१३ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोहमा आफ्नो १२ वर्षअघिको एक आलेख सम्झिएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमा लामो अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले २०७० चैतमा नेपाल साप्ताहिकमा प्रकाशित आफ्नो आलेख सम्झिएको बताएका हुन् ।
‘आज भन्दा ठीक १२ वर्ष पहिले अर्थात् २०७० चैतमा तत्कालीन प्रतिष्ठित पत्रिका नेपाल साप्ताहिक मा मेरो अग्रलेख– ‘नयाँ शक्तिको खाँचो’ प्रकाशित भएको थियो,’ बालेनले लेखेका छन् । त्यतिबेला संविधानसभाबाट संविधान बन्दै गरेको र आफू तत्कालीन माओवादी पार्टीको उच्च नेतृत्व पंक्तिमै रहेको उनले उल्लेख गरेका छन् ।
‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै संविधान बनिसकेपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न देशमा पुराना दल र नेतृत्वको विकल्पमा नयाँ विचार,नीति,कार्यक्रम, नेतृत्व सहितको नयाँ शक्ति चाहिन्छ भन्ने पैरवी गरेको थिएँ,’ उनले लेखेका छन् ।
आज नयाँ दल रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दा त्यही कुरा आफूलाई सम्झना आएको भट्टराईले बताएका हुन् । उनले भनेका छन्, ‘उहाँको शपथग्रहणपछि बधाई दिँदै गर्दा मेरो मनमष्तिष्कमा त्यो आलेखको सम्झना झलझली आइरहेको थियो ।’
यस्तै उनले त्यो बेला कार्ल मार्क्सको चर्चित कृति ‘द एट्टीन्थ ब्रुमर अफ लुइस बोनापार्टको’ एक अंश पनि सम्झिएको बताएका छन् । जसमा, ‘मानिसले आफ्नो इतिहास आफैं बनाउँछन्, तर आफ्नो इच्छा अनुसार मात्र बनाउन सक्दैनन्, उनीहरूले आफैंले रोजेको परिस्थिति अनुसार बनाउने हैन, परन्तु प्रत्यक्ष सामना गरेको, विद्यमान र विगतबाट आइलागेको परिस्थिति बमोजिम मात्र गर्नसक्छन्’ भनिएको भट्टराई उल्लेख गरेका छन् ।
‘नेपालको अहिलेको अवस्था पनि त्यस्तै त्यस्तै हो कि ?’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4