+
+

‘मन्त्री हेर्न विराटनगरमै पाइन्छ, काठमाडाैं त घुम्न जाने हो’

संघीयताबारे तीन ज्येष्ठ नागरिकको बुझाइ

विराट अनुपम विराट अनुपम
२०७४ माघ ८ गते ८:३३
प्रदेशसभाका सांसद् हेर्न विराटनगरमा उपस्थित रिहाद उदिन, महोमद इसा र महोमद आमिर

८ माघ, विराटनगर । आइतबार अपराह्न १२ बजेपछि विराटनगरको वीरेन्द्र सभागृहबाट सपथ खाएर निस्कँदै थिए प्रदेश सांसदहरु । प्रदेश १ को पहिलो मुख्यमन्त्रीका दाबेदारद्वय शेरधन राई र भीम आचार्यलाई बाहिरिनासाथ माला लगाइदिनेहरु बाक्लै भेटिए ।

सभागृह बाहिर प्रदेश सांसदको स्वागतमा उभिएका लहरै समर्थकहरु पनि थिए । र, यी सबै दृश्यहरु नजिकबाट नियालिरहेका थिए ज्येष्ठ नागरिकहरु– रिहाद उदिन, महोमद इसा र महोमद आमिर ।

वीरेन्द्र सभागृहको प्रवेशद्धारको एक कुनामा तीन जनामात्रै बस्न मिल्ने स्ल्याबमा बसेका थिए रिहाद र उदिनसहितका विराटनगर र आसपासका मुस्लिम समुदायका ५० नाघेका यी तीन ज्येष्ठ नागरिक ।

‘यहाँ किन आउनुभएको ?’

रिहाद उदिनले जवाफ दिए, ‘विराटनगर राजधानी भएपछि सांसदहरु आएको हेर्न आएको ।’

‘विराटनगरमा सांसदहरु सधैं बस्छन् त ?’

‘यहीँ त बस्छन् । नबस्ने भए किन यहीँ धेरै आन्दोलनबिना राजधानी आयो ?’

विराटनगर–९ घर बताउने रिहादले दिएको जवाफमा थप जोड दिँदै महोमद इसाले थपे, ‘सबै ठूला नेताले बिराटनगरलाई माने, सबै ठुल्ठुलो नेताको घर विराटनगरमै त छ ।’

विराटनगर प्रदेशको अस्थायी मुकाम भएको खुशी बाँडेका स्थानीय रिहाद र महोमद भन्दा भिन्न आनन्द छ विराटनगर छेवैको कटहरी–३ का स्थानिय महोमद आमिरको । आज सांसदहरुले ‘कसम’ मात्रै खाएको तर पछि यिनै सांसदहरु मध्येबाट मन्त्री र मुख्यमन्त्री पनि बन्ने आमिरले बताए ।

मिजासिला आमिरले भने ,‘अब मन्त्रीहरु हेर्न काठमाण्डौ जानुपर्दैन, मन्त्रीहरु आफैं हाम्रो नजदिक (नजिक) आए,’ आमिरले विराटनगरमा बस्दा नेता र मन्त्रीहरु देखेको तर एकै ठाँउमा धेरै मन्त्रीहरु नदेखेको बताए ।

‘विराटनगरमा मन्त्रीहरु काम पर्दा मात्रै एयरपोर्टबाट आउँथे’, आमिरले सभागृहबाट निस्किरहेका फूलमाला लगाएका प्रदेश सांसदहरुको लहरतर्फ हेर्दै भने, ‘अब विराटनगर नै प्रदेश राजधानी भएपछि मन्त्रीहरु सधैं यतै बस्छन् ।’

मन्त्रीहरु आफ्नै ठाँउमा आउँदा बस्दा बजेट आउने र विकास हुने बुझेका रिहाद उदिनले इसाको कुरामा थप्दै भने- अब राजधानी त आयो, राजधानीसँगै विकास पनि त आँउछ नि

मन्त्रीहरु अब आफ्नै शहरमा आउने मात्रै हैन, यतै बस्ने भन्ने सुनेका रिहाद उदिन र महोमद इसाका धेरै मागहरु पनि छैनन् मन्त्रीहरुसँग । ‘हामीले गरेको दुःख मन्त्रीलाई देखाउने र विकास ल्याउने हाम्रो माग छ’, महोमद इसाले उत्साहित हुँदै भने, ‘मन्त्रीहरु यही ठाँउमा बसेपछि त विकास हुन्छ नि । बजेट पनि आउँछ । कामहरु हुन्छन् । चिनेको मान्छे नै मन्त्री पनि हुन्छ ।’

मन्त्रीहरु आफ्नै ठाँउमा आउँदा बस्दा बजेट आउने र विकास हुने बुझेका रिहाद उदिनले इसाको कुरामा थप्दै भने, ‘अब राजधानी त आयो, राजधानीसँगै विकास पनि त आँउछ नि ।’

विकास मात्रै हैन, आफ्ना सरकारी कामहरु पनि अब सजिलै हुन्छ भन्ने छ यी मुस्लिम समुदायका ज्येठ नागरिकहरुलाई ।

‘हज जाने कुरा पनि विराटनगरबाटै हुन्छ होला’, रिहाद उदिनले सँगैका साथीहरुसँग मुस्काउँदै भने, ‘पासपोर्ट पनि विराटनगरमै बन्छ होला ।’

असजिलो गरी नेपाली बोलेका महोमद आमिर भने विराटनगर प्रदेशको राजधानी भएपछि विराटनगरमै सबै काम हुने आशामा छन् । ‘अब सबै काम विराटनगरमै हुन्छ भन्ने सुनेको छु’, महोमद आमिरले थपे, ‘सबै सरकारी काम यतै भएपछि काठमाण्डौ त घुम्न मात्रै त जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?