Comments Add Comment

प्रदेश ५ मा दुई सांसद अनुपस्थित, बलदेवले गराए सपथ (फोटो फिचर)

७ माघ, बुटवल । बुटवल उद्योग वाणिज्य संघको हलमा आइतबार प्रदेश ५ का सांसदहरुले सपथ लिएका छन् । बिहान साढे १० बजे भनिएको कार्यक्रम १२ बजेपछि शुरु भएको थियो ।

प्रदेश प्रमुख उमाकान्त झाले रुपन्देही व्यापार संघको सचिवालयमा पदभार ग्रहण गरेलगत्तै बुटवल उद्योग वाणिज्य संघको हलमा पुगेका थिए ।

पदबहालीपछि आफ्नै कार्यकक्षमा बोल्दै झाले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीनवटै तहको निर्वाचनपछि अब संविधानले दिएका जनताका अधिकारलाई संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

झाले जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई सपथ दिलाए । त्यसलगत्तै बलदेवले अन्य प्रदेश सांसदलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ सांसद रहेका छन् । सपथमा २ सांसद अनुपस्थित भएका थिए । उनीहरु कार्यक्रम सकिएर परिचय गर्नेबेलासम्म पनि आएका थिएनन् ।

तत्कालका लागि प्रदेशसभा बैठक बुटवल उद्योग वाणिज्य संघको हललाई नै उपयोग गरिनेछ । संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राखिने छ । प्रदेश मन्त्रालय भने श्रम कार्यालयको छ तले भवनमा राखिने जनाइएको छ ।

 

तस्वीरहरु : कपिल ज्ञवाली/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment