१८ पुस, काठमाडौं । ढोरपाटन स्पोर्टस क्लवले हरेक वर्ष आयोजना गर्ने महिला डवल लिग राष्ट्रिय भलिबल प्रतियोगिताका आगामी तीन संस्करणको प्रायोजन गोर्खा ब्रुअरीको उत्पादन रेडबुलले गर्ने भएको छ ।
नेपाली भलिबलमा प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित ढोरपाटन महिला डवल लिग भलिबलको १३औं संस्करण आगामी माघ ४ देखि १९ गतेसम्म हुनेछ । रेडबुलले यससहित आगामी ३ संस्करणका लागि ३३ लाख रुपैयाँको प्रायोजन गरेको छ ।
मंगलवार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीबीच सम्झौता-पत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार रेडबुलले प्रत्येक वर्ष ११ लाखका दरले ३ संस्करणसम्म प्रायोजन रकम उपलब्ध गराउनेछ ।
प्रतियोगिताले सह-प्रायोजकको रुपमा युएम आईएमइ अर्टोमोटिप्स, सामाखुसी बोडिङ स्कुल (सेब), बिजी मल र जिमी गु्रप छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ सम्म हुने प्रतियोगितामा विभागीय टोली सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वान्चल क्षेत्रीय महिला भलिबल, काठमाडौंको पारामाउन्ट हाइस्कुल, भक्तपुरको स्पि्रङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्टस फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ ।
साबिक बिजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन । प्रतियोगितामा सहभागी टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रवधान छ । तर प्लेइङ सिक्समा भने ३ बिदेशी खेलाडीे मात्र कोर्टमा उत्रन पाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछ । यस्तै चौथो हुनेले ५० हजार, पाचौँ हुनेले ४० हजार, छैटौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका बेष्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् भने बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, क्वीकर र प्रशिक्षकले पनि जनही ५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको १३औं संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने भएका छन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्ने छन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ ।
प्रतिक्रिया 4