Comments Add Comment

चिसो बढेपछि वीरगञ्ज महानगरमा सेवाग्राही घटे

१३ पुस, वीरगञ्ज । दुई दिनदेखि तराईका अन्य जिल्लामा जस्तै पर्सामा चिसो बढेको छ । मध्यान्नसम्म पुरै कुहिरो लाग्ने र शीत खस्ने हुँदा जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा, बाहिर काम गर्ने मजदुरहरु बढी मर्कामा छन् ।

चिसो कै कारण प्रदेश नं २ कै एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा सेवाग्राहीको चापमा कमी आएको छ ।

सामान्य दिनको तुलनामा चिसो बढेपछि कार्यालयमा सेवाग्राही कम आएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
सामान्य अवस्थामा वीरगञ्ज महानगरपालिकाको दर्ता शाखामा कम्तिमा २ सय ५० देखि ४ सय जना सेवाग्राहीको कागजात दर्ता हुने गरेको भएपनि दुई दिनदेखि सेवाग्राही आधा भन्दा बढी घटेका छन् ।

दुई दिनदेखि १ सय देखि २ सयको हाराहारीमा मात्रै सेवाग्राही कार्यालयको दर्ता शाखामा काम लिएर पुगेका छन् ।

दर्ता शाखामा कार्यरत कार्यालय सहायक रोज मियाँले अन्य दिनको तुलनामा बुधबार र बिहीबार चिसो बढी भएकोले सेवाग्राही कम आएको बताए । ‘तपाई आफैं हेर्नुस न भिड भाड हुने महानगरपालिका सुनसान छ ।’ मियाँले भने ‘ चिसोले गर्दा सेवाग्राही घटेका हुन् । दिउँसो घाम लागेपछि मानिसहरु अलि बढी आउने गरेका छन् ।’

दर्ता शाखामा मात्रै नभएर राजश्व शाखामा पनि सेवाग्राहीहरु कम आइरहेको राजश्व शाखा प्रमुख अधिकृत मनोज कर्णले जानकारी दिए ।

चिसो प्रभावितलाई कम्बल वितरण

चार दिनको शीतलहरपछि बीचमा केहीदिन घाम लागेको भएपनि दुई दिनदेखि फेरि चिसो बढेको छ ।

शीतलहरबाट बढी प्रभावित गरीब विपन्न समुदायका ३ सय २० जनालाई बिहीबार कम्बल वितरण गरिएको छ ।

जिल्ला विपत् ब्यवस्थापन समिति पर्सा, रेडक्रस पर्सा शाखासँगको समन्वयमा ग्रामीण पुनर्निर्माण संस्था आरआरएनद्वारा पर्सा जिल्लामा सञ्चालित सीडीपी कार्यक्रमले पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडामा ३ सय २० थान कम्बल वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment