१५ चैत, सुनसरी । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै एमाले धरान नगर कमिटीले विनाशर्त रिहा गर्न माग गरेको छ ।
एमाले धरानले आज (आइतबार) धरान–१३ स्थित इलाका प्रशासन कार्यालयका प्रमुख फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना सर्त तत्काल रिहाइको माग गरेको हो ।
धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले इलाका प्रशासन कार्यालय प्रमुख दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै चैत १४ गते शनिबार बिहान गरिएको गिरफ्तारी राजनितिक प्रतिशोध मात्र नभएर पूर्वाग्रही र गैरकानुनी समेत भएको बताए ।
उनले भने, ‘शपथ ग्रहण र सत्ता सम्हालेको २४ घण्टा पनि नवित्दै राजनितिक दलका शीर्षस्थ नेताहरुको गिरफ्तारीले लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत कार्य गरेको छ । यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौँ ।’
गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनको छानबिन सरकारले बनाएको गौरीवहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदनसमेत पछिल्लो सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको अवस्थामा सोही प्रतिवेदनको आधारमा नेताहरूमाथि धरकपट गर्नु सरकारी आतंक भएको पनि नगर अध्यक्ष एभेङले बताए । उनले भने, ‘यो सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले हजार पेजको त्यो विवादास्पद प्रतिवेदनकै आधारमा नेताहरुलाई पक्राउ गर्न सक्दैन ।’
प्रतिक्रिया 4