Comments Add Comment

कसरी खुसी, सुखी र सन्तुष्ट हुने ?

दिनचर्या बदलौं

बिहान उठ्नसाथ आफुले आफैसँग प्रश्न गरौं, म जहाँ जान्छु, जे गर्छु, जस्तो सोच्छु त्यो सही छ ? अर्थात आफुले दिनभरमा गर्ने काम, व्यवहार, साथीसंगत, प्रयास, सोच चिन्तन त्यस्तो छ, जसले आफ्नो लक्ष्यमा पुग्न सघाउँछ ? कस्तो काम, कसरी गरिहेका छौ, किन गरिरहेका छौ, त्यसको लक्षित गन्तव्य के हो ? यावत् प्रश्न सोधौं ।

यदि त्यसमा सकारात्मक जवाफ आएन भने, हामीले आफ्नो दिनचर्या बदल्नैपर्छ । हाम्रो काम, काम गराई, सोचाई, बुझाई, साथीसंगत, खानपान, जीवनशैली बदल्नुपर्छ ।

यसको अर्थ के पनि हो भने, त्यही काम गरौं, त्यही चिन्तन गरौ, तिनै साथीभाईसँग संगत गरौ, त्यही बाटो हिँडौं, जसले हामीलाई लक्षित गन्तव्यमा पुर्‍याउन मद्दत गर्छ ।

जब हामी सही ढंगले, सही काम गर्छौ, तव हामीले सफलता प्राप्त गर्छौ । जब सफलता प्राप्त गर्छौ, त्यसले सन्तुष्ट दिलाउँछ ।

आफुले आफैलाई जाँच गरौं

राती सुन्तुअघि आफ्नो कामको समीक्षा गरौं । आज मैले दिनभर के गरें, कति गरें, कसरी गरें, किन गरें जस्ता प्रश्नको उत्तर खोजौं । बिहान जे सोचेर काम सुरु गरिएको थियो, त्यो पुरा भयो ?

यदि भएन भने, किन भएन ? कसरी भएन ? यसमा पनि घोत्लिनुपर्छ । यद्यपी यसलाई तनावको विषय बनाउनु हुँदैन । एकदमै ताजा मस्तिष्कले आफ्नो समीक्षा गरौं । आफ्ना गल्ती, कमजोरीलाई सच्याउने प्रण गरौं ।

कहिले कहिं हामी विना अर्थ समय व्यतित गरिरहेका हुन्छौं । पसिना बगाइरहेका हुन्छौं । मिहेनत गरिरहेका हुन्छौ । आफ्नो लक्ष्य एकातिर र काम अर्कोतिर हुन्छ । पुग्नुपर्ने गन्तव्य एकातिर, हिँडिरहेको बाटो अर्कोतिर हुन्छ । यस्तो अवस्थामा आफुले आफ्नै कामको समीक्षा गर्नुपर्छ, ताकि सहि मार्ग पहिल्याउन सकियोस् ।

समय व्यवस्थापन

हामी जे जति काम गर्ने सोच्छौं, त्यो किन पुरा भएन ? जति जनालाई भेट्नुपर्ने थियो, किन सबैलाई भेट्न सकिएन ? जहाँ-जहाँ पुग्नुपर्ने थियो, किन सबैतिर पुग्न सकिएन ?

किनभने, हामी समय व्यवस्थापनमा चुक्यौं । धेरै असफलताको पछाडि यहि कारण हुने गरेको छ । जब यस्ता कुराले हाम्रो दैनिक कार्य सम्पादन हुन पाउँदैन, मनमा सन्तुष्ट मिल्दैन । हामी खिन्न हुन्छौ । काम थाँती रहन्छ । साथीभाईहरुले विश्वास गर्दैनन् ।

त्यसैले हरेक बिहान घरबाट निस्कनुअघि दिनभर गर्ने कामहरुको सूची बनाउनुपर्छ । कहाँ, कतिबेला, के काम, किन गर्ने ?

त्यही तालिका अनुसार आफ्नो दैनिकीलाई डोहोर्‍याउनुपर्छ । यद्यपी यसलाई बन्धनको रुपमा भने लिनु हुँदैन । हामीले काममै आनन्द लिने हो । सक्रिय र समुचित दिनचर्याबाट खुसी लिने हो ।

श्रममा विश्वास गरौं

हामी धेरै कुरा सोच्छौ, धेरै कुरा पाउने चाह राख्छौं । तर, हामीले सोंच त्यहीबेला पुरा हुन्छ, जब हामी नियमपूर्वक श्रम गर्छौ, मिहेनत गर्छौ । जीवनलाई सफल र सुखी बनाउन लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य प्राप्तिका लागि श्रम गर्नुपर्छ । बुझ्नुपर्ने के भने, श्रम सार्थक हुनुपर्छ । निरर्थक श्रमको मूल्य हुँदैन ।
हामी जे चाहन्छौ, त्यो पुरा गर्नका लागि नियमपूर्वक श्रम गरौं । भनिन्छ, हरेक समस्याको समधान भनेकै श्रम हो । श्रम र साधना विना संसारमा कुनैपनि लक्ष्य प्राप्त हुँदैन ।

सम्बन्ध सुमधुर राखौं

काम वा सफलताको चक्करमा साथीभाई, इष्टमित्र, आफन्तलाई वेवास्ता गर्ने भुल नगरौं । किनभने हाम्रो सफलताको स्रोत तिनै साथीभाई, आफन्त हुन् । हामीले भोलि खुसी साट्ने उनीहरुसँग नै हो ।

परिवार, आफन्तसँग समय विताउनुपर्छ । उनीहरुसँग रमाइलो जमघट गर्नुपर्छ ।

चाहे जतिसुकै धन आर्जन गरौ, जतिसुकै सफलता प्राप्त गरौं, धरातल भने छाड्न हुँदैन । आफ्ना साथीहरुसँगको मित्रवत् सम्बन्ध कायम राखौं । हिजो हामी जसरी, जसलाई सम्मान र प्रेम गथ्र्यौ, आज पनि त्यसरी नै गरौं ।

ग्लानी महसुष नगरौं

सबै कुरा हामीले सोचेजस्तो ठिकठाक ढंगले सम्पन्न हुँदैन । कति प्रयास गर्दागर्दै पनि कहिले कहिं असफलता हात लाग्छ । राम्रो सोच्दा सोच्दै पनि कतिले नराम्रो व्यवहार गर्छन् । मानविय जीवनमा यस्ता कुराहरु आउँछन्, जान्छन् ।
सोचेजस्तो भएन भन्दैमा हतास हुने मनस्थिती त्याग्नुपर्छ । खासमा हामीले केहि गुमाएकै छैनौ, आज नभए भोलि हुन्छ । हिजो पुरा नभएको कुरा भोलि पुरा हुन्छ । यसर्थ आशावादी बनौं । हिजो हामी खाली हात आएको थियौं, भोलि खाली हात जाने हो । जीवनको यो अकाट्य सत्यलाई मनन गरौं, आत्मसात गरौं । सन्तुष्ट हुने अभ्यास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment