा बनाएका थिए ।
|
एकपटक जनप्रतिनिधि पनि भएर काम गरेको, समाजिक तथा राजनीतिक अधिकारको लडाईँ लडेको, विकास नेतृत्व गरेको युवाका कारण पनि मतदाताले आफूलाई जिताउने दाबी विश्वकर्माको थियो । ‘गाउँठाउँको विकास निर्माणको काममा सधैं अगुवाइ र नेतृत्व गरेका हिसाबले, जनताको बीचमा रहेरसुखदुखमा रहेका हिसाबले पनि मलाई विजयी गराए,’ विश्वकर्मा भने ।

यो निर्वाचन क्षेत्रमा कास्कीको उत्तरी र पश्चिमी भेक समेटिएको छ । हिमालदेखि फेवातालसम्म यो क्षेत्र जोडिएको छ । अन्नपूर्ण र माछापुच्छे्र गाउँपालिकासहित पोखरा लेखनाथका ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment