+
+
Shares

कोशीको माओवादीमा ‘मुसा आतंक’

प्रदेश कमिटीले नेतृत्वलाई मुसा भनेका कारण स्पष्टीकरण सोध्ने निर्णय गरेपनि चुँडाल भने आफ्नो पार्टीमा कोही नेताको नाम ‘मुसा’ नभएको बताउँछन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ वैशाख २९ गते २०:१२
माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ र प्रदेश सचिवालय सदस्य मदन चुँडाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्र कोशी प्रदेशमा ‘मुसा’ उपनामको विषयमा विवाद उत्पन्न भएको छ, जसले पार्टीभित्रको आन्तरिक विभाजनलाई उजागर गरेको छ।
  • प्रदेश सचिवालयले फेसबुक स्टाटसमा ‘मुसा’ को प्रयोग गरेको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको भएपनि, अझै आधिकारिक पत्राचार भएको छैन।
  • विरोध र विवादका कारण पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन आएको छ।

२९ वैशाख, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीमा पछिल्लो एक महिनायता ‘मुसा’ का कारण विवाद छ । पार्टी केन्द्रीय उपमहासचिव जनार्दन शर्मा कोशी प्रदेश आएका बेला प्रदेश सचिवालय सदस्य मदन चुँडालले ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भन्दै फेसबुकमा स्टाटस लेखेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन ।

सोही स्टाटस लेखेको विषयमा प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोध्न निर्णय गरेको छ । चैत २७ गते बसेको माओवादी केन्द्र प्रदेशको सचिवालय बैठकले चुँडाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । तर व्यापक आलोचना भएपछि प्रदेश कमिटीले पत्र काटेको छैन ।

‘प्रदेश परिषद् बैठकबाट पारित अनुशासन सम्बन्धि कार्यविधि विपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुनेगरी सामग्री सम्प्रेषण गर्नुभएकोले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश समितिले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा भनिएको छ ।

प्रदेश कमिटीले नेतृत्वलाई मुसा भनेका कारण स्पष्टीकरण सोध्ने निर्णय गरेपनि चुँडाल भने आफ्नो पार्टीमा कोही नेताको नाम ‘मुसा’ नभएको बताउँछन् । तर प्रदेश सचिवालयले जबरजस्ती उपमहासचिव शर्मालाई ‘मुसा’ उपनाम दिएको उनको भनाइ छ ।

‘हाम्रो पार्टीमा मुसा उपनामको कोही छैन, मुसालाई एउटा बिम्बको रुपमा लिइएको हो, पार्टीमा मुसा उपनाम गरेको कोही भए मैले स्पष्टीकरण दिनुपर्ने हुन्थ्यो,’ उनले भने ।

स्टाटस भने उनले हटाइसकेका छन् । उनले शर्माप्रति इंकित नगरेको बताउँदै स्पष्टीकरण नदिने बताए ।

‘प्रदेशले पार्टी उपमहासचिवको बदनाम गर्‍यो, मानमर्यादा हनन हुने काम भयो,’ उनले भने, ‘उपमहासचिवको बदनाम गर्ने निर्णयविरुद्ध केन्द्रीय समितिमा निवेदन दिन खोजिरहेको छु ।’

माओवादी केन्द्रको तराई मधेश हुलाकी राजमार्ग लक्षित अभियान छोडेर पार्टी उपमहासचिव शर्मा चैत ८ गतेदेखि विराटनगरदेखि ताप्लेजुङसम्मको यात्रा गरे । स्ववियु निर्वाचित अखिल क्रान्तिकारीका विद्यार्थी नेता र पार्टीका आफ्ना पक्षका कार्यकर्तासँग छलफल गर्दै उनी ताप्लेजुङ पुगेका थिए । उनीसँग कोशी माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत थिए ।

प्रचण्डसहितका नेता अभियानमा पश्चिम नेपालमा भएका भेला शर्मा भने पूर्व आएपछि माओवादी केन्द्रको संस्थापन पक्ष असन्तुष्ट बनेको थियो । सोही असन्तुष्टि ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भन्दै चुँडालले व्यक्त गरे । त्यसपछि शर्मा पक्ष रिसायो । पार्टी प्रदेश कमिटी अध्यक्ष नेम्वाङ शर्माको प्यानलकै हुन् । उनले स्टाटस लेखेको विषयमा चैत २७ गतेको बैठकमा उनले स्पष्टीकरण सोध्ने निर्णय गराए ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङले नेतृत्वलाई लक्षित गरी स्टाटस लेखेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । यद्यपि, स्पष्टीकरण पत्र भने काटिएको छैन । ‘नेतृत्वलाई लक्षित गरी लेखेको हो कि भन्ने थियो, उहाँले होइन भन्नु भएको छ,’ उनले भने, ‘मौखिक रुपमा हामीले सोधेका छौं ।’

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला उनीमाथि ‘मुसा’को ट्याग लागेको थियो । बजेट निर्माणका बेला निजी क्षेत्रका प्रतिनिधिलाई पनि सामेल गराएको विषयमा सार्वजनिक आलोचना भएपछि अर्थ मन्त्रालयको सीसीक्यामेरा फुटेज माग गरिएको थियो । फुटेज माग गर्दा मन्त्रालयले मुसाले तार काटेको जवाफ दिएपछि शर्माको नामको पछाडि ‘मुसा’ शब्द जोडेर सार्वजनिक आलोचना भएको थियो ।

चुँडालले शर्मालाई इंगित गरेर लेखेको भएपनि सार्वजनिक रुपमा भने उनले स्वीकार गर्न मानेका छैनन् ।

बलियो गुट

माओवादी केन्द्र कोशी प्रदेशमा अध्यक्ष प्रचण्डसँग गुट बनाएर शर्माले प्रतिस्पर्धा गरिरहेका छन् । कोशीमा शर्माको गुटमा संसदीय दलका नेता आङ्बो, प्रदेश अध्यक्ष नेम्वाङसहित पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सुदन किराती, शिवकुमार मण्डल, प्रदेश उपाध्यक्ष शिवकुमार डाँगी लगायत नेताहरू छन् ।

प्रदेशको नेतृत्व तहमा भएका नेताहरू शर्माको लाइनमा भएका कारण प्रदेशमा संस्थापन पक्ष तुलनात्मक रुपमा कमजोर छ । शर्माको गुटले नै संस्थापन पक्षलाई पराजित गर्दै विराटनगर महानगर कमिटीको निर्वाचनमा विजयी भएको थियो ।

विराटनगर महानगरपालिकाको सम्मेलनमा नेता शिवकुमार मण्डलले आफ्नो समूहबाट देव राजवंशी नगर अध्यक्षमा निर्वाचित गराएका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?