Comments Add Comment

भलिबलका लागि उद्योग वाणिज्य संघको १ करोड २० लाख सहयोग

७ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीयदेखि राष्ट्रियस्तरसम्मको भलिबल प्रतियोगिता सञ्चालनका लागि आइतबार नेपाल भलिबल संघसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार स्थानीय, प्रदेश र राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघले भलिबल संघललाई १ करोड २० लाख रुपैयाँ बजेट उपलब्ध गराउनेछ ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एफएनसीसीआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तीन चरणमा आयोजना हुनेछ ।

स्थानीयस्तरदेखि भलिबल खेलको विकासका लागि स्थानीय तहका टोलीहरु समावेश गरेर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

छनोट प्रतियोगिता माघ २५ देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । यसबाट छनोट भएका टोलीले प्रदेशस्तरको छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशस्तरको छनोट प्रतियोगिता फागुन १० देखि चैत १० गतेसम्म आयोजना हुनेछ ।

प्रदेशस्तरबाट छनोट भएका सात प्रदेशका महिला तथा पुरुष टोलीहरुबीच राष्ट्रियस्तरको प्रतियोगिता चैत २० देखि २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुने प्रतियोगिताका सहसंयोजक तथा नेपाल भलिबल संघका सचिव जितेन्द्र चन्दले जानकारी दिए ।

चैत २८ गते उद्योग वाणिज्य दिवसको उपलक्ष्यमा प्रतियोगिताको समापन गरिनेछ । जिल्लास्तरमा नकआउट फम्र्याटमा प्रतियोगिता हुनेछ भने त्यसपछि प्रदेश र राष्ट्रिय स्तरमा लिगकम नकआउट फम्र्याटको प्रतियोगिता सञ्चालन गरिनेछ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघको सामाजिक उत्तरदायित्वको अवधारणा अन्तर्गत राष्ट्रिय खेलसमेत रहेको भलिबलमा लगानी गरिएको जानकारी दिइन् । नेपालमा सर्वव्यापी रहेको भलिबल खेलको राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तर बढाउनसमेत सहयोग गर्ने आश्वासन अध्यक्ष राणाले दिइन् ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको बिकासका लागि प्रतियोगितामा मात्र नभई पूर्वाधार बिकासमा समेत सहकार्य गर्न निजी क्षेत्रलाई आहृवान गरे । मन्त्री केसीले भलिबलमा मात्र नभइ सबै खेलमा निजी क्षेत्रको लगानी हुनुपर्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदमा निजी क्षेत्रको लगानी अत्यावश्यक रहेकोमा त्यसका लागि निजी क्षेत्रकै ठूलो संस्थाको लगानी आउनु नेपाली खेलक्षेत्रका लागि कोशेढुंगा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment