Comments Add Comment

क्लिंकरलगायत औद्योगिक कच्चापदार्थ आयातको समस्या झन् जटिल

दुवै देशका सरोकारवालाहरु आ-आफ्नै अडानमा

११ पुस, वीरगञ्ज । क्लिंकरलगायत सिमेन्ट उद्योगका कच्चापदार्थ ढुवानीमा देखिएको समस्या समाधानका लागि मंगलबार वीरगञ्जमा बसेको दुवै देशका सरोकारवालाहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सोही कारण उक्त समस्या थप जटिल बन्ने देखिएको छ । दुवै पक्ष आ-आफ्नो अडानबाट पछाडि नहटेपछि उद्योगीहरु मारमा पर्ने भएका छन् ।

वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले क्लिंकरलगायत कच्चापदार्थ आयातमा देखिएको समस्या समाधानका लागि दुवै पक्षका पदाधिकारीहरुलाई बोलाएको थियो ।

भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिने भनेपछि बुकिङ भइसकेको नौ र्‍याक क्लिंकर नै अलपत्र परेको छ ।

यसअघि नेपाली सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने क्लिंकरलगायत कच्चापदार्थ रक्सौल र्‍याडबाटै आउने गरेको थियो । रक्सौलका बासिन्दाले बढी प्रदुषण भएको बताउँदै लामो समयदेखि विरोध गर्दै आएका थिए ।

भारतीय रेल्वे निगमले २२ डिसेम्बरमा भारतीय कन्टेनर निगम लिमिटेड -कन्कोर)सँगको सहमतिमा क्लिंकरको कार्गो सीधै वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अनलोड गर्ने एकपक्षीय निर्णय गरेको थियो ।

कन्कोरका अध्यक्ष तथा कार्यकारी निर्देशक भी कल्याण रामाले कन्कोरले १५ दिनभित्रमा आवश्यक व्यवस्थापन मिलाउनसक्ने प्रतिबद्धता पत्र पनि भारतीय रेल्वे बोर्डमा बुझाइसकेका छन् । भारतीय कन्टेनर निगम नेपालस्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने हिमालयन टर्मिनलको मुख्य साझेदार पनि हो ।

तर, नेपालका व्यवसायी र आयातकर्ताहरुले त्यो सफल हुनेमा शंका व्यक्त गरिरहेका थिए । त्यसको विरोधमा सोमबार सुख्खा बन्दरगाहआसपासका बासिन्दाले विरोध प्रदर्शनसमेत गरे ।

बैठकमा नेपाली पक्षले सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने कुरा कुनै पनि सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभई भारतीय पक्षले एकलौटी निर्णय गरेको आरोप लगायो । भारतीय पक्षले भने रक्सौल यार्डको विकल्प आईसीडी -सुख्खा बन्दरगाह) नै रहेको तर्क गर्‍यो ।

बैठकमा वाणिज्य मन्त्रालयका सह-सचिव रविशंकर सैंजुले क्लिंकरलगायत औद्योगिक कच्चापदार्थ आयातको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार गम्भीर रहेको तर भारतीय पक्षले अहिले अगाडि सारेको विकल्पबारे जानकारी नभएको बताए ।

‘समस्याको दिगो समाधानका लागि हामी धेरै गम्भीर छौं,’ उनले भने, ‘तत्कालका लागि भारतीय पक्षले पूरानै हिसाबले क्लिंकर आयात हुन दिनुपर्छ ।’

भारतीय रेलवे इस्ट-सेन्ट्रल जोनका चिफ अपरेटिङ म्यानेजर सलिल झाले रक्सौल यार्डमा अनलोड गर्न सक्ने अवस्था नरहेकाले सुख्खा बन्दरगाह नै विकल्प भएको अडान राखे । भातीय कन्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले कुनै राजनीतिक दबाब र कारण नभई रक्सौलका बासिन्दाको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न आफूहरु नेपाल आएको र यसलाई दुवै पक्षले मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाली सिमेन्ट उद्योगी र आयातकर्ताहरुले भने तत्कालका लागि रक्सौलमै लोड अनलोडको व्यवस्था हुनुपर्ने माग राखेका छन् । ड्राइपोर्टमा कन्कोरले भनेजसरी तत्काल स्थानको व्यवस्था हुन नसक्ने देखिएकाले पुरानै प्रक्रियाबाट कच्चापदार्थ ल्याउन पाउनुपर्ने माग उनीहरुको छ ।

आवश्यक पूर्वाधार तयार नगरी सुख्खा बन्दरगाहमा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चापदार्थ लोड-अनलोड गराउन नहुने वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव तथा आयातकर्ता माधव राजपालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment