Comments Add Comment

बालकोट वार्ताको सन्देशः पार्टी एकता शुरु भइसक्यो, शंका नगरौं

सरकार गठनको बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह

१२ पुस, काठमाडौं । पार्टी एकता र वामपन्थी सरकार गठनमा संशय पैदा भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सबै प्रक्रिया सँगसँगै अघि बढाउने सहमति भएको छ ।

 

पाँच दिन चितवनमा बसेर मंगलबार मात्रै काठमाडौं आएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए । झण्डै डेढ घण्टा लामो छलफलपछि पार्टी एकता र बाम गठबन्धनको सरकार गठनका सन्दर्भमा उठाइएका संशयहरु निराधार रहेको दुवै पक्षले बताएका छन् ।

पार्टी एकता प्रक्रिया अघि बढाउन तत्कालै एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ । ‘पार्टी एकताबारे जेजस्ता हल्ला चलेका छन्, ती गलत हुन् । पार्टी एकतामा कुनै समस्या छैन र छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याइन्छ भन्नुभएको छ’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार प्रचण्ड र ओलीवीचको भेटवार्तामा प्रधानमान्त्री शेरबहादुर देउवाले चाँडो सरकार गठनको बाटो खोलिदिनुपर्ने, निर्वाचन आयोगले समानुपातिकको नतिजा चाँडो प्रकाशन गर्नुपर्ने र राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले अड्काएर राख्न नहुने लगायतका विषयमा कुराकानी भएको छ ।

साथै एक दुई दिनभित्रै गृहकार्य गरेर एकता संयोजन समितिको बैठक बस्ने ओली र प्रचण्डवीच सहमति भएको तिमल्सिनाले बताएका छन् ।

ओली र प्रचण्डबीच निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक कहिले गर्छ भन्ने विषयमा छलफल भएको स्रोतको दाबी छ । आयोगले समानुपातिकको पनि सिट वितरण गरिसकेपछि नयाँ सरकार गठनको प्रक्रियाअघि बढाउन सहज हुने नेताहरुको बु्झाइ छ ।

नयाँ सरकार गठनका लागि अहिलेको कामचलाउ सरकारले बाटो सहज बनाइदिनुपर्ने बारेमा दुवै नेताबीच कुराकानी भएको बताइएको छ । ओली निवासबाट बाहिरिँदै गर्दा प्रचण्डले नयाँ सरकार गठनका लागि अहिलेको सरकारले बाटो खोलिदिनुपर्ने बताए ।

उनले निर्वाचन आयोगले सबै निर्वाचन परिणाम सार्वजनिक गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

पार्टी एकता हुन चलखेल हुन सक्ने भन्दै ओलीले कतैबाट पनि तरंगित नहुन प्रचण्डलाई आग्रह गरेको बालकोट स्रोतले जनाएको छ । दुबै पार्टीभित्र पार्टी एकता गरेर बलियो पार्टी बनाउने सन्दर्भमा आफ्नो भविष्य हेरेर एकताबारे भ्रम फैलाउने नेताहरु पनि रहेकाले सचेत ढंगले एकता प्रक्रिया टुंग्याउन दुवै नेता तयार रहेको स्रोतको दावी छ ।

स्रोतले भन्यो, ‘एकीकृत पार्टीमा आफ्नो स्थान खोजेर चलखेल गर्ने नेता दुबैतिर छन्, तिनीहरुबाट जोगिँदै पार्टी एकता हुन्छ । केपी ओलीकै नेतृत्वमा वामपन्थी सरकार पनि चाँडै गठन हुन्छ । ओली र प्रचण्ड दुवैले मधेशवादीलाई पनि सँगै लिएर जान सघन संवाद चलाउँछन् । बाहृय र आन्तरिक शक्तिहरुको चलखेलबारे दुवै नेता सचेत छन् ।’

पार्टी एकता संयोजन समितिले नै एकता प्रक्रियाका विभिन्न पक्षबारे छलफल गर्दै अघि बढ्ने सहमति भएको स्रोतले जनाएको छ । दुवै पार्टीका नेताहरुले एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया शुरु भइसकेकाले यसमा शंका गर्नुको अर्थ नहुने बताएका छन् ।

संयुक्तरुपमा गठित पार्टी एकता संयोजन समितिमा ओली र प्रचण्ड प्रमुख नेताका रुपमा छन् । त्यस्तै एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल समितिमा छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल एकता संयोजन समितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment