Comments Add Comment

बिराटनगरकाे रानीदेखि धरानसम्मकाे ६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा

४ वर्षमा ३२ प्रतिशत काम मात्रै सकियाे

२९ मंसिर, बिराटनगर । महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम सुस्त गतिमा अगाडी बढ्दा समयमै काम सम्पन्न नहुने भएको छ ।

विभिन्न कारण देखाउँदै ठेक्केदार कम्पनीले काममा ढिलाई गर्दा परियोजनाको कामले गति लिन नसकेको हो ।

बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार गर्ने परियोजना अनुसार अहिले ६ लेनको बनाउने काम भइरहेको छ । विभिन्न प्याकेजमा काम भइरहे पनि सुस्त गतिमा काम हुँदा अहिलेसम्म ३२ प्रतिशत मात्र काम सकिएको छ ।

२०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो ।

रानी बिराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ सम्ममा बिराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक ६ लेनको बनाई सक्नु पर्ने भएपनि सडक विभागले यस कार्यलाई खासै महत्व नदिँदा सडक निर्माणको काममा समेत ढिलाई हुँदै आएको छ ।

बजेट अभावले समयसमयमा राेकिन्छ काम 

बजेट समयमा नआउँदा काम सुरु भइसकेको बिराटनगर–इटहरी सडकको काम रोकिने गरेको छ ।

सरकारले बिराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोडमा ठेक्का लगाएको थियो ।

बिराटनगरदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक आर्थिक वर्ष २०७५/०७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको हो ।

बहुवर्षीय परियोजनाअन्तर्गत पहिलो चरणमा बिराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम अहिले भइरहेको छ ।

यो सडक विस्तारका लागि ५ अर्ब ४ करोडमा ठेक्का लागेको थियो । यद्यपि, गएको भदौ महिनादेखि धेरै स्थानमा काम रोकिएको छ ।

त्यसमा पनि निर्वाचनको समय अगावैदेखि सडक विस्तारको काम रोकिएपछि अहिलेसम्म पनि कतिपय स्थानमा विस्तारको काम हुन सकेको छैन ।

आर्थिक वर्ष ०७४/०७५ मा सबै प्याकेजका लागि भन्दै ४० करोड बजेट आएको थियो । बहुवर्षिय आयोजना अनुसार सडकको विस्तारको काम विभिन्न ११ वटा प्याकेजमा भइरहेको छ ।

पहिलो चरणमा बिराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

रानीदेखि दुहवीको सीमाना निमुवासम्मको १२ किलोमिटरका लागि चार प्याकेजमा काम भइरहेको थियो ।

रानीदेखि रोडशेष चौक बरगाछीसम्मको पहिलो चरणको काम नै अहिलेसम्म जारी रहेको छ । ३० महिनाभित्र काम सक्ने गरी ठेक्का पाएको कञ्चनजङ्घा, गिताञ्जली पिएस जेवी र धुकुचु कान्छाराम हिमदुङ जेवी समयसिमा थप गरेर काम सम्पन्न गर्ने तयारीमा रहेका छन् ।

उनीहरुले गएको असोज महिनासम्म समयसीमा पाएकोमा म्याद थप पहिलो चरणको ठेक्काको काम बिराटनगरको बरगाछीदेखि दुधफारमसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकेका छन् ।

अझै पनि सडकको बीचमा न्युजसी वेरियर लगाउने र दुवैतर्फको फुटपाथमा रेलिङ लगाउने लगायतका काम गर्न बाँकी रहेको रानी बिराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका इन्जिनियर सुमोद पोख्रेलले बताए ।

पोखरेलका अनुसार दोश्रो र तेश्रो चरणका लगाइएको ठेक्काको काम अहिले जारी रहेको छ ।

रानी–बरगाछी सडक बिस्तारले पनि गति लिएन

विराटनगरको रानीदेखि बरगाछी र दुधफारमदेखि निमुवासम्मको काम चालु अवस्थामा रहेको छ । यो क्षेत्रको काम पनि प्रगतिको हिसाबले हेर्दा खासै गति लिन नसकेको अवस्थामा रहेको छ ।

इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम जारी रहेको छ । तर, सडक विस्तारकाे गति अति सुस्त छ ।

समय सीमा सकिन करिब एक वर्ष बाँकी रहँदा अहिलेसम्म नाका निर्माणको काम समेत पुरा हुन सकेको छैन ।

विभिन्न सात वटा ठेकेदार कम्पनीमार्फत साविकको २ लेनको सडकलाई ६ लेनमा विस्तार गर्न प्याकेट छुट्याएर नाला निर्माणसँगै कालाेपत्रे गर्नेसम्मको जिम्मा ठेकेदार कम्पनीले पाएका छन् ।

आयोजनाको काम अगाडी बढी रहेको समयमा बीचबीचमा काम पूरा गरेको भुक्तानी ठेकेदारलाई समयमा नै दिन नसक्दा काम रोकिएकाेले सडक विस्तारकाे कार्य प्रगतिजनक हुन नसकेको आयोजनाका इन्जिनियर पोखरेलको भनाई छ ।

उनले बिराटनगरको बरगाछीदेखि दुध फारामसम्मको सडक विस्तारको ठेक्का पाएको कान्छा राम कन्ट्रसन प्रालिलाई काम पूरा गरेको भुक्तानी दिन नसक्दा काम प्रभावित भएको जानकारी दिए ।

पोखरेलले भने, ‘भुक्तानीको विषयमा आयोजनाको काम पटकपटक रोकिन पुगेको छ, जुन हिसाबमा कामले गति लिएर अगाडी बढ्नु पर्ने हो, त्यो अनुसार आयोजनाले काम निकाल्न सकिएको छैन ।’

पहिलो चरणको बिराटनगरकाे रानीदेखि सुनसरीको इटहरीसम्मको ६ लेनको सडक विस्तारका लागि कन्चनजंघा एस गिताञ्जली जेवी, धुकुचु कान्छा राम हिम्दुङ शर्मा, आशिस एपेक्स रोशन, कालिका कान्छा राम जेवी र तुक्जी रमन जेवी निर्माण कम्पनीलाई विभिन्न खण्डखण्ड गरेर नालादेखि ६ लेनको सडम निर्माणसम्मको ठेक्का दिइएकाे थियाे ।

त्यसैगरी, एआईपीए पप्पुलाई त्यसबीचमा ६ किलो मिटर सडकको दायाँ बायाँ नाला निर्माणको ठेक्का लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment