News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईलाई सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने चर्चा चुलिएको छ।
- धरानका मेयर हर्क साम्पाङ र वडाध्यक्ष सूर्यबहादुर भट्टराईबीच चुनावी मैदानमा प्रतिस्पर्धा र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप भइरहेको छ।
- एमालेले सुनसरी क्षेत्र नम्बर १ मा सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, जसले चुनावी प्रतिस्पर्धा थपिएको छ।
४ माघ, सुनसरी । प्रतिनिधिसभाको निर्वाचन जति नजिकिँदै छ उति सुनसरी क्षेत्र नम्बर १ को चुनावी माहोल रोचक बनिरहेको छ । पछिल्लो समयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)लाई उम्मेदवार बनाउने चर्चा चुलिएसँगै सुनसरी क्षेत्र नम्बर १ को चुनावी माहौल थप रोचक बनिरहेको हो ।
धरानका मेयरसमेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ यसअघि नै यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका बेला यो चुनावी मैदानमा मनोज उत्रिएमा थप रोचक बन्ने विश्लेषण गरिएको छ । नेकपाको प्रदेश कमिटी सचिवालय सदस्य तथा धरानका इन्चार्ज चोत्लुङले राईसँग चुनाव लड्न भट्टराईको उम्मेदवारी रहने सार्वजनिक अभिव्यक्ति दिएपछि यहाँको राजनीतिले अर्को मोड लिएको हो ।
भट्टराई २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट वडा-१७ मा वडाअध्यक्षमा निवार्चित भएका थिए भने २०७९ को निर्वाचनमा पनि लोकप्रिय मतका साथ वडाअध्यक्षमा दोहोरिएका थिए ।
एकापसका भाइरल प्रतिद्वन्दी
वडाध्यक्ष भट्टराई र मेयर साम्पाङ दुवै जना सामाजिक सञ्जालमा भाइरल बनेका पात्र हुन् । भट्टराई धरान–१७ का वडाध्यक्ष र धरान उपमहानगरपालिका प्रवक्ता हुन् । तर मेयरसँग तालमेल कहिल्यै पनि सहज छैन ।
धरानको कार्यपालिका बैठकमा प्रस्तुत हुने एजेण्डाहरुमा मेयर साम्पाङ र वडाअध्यक्ष भट्टराईबीच बादविवाद तथा चर्काचर्की सामाजिक संजालमा छरपस्ट हुँदै आएका छन् । साम्पाङका समर्थकहरुले भट्टराईलाई ट्रोल बनाउने गरेका छन् भने भट्टराईका समर्थकले पनि मेयर साम्पाङलाई ट्रोल बनाउँदै आएका छन् ।
करिव डेढ महिना अघिमात्र पालिका बैठकमै भट्टराईले साम्पाङले पदबाट राजीनामा दिएर आफूसँग चुनाव लड्न चुनौतीसमेत दिएका थिए । उनले त्यसबेला मेयर पदकालागि चुनावमा लड्ने र राईलाई पराजित गरेर देखाउने दाबीसमेत गरेका थिए ।
उनीहरु बीच कहिलै पनि अनौपचारिकरुपमा भलाकुसारी भएन । यता भट्टराईले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी निश्चित भएको दाबी गरे ।
रोचक त के छ भने उनीहरु दुवैले एकले अर्कालाई अनौपचारिक आरोप प्रत्यारोपमा उत्रिँदा खोला खोल्सी धाउने ‘खोले मेयर’ र ‘गुइठे वडाध्यक्ष’ भनेर सामाजिक संजालमा भनाभन गर्दै आएका छन् ।
एमालेबाट पन्धाक
नेकपा एमालेले यहाँ सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । धरान उमपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर एमालेको पकड क्षेत्र भत्काउन सफल साम्पाङविरुद्ध पन्धाकलाई उम्मेदवार बनाइएको हो ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुनसरी क्षेत्र नम्बर १ मा पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेलाई पनि चुनाव लागेको छ । सुनसरी- १ मा संसदीय निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका, वराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा समेटिएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पाटी (जसपा) का अशोककुमार राई निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4