+
+
Shares

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:२२

पुस २६, दार्चुला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ ।

गत मङ्सिरमा यहाँका दुवै गाउँका स्थानीय बसाइसराइ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलङ्गा मै हुने भएको हो ।

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । यहाँको वडामा दुई वटा मतदान केन्द्र कायम छ ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधारभूत विद्यालय छाङरुमा ३७५ जना र मोति महिला सङ्घ आधारभूत विद्यालय तिङ्कर केन्द्रमा २४४ जना मतदाता छन् ।

२०७९ मा भएको स्थानीय तह प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्कमा २३४ जना मतदाता थिए । यसैगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अति सम्वेदनशील सूचीमा राखिएको छ ।

जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँचलगायतलाई आधार मानेर वर्गीकरण गरिएको उनको भनाइ छ ।

यस पटक जिल्लामा विसं २०७९ को निर्वाचनको तुलनामा दुई हजार १६६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंहधामीका अनुसार विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ९० हजार ७८२ रहेका मतदाता सङ्ख्या रहेकोमा हाल बढेर ९२ हजार ९४८ पुगेको छ ।

धामीका अनुसार हाल कायम रहेका मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता छन् । नौ वटा स्थानीय तह रहेको दार्चुलामा शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता छन् भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन् ।

मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् । मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?