+
+

अबको बाटो तय गर्न नयाँ शक्तिको बैठक ल्वाङ होमस्टेमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १७ गते १५:०२

१७ पुस, पोखरा । चुनावी नतिजा र अबको बाटो के हुने भन्ने विषयमा समीक्षा गर्न नयाँ शक्ति पार्टीको बैठक बस्दैछ ।

मंगलबारदेखि कास्कीको ल्वाङ होमस्टेमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक सुरु हुँदैछ । ३ दिनसम्म भूमिगत शैलीमा हुने समीक्षा बैठकमा स्थापनादेखि निर्वाचनसम्म नयाँ शक्तिले लिएको बाटो र आगामी रणनीतिबारे छलफल हुनेछ ।

‘नयाँ शक्तिले प्रतिपादन गरेको नीति, अहिलेसम्मको यात्रा र भावी रणनीतिका विषयमा गम्भीर छलफल हुनेछ,’ नयाँ शक्तिका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले अनलाइनखबरलाई भने, ‘गम्भीर छलफलमा सबैले खुला रुपमा आफ्ना कुरा राख्न पाउनेछन् ।’

सबैले कुरा राख्ने वातावरण मिलोस् र भूमिगत रुपमा छलफल गरेर एउटा निचोट निकाल्न ल्वाङ होम स्टेमा समीक्षा बैठक राखिएको सिंहले जानकारी दिए । चुनावी समीक्षा तथा आगामी रणनीतिबारे छलफल गर्न ल्वाङ होमस्टे रोजिएको नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले बताइन् ।

‘शान्त ठाउँको खोजि गर्दा कास्कीको ल्वाङ उपयुक्त भेटौं,’ नायिकासमेत रहेकी करिश्माले भनिन्, ‘गाउँ तथा होमस्टेलाई प्रमोट गर्न र पार्टीकै ऐतिहासिक रणनीतिक समीक्षा भएको ठाउँको रुपमा सन्देश दिन पनि ल्वाङ होम स्टे रोजेका हौं ।’

वैठकमा केन्द्रीय कार्यकारी तथा आमन्त्रित कार्यकारी सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का गरी २ सय ५० भन्दा बढी सहभागी हुने बताइएको छ ।

पुरानै कुनै पार्टीमा मिल्ने वा यही बाटो रोज्ने ?

नयाँ शक्ति पार्टी नेपाल स्थापना गर्दाताका भन्दा किन कमजोर बन्यो ? स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अपेक्षाकृत नजिता किन ल्याउन सकेन ? अब हिँडिरहेकै बाटो हिँड्ने कि नयाँ रोज्ने भन्ने विषयमा ल्वाङ होमस्टे वैठकले तय गर्ने नेताहरुले बताएका छन् ।

‘नयाँ शक्तिले आˆनो एजेण्डा जनतलाई बुझाउन सकेन कि जनताले नै बुझेनन् भन्ने विषयमा छलफल गर्नेछौं’ प्रचार विभाग प्रमुख प्रशान्त सिंहले भने, ‘पोखरा घोषणा पत्र नै जारी गरेर अबको रणनीति बनाउन तयारी हुँदैछ ।’

नयाँ शक्तिलाई कस्तो खालको राजनीतिक पार्टी बनाउने भन्ने विषयमा ल्वाङ वैठकले एउटा निचोड निकाल्ने सिंहको भनाइ छ ।

नयाँ शक्तिले लिएका एजेण्डालाई अरु पार्टीले प्रयोग गरेर जनताको मत जित्दा नयाँ शक्तिले चाहिँ किन जनतासम्म आˆना एजेण्डा पुर्‍याउन सकेन भन्ने विषयमा गम्भीर छलफल हुने युवा नेता सौगात पोखरेलले जानकारी दिए ।

पुरानै राजनीतिक शक्ति कांग्रेस वा वाम गठबन्धनमा मिसिने कि वैकल्पिक राजनीतिक शक्तिकै रुपमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने भन्ने विषयमा एउटा निचोड निकालिने बताइएको छ ।

मंगलबारदेखि सुरु हुने वैठकमा सहभागी हुन केन्द्रीय कार्यकारी सदस्य पोखरा आइसकेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने ल्वाङ होमस्टे पोखरादेखि झन्डै १३ किलोमिटर उत्तरपश्चिममा पर्छ । ल्वाङ पुग्न हेमजादेखि खोराको मुखसम्म पिच बाटो छ भने बाँकी कच्ची सडक हुँदै जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?