Comments Add Comment

मेयर शाक्यको दाबीः पुरातत्वको सहमतिमै रानीपोखरीमा कंक्रिट हालिएको हो


८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरी पुनर्निर्माण भइरहेको बताएका छन् ।

रानीपोखरी पुनर्निर्माणका क्रममा कंक्रिट हालिएकामा पुरातत्वविदहरुले आपत्ति जनाएका छन् ।

मेयर शाक्यले भने पुरातत्वको सहमतिमा काम भइरहेको भन्दै अड्चन नल्याउन आग्रह गरे । ‘रानीपोखरीमा कंक्रिट नहाली पानी नअडिने अवस्था आएकाले त्यसो गरिएको हो, पुरातत्वले सहमति दिएपछि गरिएका काममा अड्चन ल्याउन हुँदैन’ उनले भने ।

उनले यसलाई पुरानै कामको सिलिसिलाका रुपमा ब्याख्या गर्छन् । ‘हामी निर्वाचित भएर आउनुअघि नै पुनर्निर्माण सुरु भएको थियो । राष्ट्रपतिले शिलान्यास गर्नुभएको रानीपोखरी त्यतिबेला स्वीकृत डिजाइनमै पुनर्निर्माण गरिँदैछ,’ शाक्यले अनलाइनखबरसँग भने, ‘त्यहाँ के भएको हो हामीले छलफल थालेका छौं ।’

उनले तत्काल कंक्रिट गर्न काम नरोक्ने संकेत गरे । ‘रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन्, यो खण्डमा आइपुग्दा सम्पदाका रुपमा छ । अब यसलाई एकैछिन पुग्दा पनि मन फुरुङ्ग हुने स्थानमा रुपमा विकास गर्ने गरी काम भइरहेको छ,’ शाक्यले भने, ‘प्राविधिक सवालहरुमा महानगरले अवस्था हेरेर निर्णय लिन्छ ।’

उनले रानीपोखरीमा कफी सप खोल्ने भन्दै सञ्चारमाध्यले कुरा बंग्याएर लेखेको बताए । ‘रानीपोखरीभित्रै कफी सप खोल्ने भनिएको हैन । शान्ति बाटिका भएको स्थान आसपास खोल्ने हो’ शाक्य भन्छन्, ‘रानीपोखरीमा वाटर फाउन्टेन पनि राखिन्छ । त्यसलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गरिन्छ ।’

मेयर शाक्यले सम्पदाविदहरुले पनि महानगरसँग छलफलमा बस्दा एउटा र बाहिर गएर अर्को कुरा गर्दा समस्या आएको सुनाए ।

सम्पदाविदले चित्त नबुझेका विषय महानगरले परामर्श गर्दा नै राख्नुपर्ने भन्दै मेयर शाक्यले लोकपि्रयताका लागि हल्ला गर्ने प्रवृति सही नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment