Comments Add Comment

सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा

२५ मंसिर, सप्तरी । स्थानीय चुनावमा पनि सप्तरीको कुनै तहमा जित्न नसकेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि जित निकाल्न सकेन । स्थानीय चुनावमा एक्लै लडेको माओवादीले यो चुनावमा नेकपा एमालेको पनि साथ पाएको थियो ।

वाम गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको दुई सिट र चार सिट प्रदेशसभामा उम्मेदवारी दिएको थियो । गठबन्धनबाट जिल्लामा एमालेले दुई वटा प्रदेश सभा जितेपनि माओवादी भने शुन्यमा सीमित भयो ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा माओवादीको उम्मेदवार थियो भने प्रदेशसभा क्षेत्र १ को ‘क’, २ को ‘क’ र ‘ख’ एवं ४ को ‘ख’ मा माओवादीको उम्मेदवारी थियो ।

पूर्व सांसद् अशोक र उमेश पराजित

माओवादी केन्द्रका लागि क्षेत्र नम्बर १ बाट अशोक मण्डल र २ बाट उमेश यादव उम्मेदवार बनेका थिए । यी दुवै उम्मेदवार मधेशी गठबन्धनसँग पराजित भएका छन् ।

क्षेत्र नम्बर १ मा अशोक मण्डल संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादवसँग ३ हजार मत अन्तरले र उमेश फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग १० हजार मत अन्तरले पराजित भए ।

दोस्रो संविधानसभाको निर्वाचनमा अशोक र उमेश तत्कालिन क्षेत्र नम्बर २ र ३ बाट निर्वाचित भएका थिए । यसअघि उनीहरु संसद्मा कुर्सी तोडेर चर्चामा आएका थिए । उमेश सिंचाई मन्त्री समेत बने केपी शर्मा ओली नेतृत्व सरकारमा ।

प्रदेशसभामा यसकारण भयो हार

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन माओवादीले दुई जनालाई अन्य पार्टीबाट प्रवेश गराउँदै टिकट दियो ।

प्रदेशसभा १ को ‘ख’ मा राप्रपाबाट सकिल अलीलाई भित्र्याएर टिकट दिइयो भने ४ को ‘ख’ मा राजपाबाट भित्र्याएर शशी यादवलाई टिकट दिइयो । तर, यी दुवै जना नवप्रवेशी उम्मेदवार भने तेस्रो स्थानमा रहे ।

नवप्रवेशीलाई टिकट दिएको भन्दै पार्टीमा व्यापक असन्तुष्टि थियो । प्रदेश सभा ४ ‘ख’ मा शशीलाई टिकट दिनुअघि नै बालेश्वर यादवलाई टिकट दिइएको थियो । यो आक्रोशमा बालेश्वरले स्वतन्त्र उम्मेदवारी दिए ।

प्रदेशसभा १ को ‘ख’ मा राजपाका उम्मेदवार नवलकिशोर साह १३ हजार ६ सय ४७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बद्री महात्मान यादव ६ हजार ३ सय ३३ मतसहित दोस्रो र माओवादीका सकील अली ६ हजार २ सय ५७ मतसहित तेस्रो बने ।

प्रदेशसभा ४ को ‘ख’ बाट ९ हजार ६ सय ५ मत ल्याएर मधेशी गठबन्धनका अभिषेक यादव निर्वाचित हुँदा काँग्रेसका विवेकानन्द झा ७ हजार ३ सय ३६ मतसहित दोस्रो र माओवादीका शशी ४ हजार ४ सय ७९ मतसहित तेस्रो स्थानमा रहे ।

प्रदेश सभा २ को ‘ख’ बाट माओवादीका उम्मेदबार महेश यादव दोस्रो हुन सफल त भए, तर फराकिलो मत अन्तरले यो प्रदेशबाट मनिष सुमन ८ हजार ९ सय ३९ मत ल्याएर विजयी हुँदा महेशले ४ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ को ‘क’ मा माओवादीका उम्मेदवार सरोज मण्डलले पनि जित्न सकेनन् । फोरम नेपालका शैलेन्द्र शाह १० हजार ५ सय ७७ मतसहित निर्वाचित हुँदा मण्डलले ७ हजार ५ सय ९३ मत पाएका छन् ।

माओवादीले एमालेको साथ पाएर पनि कुनै सिट जित्न नसक्नुलाई पार्टीकै कमजोरी रहेको कार्यकर्ताहरुले बताएका छन् । उनीहरुले पार्टीभित्रको लामो समयको गुटबन्दीको अन्त्य हुन नसक्दा यस्तो समस्या भोग्नुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment