Comments Add Comment

सल्लाघारीमा शेरबहादुर, कमल थापा र नारायणमानको पुत्ला जल्छ- महेश बस्नेत

'हेटौडा कोल्टे पर्छ, भक्तपुर यसकारण ठीक छ'

५ माघ, भक्तपुर । सूर्यविनायक नगरपालिकामा शुक्रबार बिहान भेटिएका एमाले सांसद एवं पूर्वमन्त्री महेश बस्नेत शनिबार सल्लाघारीमा पुत्ला जलाउने कार्यक्रमबारे कार्यकर्तासँग छलफल गर्दै थिए ।

कसको पुत्ला जलाउने ? जवाफमा सांसद बस्नेतले भने- ‘प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको पुत्ला जलाउन लागिएको हो । ३ नम्बर प्रदेशको राजधानी भक्तपुरमा नराखेर हेटौंडा लगिएकाले भोलि तीनैजनाको पुत्ला जल्छ अब ।’

‘भक्तपुरकै नेता नारायणमान बिजुक्छेको पुत्लाचाहिँ किन जलाउने नि ? उनी सरकारमा पनि छैनन्, उनले प्रदेशको राजधानी तोकेका हुन् र ?’

अनलाइनखबरको प्रश्नमा एमाले नेता बस्नेतले भने- ‘बिजुक्छेले भक्तपुरमा प्रदेशको राजधानी चाहिँदैन भने नि त । राजधानी हेटौंडा जानुमा उनको पनि भूमिका देखियो ।’

आखिर भक्तपुरमै प्रदेश नम्बर ३ को राजधानी चाहिँ किन चाहियो ? यसको जवाफ सांसद बस्नेतकै शब्दमाः

प्रदेशको अस्थायी मुकाम तोक्ने र प्रदेशका प्रमुखहरु तोक्ने कुरामा सरकारले अपरिपक्व र विनातयारी काम गर्‍यो । आन्दोलन आफैंले सिर्जना हुने काम गरियो । आन्दोलन रोक्नलाई कुनै वार्ता पनि नगर्ने काम सरकारले गरिरहेको छ । यसले जनताको आशा निराशामा परिणत गर्ने काम गरेको छ ।

हामीले भक्तपुरबाट ३ नम्बर प्रदेशको बासिन्दा भएर बोल्दाखेरि ३ नम्बर प्रदेशको मुकाम तोक्ने क्रममा ठूलो अन्याय भएको छ ।

सरकारद्वारा गठित कार्यदलले भक्तपुर, ललितपुर र काभ्रेमध्ये कुन उचित भन्ने मसिनो ढंगले उसले छलफल गर्‍यो । पूर्वाधारहरुको अवलोकन गर्‍यो । यसक्रममा भक्तपुरमा २५० रोपनी जग्गामा अवस्थित शिक्षा विभागको कार्यालय छ । यहाँ ७ वटा शाखा कार्यालयहरु अवस्थित छन् । दुई सयभन्दा बढी कोठाहरु छन् । यो ठाउँमा मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय बनाउन सकिन्छ ।

पछिल्लो राज्य पुनसंरचनाअनुसार शिक्षा विभाग छुट्टै कार्यालयका रुपमा राखिराख्न आवश्यक छैन भन्ने प्रतिवेदन दिएको सन्दर्भ छ । र, त्योसँगै त्यहाँबाट ५/६ सय मिटरको फरकमा कृषि विकास केन्द्रको तालिम केन्द्र बोडेमा छ । त्यहाँ प्रदेशभाको पार्लियामेन्ट बनाउन सकिन्छ भनेर प्रतिवेदन दिएको अवस्था छ । त्यसैले यहाँ प्रदेश ३ को राजधानी बनाउँदा राज्यले संरचना बनाउँदा लाग्ने खरबौं खर्च बच्छ । त्यो ठाउँ हेर्दैखेरि प्रदेशको राजधानी बनाउनलाई नै बनेको जस्तो देखिन्छ ।

यो ठाउँमा जनक शिक्षा सामाग्री केन्द्र लगायतका कार्यालयहरु पनि छन् । यो ठाउँ वातावरणका हिसाबले पनि स्वच्छ छ र पहुँचका हिसाबले पनि सिंहदरबारबाट ५/६ किलोमिटरमात्रै टाढा छ । ३ नम्बर प्रदेशका १३ जिल्लाका लागि भौगोलिक सुगमताका हिसाबले यो ठाउँ उपयुक्त छ ।

राजधानी दाबी गरेका काभ्रे र ललितपुरका साथीहरुले पनि भक्तपुरलाई प्रदेशको राजधानी बनाइयो भने हामी बोल्दैनौं भनेको अवस्था छ ।

तर, यति हुँदाहुँदै पनि वर्तमान सरकारका उपप्रधानमन्त्री कमल थापाजीले आफ्नो संकटमा परेको राजनीतिलाई बचाउने उद्देश्यले हठात हेटौडा निर्णय गर्नुभयो । हेटौडामा प्रदेशको राजधानी बनाउनेबारे अध्ययन समितिले भनेको थिएन । सिन्धुलीदेखि रसुवासम्मका साथीहरु कसैलाई पनि हेटौडा सेन्टर पर्दैन । मैले हेटौडाको निश्चित भूगोलको विरोध गर्न खोजेको होइन, तर १३ जिल्लाका मानिसहरुलाई हेटौडाभन्दा काठमाडौं चाँडो आइपुगिन्छ । हेटौडा धेरै कोल्टे पर्छ । यी सबै हिसाबले प्रदेशको राजधानी भक्तपुरलाई नै बनाउनुपर्छ ।

अन्यत्र पनि बिराटनगर कि धनकुटालाई प्रदेशको राजधानी बनाउने भन्नेबारेमा विवाद छ । इटहरीलाई विकल्पका रुपमा लिइराखिएको थियो । यसबारे सरकारले सामान्य छलफल पनि गरेन । त्यहाँ मुख्यमन्त्रीका दाबेदारहरुसँग एकचोटि बसेर छलफल गरेको भए समस्या हल हुन्थ्यो होला ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै प्रदेश नं ७ मा डोटी कि धनगढी भन्नेमा ठूलो आन्दोलन भइराखेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेकाहरुसँग बसेर छलफल गरेको भए त्यहाँ पनि समाधान निस्कन्थ्यो होला । तर, प्रधानमन्त्रीले आफ्नो राजनीति जोडिएको ठाउँमा पनि दीर्घकालीन ढंगले छलफल गरेको देखिएन ।

झण्डै दुई तिहाइ होल्ड गरेको वाम गठबन्धन र झण्डै बहुमत होल्ड गरेर बसेको एमालेसँग उहाँहरुको कुनै छलफल सहकार्य छैन । र, प्रदेश प्रमुखहरु तोक्ने कुरामा राजनीतिक दलसँग आवद्धता नरहेकाहरुलाई तोक्नुपर्नेमा चुनावको अगाडि पार्टी प्रवेश गरेका मान्छेहरु, मेयरका उम्मदेवार भइसकेका मान्छेहरुलाई प्रदेश प्रमुख बनाइएको छ ।

तर, फेरि पनि हाम्रो दायित्व के हो भने परिस्थितिलाई भड्काएर होइन, सम्हालेर लानुपर्ने दायित्व हाम्रो सामु छ । र, भोलि यी समस्यालाई हल गर्ने कुरामा हाम्रो भूमिका यही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment