Comments Add Comment

शरीरले कस्ता हर्मोन उत्पादन गर्छ ? किन आवश्यक छ ?

कतिपय शारीरिक समस्या लिएर अस्पताल पुग्नुभयो भने, चिकित्सकले भन्नेछन्, ‘हर्मोनको गडबडीले यस्तो समस्या भयो ।’

थाइराइडको उपचार खोज्दै अस्पताल पुगौं वा महिनावरीको समस्या बोकेर चिकित्सकलाई भेटौ । उनीहरुले  कारण औल्याउँछन्, ‘हर्मोनको गडबडी भयो ।’

किन हुन्छ शरीरमा ‘हर्मोनल गडबडी’ ? यस्ता गडबडीले के कस्ता समस्या निम्त्याउँछ ? यसलाई कसरी सन्तुलनमा राख्ने ?

यसमा मूख्य जिम्मेवार हाम्रो जीवनशैलीलाई मानिएको छ । विलासी जीवनशैली, गलत खानपान, शरीरमा पौष्टिक आहारको कमी, व्यायामको कमी लगायतले नेपालमा प्रत्येक वर्ष हर्मोनको गडबडीका समस्या बढ्दै गएको छ ।

के हो हर्मोन र यसका आवश्यक्ता ?

चिकित्सकका अनुसार हर्मोन भनेको एक प्रकारको रसायन हो । यस्ता रसायन शरीरका विभिन्न अंगहरुमा रहेको विभिन्न ग्रन्थीबाट उत्पादन हुने गर्दछ ।

शरीरका विभिन्न अंग टाउको देखि पैतालासम्मलाई नियन्त्रण गर्ने यस्ता हर्मोन रगतको माध्यमद्धारा शरीरका प्रत्येक अंगमा पुगेर शरीरलाई चलायमान बनाउन तथा नियन्त्रण गर्न मद्दत गर्छ । यसले खानालाई शक्तिमा परिणत गर्ने, पाचन प्रकि्रया, तनाव, प्रजनन क्षमता लगायतलाई नियन्त्रण गर्ने काम गर्छ  ।

किन हुन्छ गडबडी ?

गर्भनिरोधक चक्कीको सेवन, तनाव लगायतका कारणले पनि मानिसको शरीरमा हर्मोनको गडबडी हुने गर्दछ । शरीरमा हर्मोनको गडबडी भएमा यस्ता समस्या देखिने गर्दछ ।

के हुन्छ समस्या ?

हर्मोनको गडबडी भएमा मुडमा परिवर्तन आउने, यौन जीवनमा समस्या उत्पन्न हुने, प्र्रजनन क्षमतामा र्‍हास आउने, महिनावारी गडबडी लगायतको समस्या निम्तने गर्दछ ।

-प्रजनन स्वास्थ्य सम्बन्धि समस्या

-महिनावारीमा गडबडी

-यौवन अवस्थासँग सम्बन्धित समस्या

-अस्वभाविक मोटोपन वा दुब्लोपन

-रक्तचापमा तलमाथि हुनु

-धेरै झाडा वा कब्जियत हुनु

-पेट सम्बन्धि विभिन्न समस्या

-कपाल झर्ने

-कपाल रुखो हुने

-छाला सुख्खा तथा रुखो हुनु

शरीरमा हर्मोनको गडबडी भएमा यस्तो समस्या देखिने भएपनि धेरै जसो स्वास्थ्य सम्बन्धी समस्याहरुमा हर्मोनको गडबडीको लक्षण सजिलै थाहा हुँदैन । त्यस्तो अवस्थामा कुनै समस्या बारम्बार देखिएमा हर्मोन सम्बन्धि  जाँच गराएर पनि शरीरमा हर्मोनको गडबडी भएको पत्ता लगाउन सकिन्छ ।

साथै, यदी शरीरमा विभिन्न समस्या हुदाँ हुदै पनि रोग पत्ता नलागेको अवस्थामा त्यस्ता समस्या हर्मोनको गडबडीकै कारण भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

हर्मोन र यसका प्रकार

शरीरमा हर्मोनको समस्या भएमा मधुमेह , थाइराइड ,महिनावारी नहुने, निसन्तानपन लगायतको समस्या हुने आम बुझाई छ । जबकी हर्मोनको गडबडीकै कारण शरीरमा यस्ता समस्या पनि हुने गर्दछ, जुन कल्पना बाहिर छ ।

किन आवश्यक हर्मोन ?

पिट्युटरी ग्रन्थी

मस्तिष्कको ठिक मुन्तिर रहेको पिट्युटरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भन्ने गरिन्छ । यस ग्रन्थीले शरीरका लागि आवश्यक विभिन्न हर्मोन उत्पादन गर्ने भएकोले उक्त ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भन्ने गरिन्छ । यस ग्रन्थीबाट उत्पादन भएका हर्मोनले शरीरका सबैजसो अंगहरुलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

पिट्युटरी ग्रन्थीले के काम गर्छ ?

पुड्कोपना हुन सक्छ – ग्रोथ हर्मोनले शरीरको उचाईलाई नियन्त्रण गर्दछ । शरीरमा ग्रोथ हर्मोनको कमी भएमा पुड्कोपनाको समस्या हुने गर्दछ । यस्ता समस्या बाल्यकालमै देखिने भएपनि बाल्यावस्थामै यसको उपचार नगरेको खण्डमा यसको उपचार खासै सम्भव हुँदैन ।

अस्वभाविक उचाई हुन सक्छ- शरीरमा ग्रोथ हर्मोन बढी भएमा मानिसको उचाई नियन्त्रण भन्दा बाहिर हुने गरी बढ्ने गर्छ । यस्ता समस्यालाई चिकित्सकिय भाषमा ‘जाइकाटिज्म’ पनि भन्ने गरिन्छ ।

हात गोडामा अस्वभाविक वृद्धि- वयस्कहरुमा ग्रोथ हर्मोनको उत्पादन बढी भएमा एक्रोमेगाली हुने गर्दछ । एक्रोमेगाली भएमा शरीरका अंग , हातखुट्टा अस्वभाविक रुपमा बढ्ने तथा ठूलो हुने गर्दछ ।

महिनावरी गडबडी हुनसक्छ- पिट्युटुरी ग्रन्थीबाट निस्कने विभिन्न हर्मोनहरुमध्य प्रोल्याक्टिन हर्मोन पनि एक हो । यस हर्मोनको अभावमा महिनावारीमा गडबडी हुने, महिलाहरुको स्तनबाट दूध निस्कने, निसन्तानपनको समस्या देखिने गर्दछ ।

मोटोपन बढ्न सक्छ- शरीरमा कार्टिसोल निकाल्ने हर्मोनमा एसिटिएच पर्दछ । कार्टिसोल एक प्रकारको रसायन हो , शरीरमा कार्टिसोलको मात्रा अधिक भएमा मोटापना हुने, रक्तचाप बढ्ने लगायतका समस्या देखिने गर्दछ ।

शरीरमा एसिटिएचको कमी भएमा शरीर दुब्लाउदै जाने, रक्तचाप कम हुने गर्दछ ।

पिसावमा समस्या हुनसक्छ- एन्टीडाइरुटिक हर्मोनलाई पिसाब रोक्ने हर्मोन पनि भन्ने गरिन्छ । शरीरमा एन्टीडाइरुटिक  हर्मोन -एडिएच)को गडबडी भएमा दिनमा १० देखि १५ लिटरसम्म पिसाब लाग्ने गर्दछ ।

उमेर नपुगी किन यौवनावस्थामा पुर्‍याउने हर्मोन- महिलाको शरीरमा महिनावारी गराउने अर्को हर्मोन एलएच, एफएसएच हो । एलएच, एफएसएचको गडबडी भएमा यौवन अवस्था छिटो देखा पर्ने, पाँच/छ वर्षको उमेरमै बालबालिकामा यौवन अवस्था सुरु हुने, छिटो छाती ठूलो हुने, पुरुषहरुमा लिङ्गको आकार छिटो ठूलो हुने, सानै उमेर दार्‍ही जुँगा आउने लगायतका समस्या देखिने गर्दछ ।

पुरुषमा दाह्री जुँगा नपलाउने हर्मोन- डिलेयड पुबर्टी भएमा उमेर भइसक्दा पनि पुरुषमा दार्‍ही जुँगा नपलाउने, तथा महिलामा १५-१६ वर्षको भईसक्दा पनि महिनावारी सुरु नहुने, छातीको विकास नहुने लगायतको समस्या देखा पर्ने गर्दछ ।

थाइराईड हर्मोन- पिट्वीटरी ग्रन्थीबाट उत्पादन हुने विभिन्न हर्मोनमध्य थाइराईड हर्मोन पनि एक हो । शरीरमा थाइराईड हर्मोनको कमी भएमा शरीरमा थकान महसुस हुने, छाला सुख्खा हुने  लगायतको समस्या निम्तने गर्दछ ।

प्यारा थाइराइड हर्मोन (पिटिएच)

थाइराइड जस्तै प्याराथाइराइड हर्मोन पनि थाइराइड हर्मोनसँग उत्पादन हुने अर्को हर्मोन हो । यो हर्मोन थाइराइड ग्रन्थीको ठिक पछाडी उत्पादन हुने गर्दछ । रगतमा वा पिसाबमा प्यारा थाइराइड हर्मोनको मात्रा बढी भएमा शरीरमा क्याल्सियमको मात्रामा धेरै हुने गर्छ । जसका कारण मृगौलामा बारम्बार पथ्थरी हुने, हड्डी फ्याक्चर हुने लगायतको समस्या निम्तने गर्दछ ।

एड्रिनल हर्मोन 

एडि्रनल हर्मोन सामान्यतया पेट भित्र उत्पादन हुने गर्दछ । मृगौलाको ठिक माथिपट्टी रहेको सानो सानो एडि्रनल ग्रन्थीबाट उत्पादन हुने रसायनाई एडि्रनल हर्मोन भन्ने गरिन्छ । यस हर्मोनले शरीरमा रक्तचापको नियन्त्रण गर्न मद्दत गर्दछ ।

कहिलेकाही एडि्रनल ग्रनथीबाट हर्मोनको उत्पादन धेरै वा कम भएमा रक्तचाप घटबड हुने गर्दछ ।

इस्ट्रोजेन प्रोजेस्टेरोन हर्मोन

इस्ट्रोजेन तथा प्रोजेस्टेरोन महिलाहरुको डिम्बासयाबाट उत्पादन हुने अर्को हर्मोन हो । इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको तालमेलमा समस्या भएको खण्डमा स्वास्थ्यमा विभिन्न असर पर्ने गर्दछ।

विशेषगरी, यस्ता हम नको उत्पादनमा गडबडी भएमा मासिकश्रावमा समस्या आउने, महिनावारी रोकिने, पोलिसिस्टिक ओभरी सिन्ड्रोम -पिसिओएस्) जस्ता समस्या देखिने गर्दछ ।  खानपान, जीवनशैली, पौष्टिक आहारको सेवन, व्यायाम, तनाव, उमेर लगायतका तत्वले पनि यस्ता हर्मोनको उत्पादनमा प्रभाव पार्ने गर्दछ ।

टेस्टोस्टेरोन हर्मोन

पुरुषहरुमा रहेको टेस्टोस्टेरोन हर्मोनको गडबडीका कारण पुरुषहरुमा निसन्तानपन,यौन इच्छामा कमी, यौ र्‍हास लगायतको समस्या देखिने गर्दछ ।

उपचार विधि

यस्ता समस्या भएमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा  इन्डोक्राइनोलोजिस्टमार्फत उपचार गराउन सकिन्छ । चिकित्सकहरुले स्वास्थ्यमा परेको समस्याका आधारमा रोगका पहिचान तथा उपचार गर्ने हुदाँ यसको उपचार खासै जटिल मानिदैन ।

(इन्डोक्राइनोलोजिस्ट डा. जोशीसँग ऋचा अर्यालले गरेको कुराकानीमा अधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment