Comments Add Comment

ओली-प्रचण्ड वार्ताः पार्टी एकताबारे ‘ब्रेक थ्रु’

मंगलबार एकता संयोजन समितिले कार्यदल बनाउने

२३ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।

भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । दुई नेताको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ ।

यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

त्यसैगरी पार्टी एकतासँगै पार्टीको अध्यक्ष को हुने, केन्द्रीय समितिमा क-कसलाई राख्ने अनि प्रधानमन्त्री, राष्ट्रपति लगायतको पदीय बाँडफाँड कसरी गर्ने भन्ने लगायतका संगठनात्मक प्रश्नहरु पनि समाधान गर्न बाँकी छ ।

एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले यी वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् ।

यसैवीच प्रचण्ड र केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि छलफल गरेका छन् । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने-‘राष्ट्रियसभा निर्वाचनका बारेमा अनि प्रदेशसभा निर्वाचनका बारेमा पनि छलफल भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment