Comments Add Comment

मनोज गजुरेल र मीनाः सहमतिमै बिहे, सहमतिमै डिभोर्स

छोडपत्रपछि छोराछोरी सम्झेर विवाद नगर्ने सहमति

८ माघ, काठमाडौं । २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित हास्य कलाकार मनोज गजुरेल र फेसन डिजाइनर मीना ढकालले पारपाचुके गरेका छन् ।

उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् ।

कसैको विवाह वा सम्बन्धविच्छेद नितान्त व्यक्तिगत मामिला हुँदाहुँदै पनि यो जोडीको सम्बन्धविच्छेदबारे नेपाली मिडियाले अलि बढी नै खोतलखातल गरिरहेका छन् ।

आपसी समझदारी अनुसार गरिएको पारपाचुकेपछि मीनाले अंशबण्डावापत मनोज गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी छन् । अहिले मीना आफ्नी छोरीसँग बस्छिन् भने मनोज छोरासँग छन् ।

पारिवारिक समहमतिमै पारपाचुके गरेका मनोज र मीनाबीच मिडियामा एकअर्काप्रति कुनै आरोप-प्रत्यारोप नलगाउने सहमति समेत भएको छ ।

विकसित देशमा प्रेम र विवाह निजी मामला मानिन्छन् । यही कारण चर्चित सेलिब्रेटीका विवाह र पारपाचुकेका सामान्य समाचार बने पनि त्यसले खासै ठूलो बहस निम्त्याउँदैनन् । तर, नेपालमा प्रेम, विवाह र बिछोडका घटनाहरु ठूलै सामाजिक मुद्दा बन्ने गरेका कारण हुन सक्छ, मनोज-मीनाको दाम्पत्य जीवनका विषयमा पनि विभिन्न किसिमका टीका टिप्पणी सुरु भएका छन् ।

सामान्य पारिवारिक विषयले बजार तताउन थालेपछि अनलाइनखबरले मनोज गजुरेल र मीना ढकाललाई भिन्दाभिन्दै भेटेर उनीहरुवीच पारपाचुके हुनुको कारण र भविश्यका योजनाबारे कुराकानी गरेको छ ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा मीनाले आफैंले मनोज गजुरेलसँग डिभोर्स मागेको र आफूले पाएको अंशप्रति सन्तुष्ट रहेको बताइन् । मनोजले पनि मीनाले भर्खरै खोलेको बुटिकको प्रगतिको कामना गरे ।

मैले नै पटक-पटक डिभोर्स मागेकी हुँ: मीना ढकाल

अचानक पारपाचुकेको खबर सुन्नुपर्‍यो । चर्चित कलाकारकी श्रीमती भएर बाँच्नु राम्रो कि एक्लो जीवन बाँच्नु राम्रो ?

बाहिर हेर्दा म कलाकारकी श्रीमती, राम्रै जीवन होला भन्ने लाग्दो हो । तर, म १८ वर्षदेखि भिन्दै बस्न चाहन्थें । मैले पटक-पटक डिभोर्स मागेको पनि हो । तर, उहाँले मान्नु भएन । उहाँले समाजले के भन्छ, परिवारले के भन्छ, मेरो सार्वजनिक जीवन छ, त्यो बरबाद हुन्छ भनेर सायद डराउनुहुन्थ्यो । बाहिर हामी सर्वाजनिक कार्यक्रमा पनि जान्थ्यौं । तर, हामी दुबै खुसी थिएनौं ।

खुसी नहुने कारण के थियो ?

हामीबीच कुरा मिल्दैनथ्यो । उहाँ अति व्यस्त मानिस । मलाई समय दिन सक्नुहुन्थ्यो । उहाँ अलि व्यस्त मात्रै होइन, अस्तव्यस्त पनि हुनुहुन्थ्यो । कलाकार भए पनि चिटिक्क परेर हिँड्नुपर्छ, आफ्नो स्टाटस अनुसार चल्नुपर्छ भन्ने मेरो भनाइ रहन्थ्यो । उहाँ त्यो गर्न चाहनुहुन्नथ्यो । मलाई त्यो मन पर्दैनथ्यो ।

मैले आफ्नो रुचि अनुसार फेसन डिजाइन पढें । यसले मलाई झन् बढी ‘ड्रेस सेन्स’ दियो । मैले सिकेको कुरा उहाँलाई सिकाउने बुझाउने प्रयास गर्थें । तर, कहिल्यै फलो गर्नुहुन्नथ्यो । त्यसले पनि हाम्रो झगडा हुन्थ्यो ।

उहाँको काम हास्यव्यङ्ग्य सिर्जना गर्ने हो, ड्रेस सेन्स हुनैपर्छ भन्ने छ र ?

म सानैदेखि एक्टिभ युवती हुँ । मेरो परिवारमा अहिले पनि मलाई छोराजस्तै हक्की भन्ने गरिन्छ । म सिर्जनात्मक काममा पनि निकै रुचि राख्छु । केही समयअघि युटुबमा कभर सङ्ग गाएकी थिएँ । यो मैले किन भनेकी हुँ भने उहाँले बोलेका-लेखेका कुरामा म सुझाव सल्लाह दिन्थेँ । मैले भन्न खोजेको के भने कलाकार भएपछि सबैले माया गर्छन्, त्यसअनुसारको स्टाण्डर्ड मेन्टेन गर्नुपर्छ भन्ने कुरा हुन्थ्यो ।

यति सानो कारणले मन नमिल्ने भन्ने हुन्थ्यो र ?

म अलि रिसाउँछु । रीस उठेपछि म अलि कराउँछु । तर, यो रीस केहीछिनका लागि मात्रै हुन्थ्यो । तर, उहाँले यसलाई इस्यु बनाउनु हुन्थ्यो । मलाई गलत हो भन्ने बनाउने प्रयास गर्नुहुन्थ्यो । यसले असमझदारी सिर्जना हुन्थ्यो । यसरी झगडा गरेर बस्नुभन्दा भिन्दै बस्नु उपयुक्त हुन्छ भन्ने ठानेर डिभोर्स गरौं भन्ने गरेकी थिएँ । तर, उहाँले कहिल्यै मान्नुभएन ।

यत्रो वर्ष मिल्नुभयो, अहिले यो उमेरमा आएर छुट्टै बस्नुपर्ने बाध्यता के थियो ? मनोजजीले अहिले आएर छुट्टै बस्न सहमत हुनुको कारणचाहिँ के थियो ?

वास्तवमा हामीबीच प्रेम थिएन । किन थिएन भन्ने कुरातिर म जान चाहन्नँ । उहाँका कमजोरी पनि खोतल्न चाहन्नँ । तर, पछिल्लो केही वर्ष म रिसाउनुको कारण म मानसिक रोगी भएर हो भन्ने उहाँलाई लाग्न थालेको थियो । म रिसाउने भएका कारण रोग नै हो भन्ने कुरामा म पनि सहमत भएकी थिएँ । त्यही कारण दुई वर्ष मैले मानसिक रोगको औषधि खाएँ । तर, पछि थाहा भयो, मनोजजीले आफ्नो प्रभावमा पारेर डाक्टरलाई म मानसिक रोगी भएकाले औषधि खानुपर्छ भन्न लगाउनु भएको रहेछ ।

यो कुरा मलाई ग्रान्डी अस्पताल गएपछि थाहा भयो । त्यहाँ उहाँले देखाउने डाक्टरलाई भन्दा फरक डाक्टरलाई मैले चेकअप गराएँ । ती डाक्टरले तपाईंलाई मानसिक समस्या त हो, तर यो अरुलाई हुनेजस्तै सामान्य मानसिक डिस्अर्डर मात्रै हो । तपाईंले जुन औषधि खाइरहनुभएको छ, त्यसले तपाईंलाई थप दुःख दिन्छ भनेर बताउनुभयो ।

तर, उहाँ यो कुरा मान्न तयार हुनुभएन । म आफूलाई कुनै पनि मानसिक समस्या भएको व्यक्ति मान्दिनँ । मेरो चित्त दुखाइ पनि यही हो ।

म मानसिक रोगीका रुपमा उहाँकी श्रीमती भएर बस्ने कि छुट्टै बस्ने भनेर डाक्टर र परिवारको सल्लाह लिएपछि मैले अब चाहिँ डिभोर्स गर्नैपर्छ भनेर अड्डी लिएँ । यो कुरापछि भने हामी समझदारी मै छुट्टिएका हौं ।

छुटि्टँदा तपाईले पाउनुपर्ने अधिकार पाउनुभयो ?

पाएँ । पाएको सम्पत्तिप्रति म सन्तुष्ट छु । यो मैले पाउनुपर्दथ्यो । उहाँको घर र छोराछोरी सम्हालेका कारण उहाँले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुभयो । त्यसको पारिश्रमिकवापत मैले ६५ लाख पाएकी हुँ ।

तपाईंले १ करोड २५ लाख रुपैयाँ पाउनुभएको कुरा आएको थियो नि ?

६० लाख मेरो होइन, छोरीको हो । छोरी मसँग भएका कारण उनले पाउनुपर्ने अंश पाएकी हुन् । मैले पाएको ६५ लाख मात्रै हो ।

समझदारीमा बाहिर एक अर्कालाई आरोप नलगाउने सहमति भएर छुट्टिनुभयो । तर, अहिले मनोजजीसँग साटो फेर्न थाल्नुभएको हो ?

जब बाहिर म मानसिक रोगी हुँ र मैले उहाँलाई यत्रो वर्षसम्म दुःख दिएकी थिएँ भनेर आफ्ना साथी-भाइसँग भनेको कुरा मसम्म आउन थाल्यो, त्यसपछि मैले सत्य कुरा बोल्नुपर्छ भन्ने लाग्यो ।

उहाँलाई थाहा छैन होला, उहाँका साथीभाइ मेरा पनि साथीभाइ नै हुन् । उहाँका कुरा मसम्म आइपुग्छन् । म मानसिक रोगी हुँ भन्ने कुरा जुन प्रमाणित गर्ने प्रयास गरिरहनुभएको छ, त्यसको प्रतिकार मात्रै गरेकी हुँ । अरु क्यारेक्टरका कुरा म बाहिर ल्याउन चाहन्न । किनभने त्यसले उहाँलाई पनि फाइदा गर्दैन, मलाई पनि गर्दैन ।

उहाँ चर्चित व्यक्ति हुनुहोला, तर मेरो दुःख मसँगै छ । ती कुरा पनि गर्न चाहन्न । बस् मैले चाहेको के मात्रै हो भने म उहाँलाई म मानसिक रोगी भएको प्रमाणित गर्न चुनौति दिन्छु । यस विषयमा मैले डाक्टरहरुसँग परामर्श गरिरहेकी छु र म स्वस्थ छु । यो समयले पनि प्रमाणित गर्छ ।

२२ वर्षसँगै बस्नुभयो, मनोजजीको कुन कुन कुरा सम्झनु हुन्छ ?

खासमा, न उहाँ मलाई माया गर्नुहुन्थ्यो न म उहाँलाई माया गर्थे । हामीबीच लोग्ने-स्वास्नीको सम्बन्ध मात्रै थियो, प्रेमको थिएन । तर, अन्तिम दिन जब हामी छुट्टिँदै थियौं, उहाँले भन्नुभयो, ‘हिजो जे जे भयो, त्यसमा तिम्रो पनि गल्ती भयो, मेरा पनि गल्ती भए । अब प्रेमपूर्वक बाँचौं, तिम्रो प्रगति होस् ।’

यसो भन्दै गर्दा उहाँ रुनु पनि भयो । यत्रो वर्षमा पहिलोपल्ट उहाँले आफ्ना गल्ती महसुस गर्नु भएको हो कि जस्तो लाग्यो । त्यो कुराले मलाई राहत दिएको छ ।

बाँकी अरु कुनै पनि कुरा म सम्झन चाहन्न । यसको अर्थ म उहाँलाई घृणा गर्छु भन्ने होइन । म वहाँलाई न माया गर्छु, न घृणा । बस् म उहाँलाई अरु पब्लिकले जस्तै एउटा कलाकार मान्छु ।

अब कुनै व्यक्तिले विवाहको प्रस्ताव राख्यो भने नि ?

मैले कतै पढेकी छु, ‘लोग्ने व्यक्ति होइन, प्रवृत्ति हो ।’ म यो लोग्ने प्रवृत्तिको विरोधी हुँ । फेरि म त्यही जञ्जालमा फस्न चाहन्नँ । अब लोग्नेमान्छे साथी हुन सक्छन्, दाजु हुन सक्छन् तर लोग्ने हुन सक्दैनन् । म एक्लै बाँच्न सक्षम छु ।

एउटी महिलालाई बाँच्नका लागि लोग्ने मान्छेको साहारा चाहिन्छ भन्ने कुरा गलत हो । मेरी छोरी मसँग भएकाले मेरो पीडा उनले बुझेकी छन् र उनले मलाई सधैंं साथ दिन्छिन् भन्ने लाग्छ ।

अब के गर्न चाहनुहुन्छ ?

‘आमा-छोरी’ नामक बुटिक खोलेकी छु । म फेसन डिजाइनप्रति रुचि राख्ने र यही विषय पढेकी हुनाले म यसैमा नाम कमाउन चाहन्छु ।

मैले मीनालाई घरबाट निकालेको होइन: मनोज गजुरेल

मीनाजीसँग तपाईंहरुको सुरुदेखि नै मन नमिल्ने रहेछ, अहिलेसम्म सँगै बस्ने बाध्यता के थियो ?

परिवारमा सामान्य झगडा सबैका हुन्छन् । हाम्रो पनि हुन्थ्यो । उनी असाध्यै रिसाउँथिन् । यसले मलाई असाध्यै तनाब हुन्थ्यो । तर, नेपाली समाजमा स-साना कुरामा डिभोर्स गर्नु राम्रो हुँदैन, उनीसँग पो मेरो मन मिल्दैनथ्यो । उनका बा-आमाले मलाई माया गर्नुहुन्थ्यो । उहाँहरु मेरी छोरी अलि रिसाउँछिन्, एकजना आगो हुँदा अर्को पानी हुनुपर्छ भनेर सम्झाउनु हुन्थ्यो ।

अर्को कुरा मेरो पेशाको प्रवृत्ति, प्रकृति र परिवेशले पनि त्यो गर्न दिँदैनथ्यो । म परिवारका कुरा मेरा दर्शक र पाठकसम्म पुगोस् भन्ने चाहन्न थिएँ । त्यसले झगडा भएको अवस्थामा बाहिर निस्कन्थेँ । वा ठूलो आवाजमा क्यासेट बजाउँथें । यसो गर्दा समस्या समाधान हुन्छ भन्ने मेरो सोच थियो ।

मीनाजीको आरोप छ, तपाईंसँग अरूका लागि समय हुन्थ्यो, तर उहाँका लागि कुनै समय हुन्नथ्यो 

म व्यस्त मान्छे । जुन आरोप लगाउनुभएको छ, त्यो केही हदसम्म सत्य पनि होला । तर, मेरो पेशा नै त्यस्तै छ । यसमा म के गर्न सक्छु ? उहाँ र मबीच भएका अन्तरवार्ताहरु यु ट्युवमा हेर्नुभयो भने उहाँ आफैंले मलाई काउकुती लगाएर हँसाउनुहुन्छ, सकेसम्म समय दिनुहुन्छ भन्नुभएको छ । हामी सँगै बेलायत लगायत विभिन्न देशमा गएका छौं । मेरो प्रस्तुति हुँदा उहाँलाई पनि मञ्चमा बोलाएर चिनाएको छु ।

उहाँले पटक-पटक डिभोर्स माग्नु भएको थियो रे हो ?

उहाँ असाध्यै रिसाउनुहुन्थ्यो । एकपल्ट रिसाएपछि घरमा केही न केही टुटफुट हुन्थ्यो । यो रीसका बेला उहाँले डिभोर्स माग्नुहुन्थ्यो । तर, रीसमा भनिएका कुरालाई म महत्व दिन्न थिएँ । रीस एउटा मानसिक समस्या हो र ठीक हुन्छ भन्ने लाग्थ्यो ।

तपाईंले यसका लागि प्रयास पनि गर्नुभयो ?

हो, गरेँ । उहाँलाई चिकित्सक कहाँ लगेँ । उहाँले एउटा डाक्टरकोमा चित्त नबुझेपछि अर्कोमा जाउँ भन्नुभयो । त्यहाँ पनि गइयो । हामी दुबैले सँगै गएर केही समस्याहरु छन् कि भनेर आ-आफ्नो पनि उपचार गरायौं ।

बाहिर तपाईंका विषयमा नकारात्मक चर्चाहरु चलिरहेका छन् भन्ने थाहा पाउनुभएको छ ?

सुनिरहेको छु । युट्युबमा पनि हेरिरहेको छु । मेरो एउटा मात्रै भनाइ के छ भने हरेक विवाहित पुरुष र महिलाबीच जीवनमा सामान्य झगडा र विवादहरु हुन्छन् । घरभित्र भएका स-सना कुरालाई उछाल्ने अनि १८/२० वर्षअघि भएका सामान्य कुराहरुलाई अहिले इस्यु बनाउने काम नेपालमा मात्रै हुन्छ, वाहिर यस्ता कुरालाई उति महत्व दिइँदैन । नेपाली मिडियाले व्यक्तिहरुका के लेख्ने, कसरी लेख्ने भन्ने विषयमा विचार पुर्‍याउनैपर्छ ।

अहिले मिडियामा आएका कुराहरुप्रति तपाईंको कुनै गुनासो छ ?

मैले उहाँलाई घरबाट निकालेको होइन । सहमतिमै पारपाचुके गरेका हौंं । अंशवापत १ करोड २५ लाख रुपैयाँ पनि दिएको छु । छुटि्टँदा बाहिर एक-अर्कालाई दोषारोपण नगर्ने सहमति पनि भएको छ । कानुनअनुसार पाउनुपर्ने अंश लिएर उहाँ जानु भएको छ । हामी एक आपसमा बुझ्ने छौं । हामीले विवाद गर्दा छोराछोरीलाई के असर पर्ला भन्ने कुरा विचार गरेर बोल्नुपर्छ ।

छोराछोरीलाई अप्ठ्यारो पर्ने व्यवहार हामीले देखाउनुहुँदैन । मिडियाले पनि वालवालिकाहरुप्रति सम्वेदनशील भइदिनुपर्छ भन्ने मेरो आग्रह छ ।

हामीले विवाह गर्दा पनि सहमतिमै गरेका थियौं र छुट्टिँदा पनि सहमतिमै अलग भएका हौं । अब यस विषयमा लामो कुरा गर्नुको अर्थ म देख्दिनँ ।

एक्लो जीवन त गाह्रो होला नि, अर्को विवाह नगर्ने ?

एउटा विवाह त मैले राम्रोसँग सम्हाल्न सकिनँ, अर्को विवाह गर्नुपर्छ भन्ने म ठान्दिनँ । तत्काल त्यस्तो कुनै योजना छैन ।

कलाकारिता नि ? अब के हुन्छ ?

तपाईहरु सबैको माया पाएसम्म म यसलाई निरन्तरता दिनेछु ।

मीनाजीसँग २२ वर्ष बस्नुभयो, के के कुरा मीस गर्नुहुन्छ ?

मीना राम्रो ‘ड्रेस सेन्स’ भएकी महिला हुन् । उनले मलाई राम्रो बनाउने प्रयास गर्थिन् । मीठो खाना बनाउँथिन् । ती कुरा मीस गर्छु । अहिले नयाँ व्यवसाय सुरु गरेकी छिन्, त्यो सफल होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment