Comments Add Comment

१५ महिनापछि मैदानमा फर्कियो थ्रीस्टार, खप्तड गोल्डकपमा विजयी सुरुआत

२४ पुस, कैलाली । १५ महिनापछि फुटबलमा फर्किएको ए डिभिजन च्याम्पियन थ्रीस्टार क्लवले सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

सोमबार धनगढी रंगशालामा भएको खेलमा झापा ११ लाई ३-१ गोलअन्तरले हराउँदै थ्रीस्टार प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

पहिलो हाफको ३४ औं मिनेटमा विदेशी खेलाडी मार्टिनले गोल गरेर थ्री स्टारलाई अग्रता दिलाए । ३९ औं मिनेटमा बुद्ध चेमजोङले गोल गर्दै अग्रता दोब्बर पारे । झापा-११ का लागि कर्ण लिम्बुले ४१ औं मिनेटमा गोल फर्काएर अन्तर कम बनाए पनि ४३औं मिनेटमा चेम्जोङले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा थ्रीस्टारले ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा गोल हुन सकेन र खेल थ्रीस्टारले जित्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा झापा-११ का प्रशिक्षक प्रवेश कटुवालले टिमले राम्रै खेले पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताए । यसैगरी, थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टिमले सुखद् नतिजा दिन सफल भएको बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाले समयमै नाम दर्ता नगरिदिएका कारण एएफसी कप खेल्न नपाएको बिरोधमा थ्रीस्टारले १५ महिनाअघि फुटबलबाट बाहिरिने निर्णय गरेको थियो ।

गत वर्षको असोजमा सिक्किममा भएको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता खेलेयता थ्रीस्टारले कुनैपनि फुटबल गतिविधिमा सहभागिता जनाएको थिएन । थ्रीस्टारले त्यस प्रतियोगिताको उपाधिसमेत जितेको थियो ।

त्यसको एक महिनाअघि मंगोलियामा भएको एएफसी कप छनोटको पहिलो चरण अन्तर्गत समूहमा जित हासिल गर्दै दोस्रो चरणमा पुगेको थ्रीस्टार एन्फाले नाम दर्ता नगरिदिएका कारण प्रतियोगिताबाट बञ्चित भएको थियो ।

एन्फाले क्षतिपूर्तिस्वरुप १ हरोड ५० लाख उपलब्ध गराउने भएपछि थ्रीस्टार फुटबलमा फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment