१५ पुस,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् ।
पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ ।
एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’
पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।
एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे ।
भट्टराईले भने-वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका छन् । कांग्रेस अब ५० वर्षसम्म सत्तामा आउन सक्दैन,त्यसैले नकच्चरो बनेर सत्ता लम्ब्याउन खोज्दैछन् ।
प्रतिक्रिया 4