Comments Add Comment

क्लबमा अनमोलको डान्स, ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक


यो बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो । नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतिक्षित बनाइदियो । युटुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।

ट्रेलरले युटुबमा हंगामा मच्चाएको करिब ३ सातापछि यसको निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी गंगै रानी’ बोलको क्लब गीत, अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरिएको हो ।

नयाँ बर्षमा यो गीत डान्स क्लब, डिस्कोमा घन्किने विश्वास निर्माणपक्षको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ ।

गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ ।

चकलेटी अनुहारका कारण चर्चामा रहेका अनमोलले आफ्नो एक्सन र अभिनय क्षमता चलचित्रको ट्रेलरमा देखाइसकेका छन् । अब, यो गीतसँगै उनको नृत्य क्षमता पनि देखिएको छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।
सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । ट्रेलरले सकारात्मक प्रतिक्रियाले हौसिएका सुरेन्द्र गीतबाट पनि आशावादी देखिएका छन् ।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment