Comments Add Comment

सप्तरीको पूर्वी भेगमा अर्नाको आतंक, सयौं विघा गहुँबाली नष्ट

७ माघ, सप्तरी । कञ्चनरुप नगरपालिका ४ का प्रभुलाल पासवानले यसवर्ष धान बेचेर गहुँ खेती गरे । गहुँ उम्रिएको थियो, पम्पसेटमार्फत् सिञ्चाईं गर्ने उनको योजना भने सफल हुन सकेन । प्रभुलालले १० कठ्ठा जग्गामा लगाएको गहुँ उम्रनेबित्तिकै कोशी टपु वन्यजन्तु आरक्षबाट आएको अर्नाले सखाप पारेको छ ।

सोही ठाउँका श्यामा मण्डलको ७ कठ्ठा, गर्भ पासवानको १० कठ्ठा, बद्री पासवानको एक बिघा, रामगुलाम पासवानको १० कठ्ठामा लगाएको गहुँबाली पनि अर्नाले नष्ट गरेको छ । कञ्चनरुप ८ का रवि पासवानको १ विघा १२ कठ्ठा, लक्ष्मी ठाकुरको ८ कठ्ठा, सुदर्शन श्रेष्ठको १५ कठ्ठा र पृथ्वी श्रेष्ठको ५ कठ्ठा जग्गाको गहुँबाली पनि अर्नाले खाइदिएको छ ।

‘धान बेचेर गहुँको बीऊ र मलखाद किनेको थिएँ’, कञ्चनरुप ८ का कृषक रवि पासवानले भने, ‘गहुँ उम्रिसकेपछि राम्रो उत्पादन हुने विश्वास गरेका थियौं । तर कोशी टप्पुबाट आएको अर्नाले सखापै पार्‍यो ।’

पछिल्लो एक सातामा सप्तरीको पूर्वी भेगमा अर्ना आतंक कायम रहेको छ । रातिमा आउने अर्नाले किसानले लगाएको गहुँबाली नष्ट गरेको छ । किसानहरुका अनुसार ५ सय भन्दा बढी किसानको सयौं विघामा लगाइएको गहुँ बाली अर्नाले खाएर नष्ट गरेको छ ।

कञ्चनरुप नगरपालिकाकै १, २, ३, ४, ५, ६, ८ र १० नम्बर वडाका किसानहरु अर्नाबाट पीडित बनेका छन् । यसबाहेक सप्तकोसी नगरपालिकाको मध्यवर्ती क्षेत्रभित्र पर्ने जमिनमा किसानहरूले सयौं विघामा लगाएको गहुँ बाली अर्नाले खाएर तथा कुल्चेर नष्ट गरेका छ । ‘यो बर्ष मात्र होइन्, प्रत्येक बर्ष अर्ना र हात्ती आतंकले हामी पीडित भइरहेका छौं, तर सम्बन्धित निकायले कुनै चासो लिएको छैन’ पासवानले भने ।

नगर प्रमुखकै चल्दैन कुरा

जनावरले बारम्बार दुःख दिएपछि किसानहरुले नगरपालिका प्रमुखसहित जनप्रतिनिधिसँग गुनासो गरेका छन् । कृषक रवि पासवानको नेतृत्वमा पीडित किसानहरुको समूहले नगरपालिका प्रमुख बसन्त मिश्रसंग जंगली जनावरले पुर्‍याएको क्षतिका बारेमा जानकारी गराउँदै कुनै कदम नचाले आन्दोलनमा जाने चेतावनी दिए ।

त्यसपछि प्रमुख मिश्र, उपप्रमुख निरु पोखरेल, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहान र पत्रकारको टोलीले अर्नाले नष्ट गरेको गहुँ खेतको निरीक्षण गरेको थियो ।

निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै प्रमुख मिश्रले जंगली जनावरबाट हुने गरेको क्षतिको बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदा कुनै सुनवाई नभएको बताए । उनले सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताउँदै आफूहरुले यसका लागि योजना बनाएर अघि बढ्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment