Comments Add Comment

नेपाल सरकारले पहल नगरे अमेरिकामा नेपालीको टिपीएस नवीकरण नहुने

वाशिंगटन डिसी । अमेरिकामा अस्थायीरुपले बसिरहेका नेपालीहरुलाई अमेरिकी सरकारद्धारा प्रदान गरिएको टिपिएस (अस्थाइ बसोबास सुविधा) नविकरणका लागि गैरआवासीय नेपाली संघ अमेरिकाले विभिन्न सरकारी निकायहरुसँग पहल सुरू गरेको छ ।

टिपिएस नविकरण गर्ने या नगर्ने विषयमा अन्तिम निर्णय लिने अधिकार बोकेको डिपार्टमेन्ट अफ होमल्याड सेक्युरीटी अन्तर्गत रहेको एसिया प्यासिफिक अफेयर्सका प्रतिनिधीहरुसँग भेटेर  नेपाल र नेपालीको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपालीहरुको टिपिएस नबिकरण नगरे अमेरिका र नेपालमा रहेका नेपालीहरुलाई पर्न सक्ने सम्भावित समस्याका बारेमा अवगत गराएको संघका प्रेस संयोजक बाल जोशीले जानकारी दिनु भयो ।

बैठकका क्रममा होमल्याण्ड सेक्युरीटीका प्रतिनिधीहरुले हालसम्म आफ्नो निकायले कुनै ठोस निर्णय नलिएको र आगामी मार्च महिनासम्ममा नेपाल सरकारको औपचारीक अनुरोध भएमा मात्र टिपिएस नबिकरणको प्रक्रिया अघि बढ्ने जानकारी दिएको बुझिएको छ ।

संस्थाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको टोलीले अमेरिकी कंग्रेसस्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्धय स्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधीहरुसँग भेटी टिपिएस नबिकरण गर्नका लागि आवश्यक छलफल गर्नुका साथै एक लिखित ज्ञापनपत्र समेत बुझाएको जोशीले अनलाइन खबर बताए ।

नेपालका लागि अस्थायीरुपमा हाललाई कम्तिमा तीन बर्षको टिपिएस नबिकरण तथा बिधयेक मार्फत यो समस्याको दिर्घकालिन समाधानका लागि आबश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरु मार्फत आबश्यक प्रकृया आगाडी बढाउनका लागि आग्रह गरिएको संघका अध्यक्ष डा. पौडेलले बताए ।

 

अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरुको समस्याका बारेमा आफुहरु अबगत रहेको र यो समस्याको दिर्घकालिन समाधानका लागिआफुहरु चिन्तित रहेको भेटघाटका क्रममा ती प्रतिनिधिहरुले बताएको उनले जानकारी दिए ।

यसैगरी सोही टोलीले अमेरिकी विदेश विभागका स्थित नेपाल तथा भुटान डेस्कका प्रमुख एलेक्स लेफिक्टेसँग भेटी नेपालको बर्तमान अवस्थाका बारेमा अवगत गराउँदै टिपिएस नबिकरणका लागि सम्बन्धित पक्षसँग पहल गरिदिन आग्रह गरेको छ ।

एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीले संयोजन गरेका सबै बैठकहरुमा अध्यक्ष डा. केशब पौडेल, बरिष्ठ उपाध्यक्ष शुनिल साह, महासचिव बि आर लामा, मिडिया कोर्डिनेटर बाल जोशी तथा समाजसेवी मोहन ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।  विदेश विभाग संगको बैठकमा भने अध्यक्ष डा. केशब पौडेल, मिडिया कोर्डिनेटर बाल जोशी र नेपाल अमेरिका पत्रकार संघ उत्तर अमेरिका शाखाका उपाध्यक्ष गुणराज लुइँटेलको सहभागिता थियो। टिपिएस नविकरणका लागि एनआरएन अमेरिकाले आगामी दिनहरुमा समेत अमेरिका भरिका नेपाली संघ-संस्थाहरुसँग सहकार्य गरी राज्य तथा शहर स्तरीय जनप्रतिनिधीहरु मार्फत दबाब सृजना गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment