Comments Add Comment

भित्र सांसदको सपथ, बाहिर राजधानीको मतभेद !

७ माघ, विराटनगर । वीरेन्द्र सभागृहभित्र आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ चलिरहँदा सभाहल बाहिर भने सर्वसाधारणले राजधानीबारे बहस र विवाद गरिरहेका थिए ।

सभाहल बाहिरको विराट खाजा घर र शाक्य कोल्ड स्टोरमा चिया खानेदेखि लहरै प्रहरीको घेरा बाहिर उभिएका सर्वसाधारणसम्म राजधानीकै चर्चा सुनिन्थ्यो ।

‘विराटनगरमै सबै ठूला नेताहरु छन् र यहीँ राजधानी हुन्छ’, विराट खाजा घरमा बसेका बिराटनगर ११ का बताउने कमल अधिकारीले तर्क गरे ।

अधिकारीसँगैका आफूलाई विराटनगर नजिकैको कटहरीका स्थानीय बताउने अर्सद अलीले अधिकारीको तर्कमा थप बल दिँदै भने, ‘सर्वोच्च अदालत (उच्च अदालत) भएको र एयरपोर्टसमेत भएकाले विराटनगर नै प्रदेश एकको स्थायी राजधानी हुन्छ ।’

विराटनगर एमालेका नेता सागर थापा पनि एमाले सुनसरीका कार्यकर्तालाई इटहरी र धरान नभएर विराटनर नै किन राजधानी भयो भनेर आफ्नै दर्शन दिइरहेका थिए ।

‘डकुमेन्ट जसको बलियो हो, उसैले राजधानी पाउने हो’, थापा भन्दै थिए, ‘विराटनगरको डकुमेन्ट सबैभन्दा बलियो भयो र विराटनगर नै राजधानी भयो ।’

वीरेन्द्र सभागृहकको मुखैमा रहेको सुरक्षा अस्पतालको गेटै छेउमा उभिएका इटहरीका व्यापारिक तथा नागरिक समाजका नेताहरु पनि राजधानीकै बहसमा थिए ।

‘इटहरी नै किन प्रदेशको राजधानी ?’ भन्ने लिखित कार्यपत्र बोकेर उभिएका व्यापारी र नेताहरु सांसदहरुलाई कार्यपत्र र बधाइ सँगसँगै दिन कुरिरहेका थिए ।

इटहरीमा पर्याप्त सार्वजनिक जग्गा भएको र उपलब्ध सार्वजनिक कार्यालयहरुका साथै प्रदेश एकको केन्द्रविन्दु पनि इटहरी नै भएको भन्ने तर्कसहितको कार्यपत्र बोकेका थिए उनीहरुले ।

उद्योग वाणिज्य संघ इटहरीका नेताहरु शैलेश विष्ट र टंक खनालका साथै नागरिक समाज इटहरी अध्यक्ष कमलेश पौडेलसमेत त्यहाँ देखिन्थे ।

इटहरीका नेताहरु कांग्रेस सरकारले विराटनगरलाई अस्थायी राजधानी बनाएको भन्दै असन्तुष्टि पोख्दैथिए । ‘विराटनगर अस्थायी मुकाम कांग्रेसकै कारणले मात्रै भएको हो, वामपन्थीहरु सत्तामा भएको भए इटहरी नै राजधानी हुन्थ्यो’, अनेरास्ववियुका सुनसरी अध्यक्ष जीबी गजलले तर्क गरे, ‘ नेकपा एमालेले आफ्नो पार्टीको प्रदेश कार्यालय इटहरी राखेर राजधानीको पूर्वाभ्यास गरिसकेको छ ।’

तर इटहरीका एमालेले प्रदेशको राजधानी इटहरीलाई बनाइनुपर्ने गफ गरिरहेका बेला सभाहल बाहिरकै अर्को कुनामा भेटिए धनकुटाका एमाले नेता दीपक बुढाथोकी । बुढाथोकीले संघीयताको मर्म विकेन्द्रीकरणका साथै पछाडि परेको क्षेत्र र भूगोललाई बढाउनुपर्ने भएकाले धनकुटा प्रदेश १ को राजधानी हुन लायक भएको बताए ।

‘धनकुटा हिमाल, पहाड र तराईको सबै क्षेत्रलाई पायक पर्छ’, धनकुटे एमाले नेता बुढाथोकीको तर्क थियो, ‘तराईमा त विकास र सुगमता छँदैछ नि, अब पहाडी क्षेत्रको विकासका लागि धनकुटा राजधानी हुनुपर्छ ।’

यही भिडभाडमा भेटिए, धरानका विद्यार्थी नेता नवराज राई । उनले राजधानीको बहस सडकमा हैन, अब प्रदेश सदनमा हुनुपर्ने तर्क दिए र, राजधानी बनाँदा पुराना शहरलाई नै मान्यता दिने कि सम्पूर्ण पूर्वाधारयुक्त नयाँ शहर बनाउने संकल्प गर्ने भन्ने निर्क्योल हुनुपर्ने राईको तर्क थियो ।

‘हामीले यसरी सडकमा राजधानीको बहस गर्नु भन्दा सदनमै धाराबाहिक बहस भएको राम्रो हो’, सभागृह बाहिर राजधानीकै सवालमा गफिँदै गरेका राईले भने, ‘प्रदेश सभामा दुई तिहाइ जसले पुर्‍याउँछ, त्यहीँ नै राजधानी हुने भएकाले सडकभन्दा सदनको बहस महत्वपूर्ण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment