Comments Add Comment

वामदेवको चाहना-राष्ट्रियसभा होइन, पुनर्निर्माण प्राधिकरण हाँक्ने !

'मलाई अन्तरघात गरेर हराइयो, एमाले र माओवादीले निष्पक्ष न्याय दिउन्'

२७ पुस, काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले आफू राष्ट्रपति बन्ने वा राष्ट्रियसभा सदस्य हुने सम्भावनालाई खारेज गरेका छन् ।

गौतमले एउटै कम्युनिस्ट पार्टी निर्माण गरेपछि पुननिर्माण प्राधिकरण जस्तै कार्यकारी भूमिकासहित ५ वर्ष विकास निर्माणमा वामपन्थी सरकारलाई सघाउने चाहना व्यक्त गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै एमाले नेता गौतमले भने, ‘कतिपय व्यक्तिले मलाई राष्ट्रिपतिका लागि कोसिस गर्न अनुरोध गरेपनि मेरो सक्रिय जीवन र नैतिकताका हिसाबले पनि मैले आफ्नो कुनै किसिमको इच्छा र अकांक्षासम्म पनि बनाउने अवश्यकता ठानेको छैन ।’

वामपन्थी गठबन्धनका एक प्रमूख सूत्रधार गौतमले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरा दिए हुने आशय व्यक्त गरेका छन् । एमालेबाट राष्ट्रपतिमा झलनाथ खनालले पनि चाहना व्यक्त गरेका छन् । कतिपयले बामदेव गौतम र सुवास नेम्वाङको समेत चर्चा चलाएपछि गौतमले आफू राष्ट्रपतिको रेसमा नभएको प्रष्ट पारेका हुन् ।

तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका गौतमले आगामी सरकारले ५ वर्षभित्र आर्थिक सामाजिक रुपान्तरणका लागि सम्पूर्ण पूर्वाधार तयार गर्नुपर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहन सक्ने बताए । गौतमले मुख खोलिसकेका छैनन् तर, पुननिर्माण प्राधिकरण वा त्यो भन्दा कार्यकारी भूमिकामा रहन खोजेका छन् ।

उनले भने-साझा निर्वाचन घोषणामा आगामी ५ वर्ष भित्र समाजवाद उन्मुख आर्थिक समाजिक रुपानतरणका लागि सम्पूर्ण पुर्वाधार सम्पन्न गर्ने महत्वकांक्षी उद्घोष गरिएको छ । हामीले जनतालाई अनुभूति हुने गरी विकास निर्माण गर्ने घोषणा गरेका छौँ । यसमा सरकारले मेरो भूमिका आवश्यक ठान्यो भने मैले पूर्ण रुपमा सहयोग गर्नेछु ।’

मलाई न्याय चाहियो

पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका गौतमले बर्दिया १ मा आफ्नो पराजय अन्तर्घातकै कारण भएको बताए । दुवै पार्टीले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै उनले एमाले र माओवादी दुवै पार्टीले अन्तरघाती पहिचान गरी कारवाही गर्नुपर्ने बताए ।

‘निष्पक्ष छानविनको रिपोर्ट दुबै पार्टीले सार्वजनिक गर्‍यो भने मैले न्याय पाएको महसुस गर्नेछु’ गौतमले भने, ‘त्यसपछि मलाई बाँकी जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित गर्न सहज हुनेछ ।’

उनले प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय राजनीतिमा मेरो भूमिका आवश्यक रहेको र त्यसलाई भिन्न तरिकाले पूरा गर्ने एमाले उपाध्यक्ष गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment