Comments Add Comment

१६ महिनामै बिजुली बाल्ने त्रिशुली थ्रीएको तयारी, प्रसारण लाइन अन्योलमा


४ माघ, काठमाडौं । माथिल्लो त्रिशुली थ्रीए जलविद्युत आयोजनाले आगामी १६ महिनाभित्रै उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको छ । आयोजनाले अहिलेसम्ममा करिब ७० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार अहिले ड्याम साइटमा निर्माण कम्पनीले तीव्रताका साथ काम गरिरहेको छ । ड्याममा रहेको दुईवटा गेटहरु दुई वर्षअघि वैशाख १२ मा आएको भूकम्पका कारण क्षतिग्रस्त भएका थिए । त्यसमा अहिले मर्मतको काम भइरहेको छ ।

सुरुङमा तलको भागमा कन्क्रिटिङ गर्ने काम अघि बढेको छ र भर्टिकल साफ्ट जडानका लागि आवश्यक सामाग्रीहरुको पनि आयात हुँदैछ ।

जोशीले भने, ‘भर्टिकल साफ्टको सामानहरु उत्पादन भएको जानकारी गराएको छ, जसलाई अहिले आयात गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।’

यो आयोजनाको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) हो ।

विनासकारी भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको छ । किनकि सुरुमा सरकारले चिनियाँ कम्पनीलाई ३५ महिनामा काम सक्नेगरी १८ जेठ ०६८ मा यो आयोजनाको निर्माणको जिम्मा दिएको थियो । तर, भूकम्पले गर्दा यसको निर्माण तालिका नै प्रभावित भयो ।

गत कात्तिकमा आयोजना स्थल पुगेर सचिव अनुपकुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कम्पनीलाई आउँदो हिउँदमा काम सक्ने गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएका थिए ।

अहिले भूकम्पका कारण क्षतीग्रस्त भएको सडक मर्मतको काम तीव्र बनाइएको छ । मुख्य संरचना, प्रसारण लाइन निर्माणको काम पनि अघि बढाएको जोशी बताउँछन् ।

आयोजना निर्माणको काम सन्तोषजनक रुपमा अघि बढे पनि यसको प्रसारण लाइन निर्माण भने अझै पनि अन्योलमा छ । विभिन्न स्थानमा स्थानीयहरुको बिरोध देखिएको छ । आयोजना निर्माण सम्पन्न भइसक्दा समेत प्रसारण लाइनको निर्माण भने सम्पन्न नहुने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

भूकम्पपछि प्राधिकरणले आयोजनाको म्याद ०७६ को वैशाख १७ गतेसम्म थपेको छ । जोशीका अनुसार अहिले मातातिर्थका स्थानियहरुले प्रसारण लाइन निर्माणमा अवरोध पुर्‍याइरहेका छन् । त्यस्तै नागढुङ्गामा रहेको पात्ले बन रिसोर्टले पनि प्रसारण लाइन निर्माणमा वाधा पुर्‍याइरहेको छ । ४५ प्रतिशत १ नम्बरको टावर निर्माण गर्नका लागि पात्ले बन रिसोर्टले अवरोध पुर्‍याइरहेको हो । साथै यसले मुआब्जा समेत बुझन् मानको छैन ।

यो आयोजनाले १ सय ४२ वटा टावरहरुको निर्माण गर्नुपर्ने छ । तर अहिलेसम्म आयोजनाले २० वटा टावर मात्रै ठडाएको छ । र १५ वटा ठड्याउने तयारी भइरहेको जोशी बताउँछन् । १ सय वटाको फाउन्डसेन् मात्रै तयार भएको छ । प्रसारण लाइन निर्माणका लागि शुरक्षाकर्मी तैनाथ गरेर भए पनि निर्माण अघि बढाउने घिसिङको दावी थियो । जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

निर्माण स्थलमा अहिले ठेकेदार कम्पनीले करिव तीन सय कामदार परिचालन गरी गरिरहेको छ । यो आयोजना नेपाल सरकार र प्राधिकरणको लगानी तथा चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ । आयोजना नसकिँदै पाँच वर्षको व्याज तिर्नु नपर्ने अवधि सकिएर ऋण तिर्ने समय सुरु भएको थियो । समयमै निर्माण अघि नबढेको भन्दै एक्जीम बैंकले म्याद थप्न आनाकानी गरेको थियो ।

तर, अहिले भने एक्जिम बैकले लोनको म्याद थपिसकेको आयोजनाका अधिकारीहरु बताउँछन् । चीनले एक्जीम बैंकमार्फत यो आयोजनामा ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment