Comments Add Comment

काठमाडौंमा जाम हुँदा काभ्रेमा नागरिकता पाइन्न !

५ माघ, धुलिखेल । शुक्रबार विहान १० बज्नुअघि नै विकट डाँडाँपारीका उत्तरबहादुर थापामगर छोराको नागरिकता बनाउन धुलिखेल आए । उनी जिल्ला प्रशासन कार्यालयमा पुग्दा नागरिकता बनाउन आएकाहरुको भीड थियो ।

११ बज्दासम्म त्यो भीड रत्ति पनि घटेन, बरु बढ्दै गयो । शोधखोज गर्दा उनले थाहा पाए, अधिकृतदेेखि प्रमुख जिल्ला अधिकारीसम्म कोही पनि आइपुगेकै रहेनछन् ।

‘गाउँगाउँमा सरकार भन्ने नारा छ, यहाँ दुई दिनको बाटो हिँडेर आउँदा पनि सरहरु आइपुग्नु भा’को रै’नछ’ उत्तरबहादुरले प्रश्न गरे, ‘एउटा नागरिकता बनाउन कति दिन लाग्ने हो ?’

बेथानचोकका सुब्बा श्रेष्ठको पनि गुनासो उस्तै छ ।

‘हामी त्यति टाढाबाट आयौँ त,र हकिम सा’बहरु आउनु भा’को छैन’ उनले अनलाइनखबरसँग भने, ‘सिंहदरबार गाउँ गाउँ पुगेको छ रे ! खै कुन गाउँ पुगेछ ।’

उत्तरबहादुर र सुब्बा श्रेष्ठ त प्रतिनिधि पात्र मात्रै हुन् । राजधानीसँगै सीमा जोडिएको भए पनि काभ्रेमा कर्मचारीहरुले मोफसलमा खटिएको सेवा सुविधाहरु लिने गरेका छन् ।

तर, सेवा भने चुस्त छैन । ‘अरु कार्यालयलाई निगरानी गर्ने अधिकार पाएको कार्यालयकै यस्तो हविगत भएपछि अन्यत्र के आश गर्नु ?’ पनौतीका उत्तम खत्रीले दुखेसो गरे ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, सहायक प्रजिअ किरण थापा र अधिकृतहरु सीताराम थापा, झपेन्द्र खरेल र रवीनकुमार राई ११ बजेपछि मात्रै कार्यालय पुगेका थिए । शुक्रबार भएकाले करिब ३ घण्टा मात्र काम गरेपछि उनीहरु निस्किए ।

राजधानीबाट ३० किलोमिटरको दुरीमा पर्ने धुलिखेलमा रहेका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरुका लागि सवारीसाधन वा आवास सुविधा उपलब्ध छ । तर अधिकांश राजधानीमै बस्छन् । काठमाडौंबाट आउँदा एक छिन मात्र बढी जाम पर्‍यो भने धुलिखेल समय पुग्दैनन्, जसको मारमा सेवाग्राही पर्छन् ।

प्रमुख जिल्ला अधिकारी सिम्खडाले काठमाडौंबाट आउने क्रममा जाम हुँदा केही ढिला भएको स्वीकार गरे ।

प्राय सबै कर्मचारी राजधानीबाट आउने भएकाले जामको समस्यामा पर्ने गरेको उनले बताए । ‘जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यालयहरु नापी, मालपोत र हाम्रै प्रशासन कार्यालय लगायतको कार्यालयका कर्मचारहरुलाई नियमित सचेत बनाएको छौं, जनता सेवा कुनै समस्या आउन नदिने हाम्रो उद्देश्य हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment