Comments Add Comment

राष्ट्र बैंकले ल्यायो ‘कुलिङ पिरियड’, बैंकर शाहको नबिल फिर्ती लम्बियो

१३ पुस, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका सदस्यहरु पदबाट हट्ने वित्तिकै अर्को बैंक तथा वित्तीय संस्थामा जान नपाउने भएका छन् । राष्ट्र बैंकले शुक्रवार यससम्बन्धि परिपत्र जारी गरेपछि मेगा छाडेर नबिल बैंक जान लागेका बैंकर अनिल केशरी शाहले केही समय कुर्नुपर्ने भएको छ ।

‘अहिले पनि नबिलमा सीईओको रुपमा शशिन जोशी रहेका छन्, उनले फागुन ५ गतेबाट राजीनामा दिने भएपछि शाहलाई ‘कुलिङ पिरियड’ लाग्नेछ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने ।

शाह ८ वर्षपछि नबिल बैंक फर्किन लागेका हुन् । जोशीको फागुन ५ गतेबाट लागु हुने गरी राजीनामा स्वीकृत भएको छ । त्यसपछि शाह नबिलको सीईओ हुने थिए । अब उनले असारसम्म कुनुपर्ने छ ।

शाहले पुस १ गतेदेखि लागु हुने गरि मेगा बैंकबाट राजिनामा दिएका थिए । उनी यसअघि सेञ्चुरी कमर्सियल बैंकमा जाने तयारीमा समेत रहेका थिए । शाहलाई कुलिङ पिरियड लागेमा उनले असारमा मात्र नबिलको नेतृत्व सम्हाल्न पाउने छन् । नबिलले शाहलाई नै ल्याउने भएमा असारसम्म नायब कार्यकारी अधिकृत राखेर बैंक सञ्चालन गर्नुपर्ने हुन्छ । हाल विनय कुमार रेग्मी नबिलमा प्रमूख सञ्चालन अधिकृतको रुपमा छन् ।

राष्ट्र बैंकले ल्याएको कुलिङ पिरियडको नियम प्रमूख कार्यकारी अधिकृतले जुनसुकै कारणबाट जागिर छाडे पनि लागु हुनेछ । ६ महिना नबिताई सीईओले अर्को संस्थाको सञ्चालक समेत बन्न नपाउने गरि राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ तोकिदिएको हो ।

एउटा संस्थामा छाड्ने वित्तीकै अर्को संस्थामा जाँदा पुरानो संस्थाका महत्वपूर्ण रणनीतिहरुको दुरुपयोग हुन सक्ने, नयाँ संस्थामा गएसँगै सीईओहरुले आफुलाई प्रमाणित गर्न आक्रामक रुपमा काम गर्न थाल्ने र यसले समस्या ल्याउने ठहर राष्ट्र बैंकको हो ।

सीईओले जागिर छाडेर अर्कोमा जाँदा उनले सहयोग पाउदै आएका बैंकका अन्य कर्मचारी पनि साथै जाने प्रवृत्ती मौलाएपछि पनि यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको हो । स्वतन्त्र सञ्चालकलाई बाहेक सञ्चालक समितिका अन्य सबैलाई यो नियम लागु हुनेछ ।

आफ्नो अवधि नसकिदै राजिनामा दिने कुनै पनि सञ्चालकले बाँकी रहेको कार्यकाल भित्रमा पुनः सोही संस्थामा बहाल हुन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment