२७ पुस, सुनसरी । आफ्नो अभियान र अभिव्यक्तिबाट धरानलाई चर्चामा ल्याइरहने मेयर हर्क साम्पाङले आगामी चुनावबाट देशकै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् ।
श्रम संस्कृति पार्टी गठन गर्नुलाई उनले प्रधानमन्त्री बन्ने प्रयोजन भनेका छन् । अञ्जुलीले समातेको माटो चिन्हमा मत मागिरहेका हर्कले देशैभर उम्मेदवार उठाउने तयारी गरेका छन् ।
आफू भने धरान सहितको सुनसरी–१, बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । यो क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्छ ।
मेयर साम्पाङले यही क्षेत्रलाई सुरक्षित ठानेका छन् । तर साम्पाङको उम्मेदवारी घोषणाले नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा जस्ता पुराना शक्तिहरू दबाबमा परेको देखिन्छ ।
भर्खरै पार्टी खोलेका मेयरबाट दबाबमा पर्नुपर्ने परिस्थिति भने साम्पाङले तीन वर्षे अवधिमा विस्तार गरेको आकर्षण हो । धरान उपमहानगरका २० वडाध्यक्ष र मनोनीत ८ जना समेत गरी २८ जना कार्यपालिका सदस्यलाई हर्कले काबुमा राख्न सके ।
पूर्वघोषणा बमोजिम ४२ किलोमिटर टाढाको कोकाहबाट पानी ल्याएर धरानबासीलाई खुवाउन सकेपछि उनको आकर्षण आमसाधरणमा फैलिएको छ । मेयरमा हर्क साम्पाङको उदय हुनुअघि भने सुनसरी–१, एमालेको पकड क्षेत्र हो ।
एमालेले यो क्षेत्रमा मूर्ति उठाए पनि जित्छ भन्ने चर्चा यहाँ हुने गरेका थियो । तर स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले सांसदकै चुनाव लड्छु भनेपछि प्रतिस्पर्धी शक्ति बढेको छ । घटनाक्रमहरूको विश्लेषण गर्दा यो क्षेत्रमा हर्कसँग एमाले, कांग्रेस, नेकपा र रास्वपा प्रतिस्पर्धी शक्ति बन्ने अनुमान गर्न सकिन्छ ।

एमालेले पुर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई सहित लहरुमाया जिमी, इन्द्रकुमार राई, टिका माङ्लेन, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदीको नाम सिफारिस गरेको छ । गत स्थानीय चुनावमा मेयर पदका उम्मेद्वार रहेकी मन्जु तेश्रो बनेकी थिइन् ।
कांग्रेसबाट कोशी प्रदेशका महामन्त्री उमेश थापा सहित विनोद राई, सन्दिप श्रेष्ठ, माधव घिसिङ, चन्द्रशेखर लामा र निर्मला गुरुङ उम्मेद्वार सिफारिस भएका छन् । यो क्षेत्रमा कांग्रेस सधैं संघर्ष गर्दै आउनु परेको छ । सधैं एमालेसँग पराजित हुनुपरेको क्षेत्रमा यसपटक हर्क साम्पाङ प्रतिस्पर्धी बनेर आएका छन् ।
नेकपाबाट उमिता बराईली ‘रिमा’, मुक्सामहाङ मेन्याङ्बो ‘मुकेश’, अशोक राई, फोक्वाहाङ मेन्याङ्बो ‘चोत्लुङ’, सूयवहादुर भट्टराई (मनोज), शारदा खड्का र युवराज ‘अलौकिक’ सिफारिस भएका छन् । उनीहरु मध्ये जसले टिकट पाए पनि तुलनात्मक कमजोर संगठन नेकपाको छ ।
गत २०७९ को आम चुनावमा अप्रत्यासित मत पाउँदै निकटतम प्रतिद्वन्द्वी बनेको रास्वपाबाट यसपटक उम्मेदवार सिफारिस हुन सकेको छैन । धरानमा पहिचानवादी कार्यकर्ताको बाहुल्य बोकेको उज्यालो नेपाल पार्टीबाट जेण्टल लावतीको नाम सिफारिस भएको थियो । तर रास्वपासँग एकता भएपछि यो सिफारिस अलपत्र छ ।

गत चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेकी रास्वपाका नेता सरिन तामाङले सामाजिक सञ्जाल फेसबुकबाट उम्मेद्वार बन्ने जानकारी दिएकी छन् । ‘सञ्जाल मार्फत सार्वजनिक गदैछु, तपाईहरुको शरिन पुन: सुनसरी क्षेत्र नं १ बाट राजनीतिक मैदानको युद्धमा होमिदैछु,’ उनले लेखेकी छन् ।
२०७९ को चुनामा एमालेको समर्थन पाएका जसपाका नेता अशोककुमार राईसँग सरिन ४५३ मतान्तरले पराजित भएकी थिइन् । राईले १७ हजार ५९ मत ल्याएर विजयी हुँदा तामाङले १६ हजार ६०६ पाएका थिए भने माओवादीका मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका थिए ।
राप्रपाबाट धरान–६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई, केन्द्रीय सदस्य (व्लाष्ट टाइम्स दैनिकका संचालक) किशोरकुमार कार्की र जिल्ला सदस्य उद्धव श्रेष्ठ (मकै) को नाम सिफारिस गरेको छ ।
जेनजी आन्दोलनमा घाइते भएका राजेश पोर्तेलको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले पनि धरानमा चुनावी सभा गरेको छ । तर उम्मेदवार घोषणा भने गर्न सकेको छैन ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले भने पूर्वसंस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको एकल नाम पठाएको छ । उनले यसै क्षेत्रबाट टिकट पाएमा हर्कराजसँग टक्कर पर्ने निश्चित छ ।
किराँती यसअघि भोजपुरबाट चुनाव लड्दै आएका थिए । तर विभिन्न घटकसँग माओवादीको एकता हुँदा उनी जर्नादन शर्मासँगै अलग्गिएर प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ता गरेका छन् ।
प्रतिक्रिया 4