
५ फागुन, काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसमेत लगाएका छन् ।
राति करिब ११ बजे प्रहरी निरीक्षक दिवस कुँवरसहितको टोली किराँत याक्थुम चुम्लुङको कार्यालयको गेटबाट भित्र प्रवेश गरेका थिए । त्यतिबेला पहिचानवादी अभियन्ताहरु कार्यालयको कोठाभित्र थिए ।
प्रहरीले कोठाको ढोका खोल्न भने पनि उनीहरुले मानेनन् । उनीहरुले कोठाभित्रैबाट फेसबुक लाइभ गर्दै प्रहरीहरु आफूहरुलाई पक्राउ गर्न आएको भन्दै पत्रकार, अधिकारकर्मी र अभियन्ताहरुलाई कार्यालयमा आइदिन आह्वान गरेका थिए । केही समयपछि अधिकारकर्मी र पत्रकारहरु आएपछि प्रहरीहरु फर्किएका थिए ।
मोसो दल्नेलाई खोज्दै प्रहरी
सोही दिन दिउँसो ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको थियो ।
केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको थियो । त्यसको नेतृत्व मुकुम्लुङ संरक्षण संघर्ष समितिले लिएको थियो ।
पीडितबाट उजुरी परेपछि मोसो दल्नेहरुमाथि प्रहरीले निगरानी र खोजी अघि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले भने, ‘पीडितबाट एक जनाको नामै किटेर उसहित १३ जना भनेर उजुरी परेको छ । त्यसैले आरोपीलाई खोज्ने क्रममा प्रहरी टोली त्यहाँ (किराँत चुम्लुङ हिमको कार्यालय) पुगेको थियो ।’ तर कसैलाई नियन्त्रणमा नलिएको उनले बताए ।
प्रहरी फर्किएपछि पहिचानवादी र मुकुम्लुङ संरक्षण संघर्ष समितिका अभियन्ताहरुले पत्रकारहरुलाई बोलाएका थिए । पत्रकारहरु उनीहरुको कोठाभित्र प्रवेश गरेपछि पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य जेन्टल लावतीले संविधानले सम्पदास्थल संरक्षण गर्न पाउने हक सुरक्षित गरको र आफूहरुले त्यही कुरा उठाउँदा प्रहरीले दमन गर्न खोजेको आरोप लगाए ।
जनमुक्ति पार्टीको केन्द्रीय उपमहासचिव समेत रहेका विष्णु थामदेनले प्रहरी पक्राउ पुर्जीविना नियन्त्रणमा लिन आएको बताए । तर आफूहरुले कानुनी प्रक्रियामा प्रश्न उठाएपछि प्रहरी फर्किएको उनको भनाइ छ ।
प्रहरी फर्किए पनि अहिलेसम्म कार्यालयभित्रै नजरबन्दमा परेजसरी बसिरहेको उनले बताए । उनले भने, ‘प्रहरी प्रशासनले बाहिर ननिस्किन चेतावनी दिएको छ । हामी एकप्रकारले नजरबन्दमा परेजस्तो भएका छौं,’ उनले भने । उनका अनुसार कोठाभित्र ६ जना छन् र बाहिरबाट ताला लगाइएको छ ।
1
प्रतिक्रिया 4