Comments Add Comment

घोराहीमा कर संकलन व्यवस्थित, विद्युतीय कुपन प्रणाली लागू


७ पुस, घोराही । घोराही उपमहानगरपालिकाले कर संकलन कार्यलाई व्यवस्थित बनाउन विद्युतीय कुपन प्रणाली लागू गरेको छ । कर संकलनलाई व्यवस्थित र चुस्त बनाउनका लागि कर सम्बन्धी फाइल सम्बन्धित करदातालाई उपलब्ध गराउन समेत सुरु भएको छ ।

नगर कार्यपालिकाको बैठकले एकीकृत सम्पत्ति करको व्यक्तिगत फाइल कर शाखामा राख्दै आएकोमा अबदेखि स्वयम करदातालाई जिम्मा लगाउन थालिएको कर शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए ।

०६२ सालदेखि उपमहानगरले एकीकृत सम्पत्ती कर लागू गरी प्रत्येक करदाताको व्यक्तिगत फाइल बनाएर अभिलेख राख्दै आएको थियो । करदाताको संख्या थपिदै जाँदा त्यसको व्यवस्थापन गर्न असहज भएकाले स्वयं करदातालाई उपलब्ध गराउने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

‘यसअघि हामीले एकीकृत सम्पत्ति कर लागू गरी प्रत्येक करदाताको व्यक्तिगत फाइल खडा गरी अभिलेख राख्दै आएका थियौं,’ कर शाखा प्रमुख पोख्रेलले भने, ‘तर पछिल्लो समयमा करदाताको संख्या थपिँदै जाँदा कर्मचारी व्यवस्थापन लगायत भौतिक पूर्वाधार समेतको अभावले प्रभावकारी सेवा प्रवाहमा समेत असर परेको हुँदा सुरक्षाका लागि करदाताहरुको फाइलको स्वयं करदातालाई उपलब्ध गराउन थालेका हौं ।’

यसले कार्य सम्पादनसँगै करदातालाई पनि सहज भएको पोख्रेलको भनाइ छ ।

घोराही उपमहानगरपालिकाले कर संकलनमा सेवाग्राहीको सहजताका लागि विद्युतीय कुपन प्रणाली लागू गरेको छ । यसअघि कर बुझाउन तछाडमछाड हुँदा काममा ढिलाई र सेवा प्रवाहमा समस्या आएपछि उपमहानगरले विद्युतीय कुपन प्रणाली लागू गरेको हो । सेवाग्राहीले विद्युतीय मेसिनमा औंलाले थिचेपछि कुपन पाउने र कुपनमा लेखिएको नम्बरअनुसार कर शाखाबाट क्रमशः पालो आउने हुँदा कर संकलनमा व्यवस्थित र सहज भएको प्रमुख पोख्रेलले बताए ।

यसैबीच सेवाग्राहीहरुले पनि उपमहानगरले थालेको विद्युतीय कुपन प्रणालीलाई राम्रो सुरुवात भनेका छन् । छिटो र सहजरुपले कार्य सम्पादन हुने गरी उपमहानगरले कर शाखामा गरेको सुधारले सेवाग्राहीलाई पनि सहज भएको उनीहरुको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment