Comments Add Comment

नेपाली अर्थोडक्स चियाले पायो आफ्नै पहिचान

२३ पुस, इलाम । चिया उत्पादनको १३९ वर्षपछि नेपाली चियाले आफ्नै लोगो पाएको छ ।

इलामबाट विक्रम सम्वत् १९२० चिया खेती शुरु भएको हो भने १९३५ मा कारखाना स्थापना गरेर चियाको उत्पादन शुरु भएको थियो । तर, अहिलेसम्म आफ्नो पहिचान पाउन सकेको थिएन ।

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लागो पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी र्फम दी हिमालय’ लेखिएको लागो नेपाली चियाले पाएको हो ।

यसअघि नेपाली अर्थोडक्स चिया कि दार्जिलिङ्ग टीको लागो लागेर त कि लोगो बिनै नै अन्तर्राष्ट्रिय बजारमा पुग्नेे गरेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका तयार गरेर कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु निक्कै चुनौति रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चिया विज्ञ चन्द्रभूषण सुब्बा बताउँछन् ।

लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्ण रुपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डहरु तोकेको छ ।

लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको पक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । चियाको गुणस्तरदेखि कामदारको रोजगारको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गरेकाले मात्र लोगोको प्रयोग गर्न सक्छन् ।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अग्र्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने चिया विद सुब्बा बताउँछन् । अन्तराष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा इमान्दार भएर लाग्नु पर्ने उनले बताए ।

अहिले नेपालमा उत्पादित १० प्रतिशत अर्थोडक्स चियाले मात्र तेस्रो मुलुकमा राम्रो मूल्य पाउने गरेका छन् । बाँकी ८० प्रतिशतभन्दा बढी अर्थोडक्स चिया भारतीय बजारमा कम मूल्यमा विक्री हुँदै आएको छ ।

लोगो स्थापित भएमा नेपालमा उत्पादित सबै अर्थोडक्स चियाले तेस्रो मुलुकमा सहजै बजार पाउने सुब्बाले बताए ।

सगरमाथाको बेसक्याममा लोगो उद्घाटन

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थिापित गर्न उद्घाटन कार्यक्रम सगरमाथाको बेसक्याम्पमा गरिने भएको छ ।

विश्वका ठूला क्रेता र विश्वका पत्रकारहरुलाई हेलिकोप्टरमार्फत सगरमाथाको बेस क्याम्प पुर्‍याएर अपि्रलमा लोगो उद्घाटन गर्ने तयारी रहेको होड्पाका सीईओ समेत रहेका सुब्बाले बताए । अपि्रल ६ देखि तीनदिन काठमाडौंमा चिया सम्मेलन पनि गरिने भएको छ ।

लोगो कार्यान्वयन अभियान चल्दै

लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म सकारात्मक हुनुपर्ने भएकाले अहिले अन्तराष्ट्रिय श्रम संगठन -आइएलओ) र होड्पाले किसान तहमा छलफल गरिरहेको छ ।

इलाम, पाँचथर, धनकुटा तेह्रथुममा चिया किसान र उत्पादकहरुसँग लोगो प्रयोग र यसले उत्पादक र किसानहरुलाई हुने फाइदाको विषयमा जानकारी दिइँदैछ । चिया उत्पादक र किसान सकारात्मक भएमा मात्र लोगो कार्यान्वयनमा आउने भन्दै होड्पाले यो अभियान चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment