+
+
Shares
स्थलगत :

श्रम संस्कृतिको प्रतीक पार्क (तस्वीरहरू)

मोरङ उर्लाबारीका टीएस राईलाई धरानको श्रम अभियानले विश्वभरका नेपालीमा छुट्टै छाप छाडे जस्तो लाग्छ । ‘श्रम संस्कृति पार्क धेरै राम्रो रहेछ, यसले समाजलाई गर्न चाहे केही हुँदैन भन्ने सन्देश दिएको छ’, उनले भने ।

हरि अधिकारी हरि अधिकारी
२०८२ पुष ३० गते ८:३५

३० पुस, धरान । काठमाडौं बस्दै आएकी देवलक्ष्मी श्रेष्ठ तीन वर्षअघि धरान आएकी थिइन् । यहाँका मेयर हर्क साम्पाङको आग्रह मान्दै त्यसबेला उनले केही दिन ढुंगा पनि बोकिन् ।  र, काठमाडौं फर्किन् ।

सर्दु खोलाको बगरमा त्यसबेला कुनै संरचना थिएन, थियो त केवल मेयर हर्क साम्पाङको जोश । ‘फुलहरू थियो, अरू केही थिएन’, उनी भन्छिन् ।

तर तीन वर्षपछि (गत १९ पुसमा) धरान आउँदा उनी दंग परिन् । आफूले ढुंगा बोकेको क्षेत्रको नामै फेरिएर बनेको छ- श्रम संस्कृति पार्क । ‘अहिले आउँदा त अचम्मै लागेको छ, यत्रो ठूलो बनिसकेछ’, मक्ख पर्दै भनिन्, ‘हर्क साम्पाङले राम्रो काम गर्नुभएको रहेछ, धेरै मान्छे आएको देख्दा खुसी लाग्यो ।’

केही दिन ढुंगा बोक्दा यति सुन्दर पार्क बन्छ भन्ने विश्वास नलागेको पनि उनले बताइन् । ‘यस्तो बन्छ जस्तो लागेकै थिएन । अहिले राम्रो देखेँ, अझै राम्रो होस्’, उनले भनिन् ।

उनी जस्तै अनुभव सहित श्रम संस्कृति पार्कको अवलोकनकर्ता अरू थुप्रै भेटिए । जसले यति भव्य पार्क बन्छ भनेर श्रमदान गरेका थिएनन् । श्रमदान नगरेका अवलोकनकर्ताहरू भने यस कामको नेतृत्व गरे बापत मेयर साम्पाङको प्रशंसा गर्छन् ।

‘विचार नमिलेपनि उहाँको अभियान धेरै राम्रो छ’, पार्कमै भेटिएका रमेश आचार्यले भने । अझ श्रमदानबाट यो पार्क बनेकाले मुलुककै निम्ति भिन्न उदाहरण समेत बनेको उनी बताउँछन् । ‘श्रमदानबाट यतीको काम गर्नु धेरै ठूलो कुरो हो । अरुतिर पनि यसको सिको हुनु आवश्यक छ’, उनी भन्छन् ।

करोडौंको संरचना

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङका अनुसार यो पार्क श्रमदान अभियानबाट निर्माण भएको हो । पार्कको सबैभन्दा ठूलो विशेषता भनेकै यसमा राज्यकोषको लगानी भएको छैन ।

उनका अनुसार दाताले स्वच्छाले आफन्तको सम्झनामा संरचना बनाइदिएका छन् । यसरी निर्माण भएको संरचनामा दाताको नाम छ ।

पार्क अहिले नगरपालिकाको एक प्रमुख आम्दानीको स्रोत बनेको पनि उनी दाबी गर्छन् । पार्क व्यवस्थापनमा खटिएका प्रदीप राईका अनुसार, शनिबार र सार्वजनिक बिदाका दिन त ५ हजारसम्म पर्यटक आउने गर्छन् । अन्य दिनमा २ हजारको हाराहारीमा आगन्तुक पुग्छन् । ‘यो सचेत धराने समूह र आम नागरिकको पसिनाको प्रतिफल हो, अहिले नगरको कोषमा आम्दानी भित्र्याइरहेको छ’, राईले भने ।

मोरङ उर्लाबारीका टीएस राईलाई धरानको श्रम अभियानले विश्वभरका नेपालीमा छुट्टै छाप छाडे जस्तो लाग्छ । ‘श्रम संस्कृति पार्क धेरै राम्रो रहेछ, यसले समाजलाई गर्न चाहे केही हुँदैन भन्ने सन्देश दिएको छ’, उनले भने ।

विराटनगरकी सीता निरौला पिकनिक मनाउन पार्क पुगेकी थिइन् । पार्कको सुन्दरता र श्रमको शक्ति देखेर उनी प्रभावित भइन् । ‘एकले थुके थुक, सयले थुके नदी भनेको यही हो’, उनले भनिन्, ‘एक्लैले केही गर्न सकिन्नथ्यो, तर सबै मिल्दा यति राम्रो संरचना बन्यो ।’

उनलाई हर्क साम्पाङको अभियान राम्रो लाग्छ । तर, उनको बोलिरहने शैली सुधार गर्नुपर्ने उनको सुझाव छ । ‘उहाँले गर्नुभएको सनो कुरालाई एकतिर राखौं, धरानमा उहाँले धेरै राम्रो गर्नुभएको छ’, उनले भनिन् ।

पसिनामा भेटिने सन्तुष्टि

हर्क साम्पाङले धरानबाट सुरु गरेको श्रमदान देशभर फैलिएको छ । धरानबाट ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाटै पानी ल्याइएको छ ।

श्रमदान गर्नेहरूका लागि यो केवल निर्माण कार्य मात्र होइन, एउटा उत्सव र राष्ट्रभक्ति पनि भएको इटहरीका विज्ञान राई बताउँछन् । उनी नियमित श्रमदानमा खटिन्छन् । ‘देशका लागि पसिना बगाउँदा छुट्टै सन्तुष्टि मिल्छ’, उनी भन्छन्, ‘हप्तामा अरु दिन आफ्नो लागि काम गरे पनि एक दिन देशका लागि श्रमदान गर्नुपर्छ ।’

धरानकी मायादेवी राई र माया तामाङको लगाव पनि लोभलाग्दो छ । ‘एक दिन श्रमदान गर्न आएन भने छटपटी हुन्छ’, तामाङले भनिन् । उनी मेयर साम्पाङको कामबाट यति प्रभावित छिन् कि उनलाई श्रमदान नसाजस्तै भएको छ ।

‘यस्तो मेयर देशमा छैन’, माया राईले भनिन्, ‘मेयरमै बस्नुभए हुन्थ्यो भन्ने मनभित्र छ, अब काठमाडौं जाने भन्नुहुन्छ, फेरि मेयरमै बस्नुभए हुन्थ्यो जस्तो लाग्छ ।’

सचेत धराने समूहको सक्रियतामा यहाँ आकर्षक रक गार्डेन बनाइएको छ । पूर्वगोर्खा सैनिकहरूको योगदानमा विभिन्न संरचनाहरू तयार भएका छन् । गोर्खा चौतारी पनि निर्माण भएको छ ।

मेयर साम्पाङका अनुसार श्रम संस्कृति पार्क धरानको दीगो आम्दानीको आधार बनेको छ । श्रमदानबाट पनि ठूला र अनुकरणीय काम गर्न सकिन्छ भन्ने यो पार्क एउटा जीवित उदाहरण बनेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?