Comments Add Comment

ठूलो प्रदेशको ‘छरितो मन्त्रिपरिषदमा’ को-को पर्लान् ?

माओवादीलाई आधा हिस्सा ! डोरमणिलाई सभामुख

१० माघ, काठमाडौं । जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको पहिलो सरकार कस्तो बन्ला ? एमालेको एकल बहुमत रहेको यो प्रदेशमा नयाँ सरकारको खाका नबन्दै मुख्यमन्त्री र मन्त्रीका लागि प्रदेश सांसदहरुको दौडधूप बढेको छ ।

सुवास नेम्वाङ नेतृत्वको वामपन्थी गठबन्धनको कार्यदलले मुख्यमन्त्री र सभामुखहरुको टुंगो नलगाउँदै ३ नम्बर प्रदेशमा भने भावी सरकारको स्वरुपको बारेमा बिभिन्न नेताको निवासमा छलफल भइरहेको छ । मुख्यमन्त्री र मन्त्रीका दाबेदारले पार्टीका शीर्ष नेताहरुसँग भेटघाट बढाइरहेका छन् ।

छरितो मन्त्रिपरिषद

प्रदेश नम्बर ३ देशको केन्द्रीय राजधानीसमेत समेटिएका कारण संघीय सरकारपछिको प्रभावशाली सरकार हो । यो सरकारको नेतृत्व र मन्त्रिपरिषद पनि सशक्त बनाउन वामपन्थी गठबन्धनमाथि दबाब छ । मन्त्रीका लागि धेरै प्रदेश सांसदहरुको दौडधूप चलिरहे पनि छरितो मन्त्रिपरिषद गठन गर्ने तयारी वामपन्थी गठबन्धनको छ ।

प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ११० सिट रहेको प्रदेश नम्बर ३ मा बढीमा २२ सदस्यीय मन्त्रीपरिषद गठन गर्न संविधानले सीमा तोकेको छ । तर, वामपन्थी कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले प्रदेशको क्षमता र साधन स्रोतलाई बिचार गर्दै सानो आकारको मन्त्रिपरिषद गठन हुने बताए ।

यही कार्यदलले मन्त्रिपरिषदको आकारसमेत तय गर्ने भएकाले कतिजनाको मन्त्रिपरिषद बन्ने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार एमाले नेताहरु ३ नम्बर प्रदेशमा बढीमा १५ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुपर्ने पक्षमा छन् । अझ कतिपयले त त्योभन्दा सानो आकारको सरकार गठन गर्न सुझाव दिएका छन् ।

एमालेको बहुमत, सिनियर नेताको भीड

मुलुकको राजधानीसमेत रहेको ३ नम्बर प्रदेशमा एमालेको बहुमत छ । तर, सरकारमा माओवादीको पनि सहभागिता हुनेछ । यो प्रदेशबाट एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित चारजना पोलिटव्यूरोका सिनियर सदस्यहरु प्रदेशसभामा निर्वाचित भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । उनले संसदीय दलको चुनाव हुनुपर्ने माग समेत गरेका छन् ।

मुख्यमन्त्री बन्न नपाए उनी प्रदेश सरकारको मन्त्री नबन्ने स्रोतले जनाएको छ । त्यस्तै पोलिटव्यूरो सदस्य अरुण नेपाल,सानुकुमार श्रेष्ठ र पशुपति चौलागाई पनि प्रदेशसभामा निर्वाचित भएका छन् । उनीहरु मन्त्री बन्ने सम्भावना छ ।

त्यस्तै एकपटक जिल्ला विकास र नगरपालिकाको नेतृत्व गरिसकेका कैलाश ढुंगेल, डोरमणि पौडेल, केशव स्थापित, माधव पौडेल, सरेश नेपाल, पूर्वसांसद रामेश्वर फुयालहरु मन्त्री प्रदेश सरकारमा मन्त्रीका दाबेदार हुन् । यीमध्ये डोरमणि ३ नम्बर प्रदेश संसदको सभामुख बन्ने सम्भावना छ ।

युवा संघका उपाध्यक्ष चन्द्र लामा, अनेरास्ववियुका पूर्वउपाध्यक्ष लक्ष्मण लम्साल, केशव पाण्डे, अखिलका पूर्वमहासचिव बसन्त मानन्धर, चितवनका विजय सुवेदी, दावा दोर्जे लामा पनि मन्त्रीको दावी गरिरहेका छन् ।

समानुपातिकबाट सांसद बनेकाहरुलाई मन्त्री नबनाइने एमालेका नेताहरुले बताएका छन् ।

प्रदेशसभाका आधा सदस्य राजधानी उपत्यकाबाट रहेकाले मन्त्रिपरिषदमा लगभग आधा हिस्सा उपत्यकाकै रहने सम्भावना छ

को बन्लान् मन्त्री र मुख्यमन्त्री ?

महिला, पार्टीको उपाध्यक्ष र नेवारसमेत भएका कारण ३ नम्बर प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नै बन्ने सम्भावना छ । उनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद बन्यो भने एमालेबाट १० र माओवादीबाट ५ जना मन्त्री बन्ने कार्यदलका एक सदस्यले बताए ।

एमालेबाट पशुपति चौलागाई, अरुण नेपाल, कैलाश ढुंगेल, केशव स्थापित, बसन्त मानन्धर, चन्द्र लामा, सानुकुमार श्रेष्ठ, माधव पौडेल र केशव पाण्डे मन्त्रीको दौडमा अगाडि छन् । पार्टीभित्रका सन्तुलन र समावेशिता मिलाउँदा उनीहरुको सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष र मुख्यमन्त्रीको तजबिज

यद्यपि मन्त्रिपरिषद गठन पार्टी अध्यक्षसँगको सल्लाहमा मुख्यमन्त्रीले गर्ने भएकाले मुख्यमन्त्रीले नरुचाएका कतिपय अनुहार भित्र-बाहिर हुन सक्ने एमालेका एक नेताले बताए । ‘मुख्यमन्त्रीको रुचीले पनि व्यक्ति चयनमा फरक पार्छ, पहिलो अभ्यास भएकाले सम्भवतः पार्टी अध्यक्षसँगको सल्लाहमा मुख्यमन्त्रीले आफूलाई काम गर्न सजिलो मन्त्रिपरिषद गठन गर्ने विधि अपनाइन्छ होला’ उनले भने ।

एमाले स्रोतका अनुसार सकेसम्म भूगोल, जाति र लैंगिक समावेशितासहितको मन्त्रिपरिषद गठन हुनेछ । तर, सक्षम व्यक्तिलाई प्राथमिकता दिने गरी पार्टीले मापदण्ड बनाउनेछ । प्रदेशसभाका आधा सदस्य राजधानी उपत्यकाबाट रहेकाले मन्त्रिपरिषदमा लगभग आधा हिस्सा उपत्यकाकै रहने सम्भावना छ ।

प्रदेशको मन्त्रिपरिषदबारे पार्टीमा औपचारिक छलफल नभए पनि बरिष्ठता, योग्यता क्षमता, विषय विज्ञता र समावेशितालाई आधार बनाइने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । प्रदेशको सरकार कुशल ढंगले सन्चालन गर्ने टिम बनाउनु मुख्य प्राथमकिता रहने उनको भनाइ छ ।

माओवादीबाट को-को बन्लान् मन्त्री ?

प्रदेश नम्बर ३ को मन्त्रिपरिषदमा माओवादीले कति सिट पाउने भन्ने बाँडफाँड भइसकेको छैन । तर, प्रदेश संसदमा उसको प्रतिनिधित्वलाई आधार मान्दा ५ जनासम्म मन्त्री हुने सम्भावना रहेको छ । माओवादीले यो प्रदेशबाट सभामुख समेत दावी गरेको छ । तर, उसले उपसभामुख पाउने सम्भावना छ ।

प्रदेशबाट मन्त्रीका लागि धादिङका शालिकराम जमरकट्टेल, मकवानपुरकी कुमारी मोक्तान, ललितपुरका राजकाजी महर्जन, दोलखाका विशाल खड्का र सिन्धुलीका राजन दाहालको बढी सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ ।

यद्यपि सिन्धुपाल्चोकका युवराज दुलाल, नुवाकोटकी राधिका तामाङ, हिमनाथ खतिवडा, चितवनका रामलाल महतो लगायतको पनि मन्त्रीमा दाबी छ । माओवादीले पनि समानुपातिक सांसदलाई मन्त्री नबनाउने भएको छ ।

डोरमणिलाई सभामुखको ढोका खुला

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा कायम हुनु र जेष्ठ सदस्यका हिसाबले प्रदेश सांसदहरुलाई सपथग्रहण गराउने मौका पाउनु डोरमणि पौडेलका लागि संयोगमात्र नहुन सक्छ । सम्भवतः उनी प्रदेश नम्बर ३ को सभामुखसमेत हुनेछन् ।

दुईपटक हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका पौडेल १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष छन् । स्थानीय तहको अधिकारका विज्ञ र प्रशिक्षकसमेत रहेका पौडेल मुख्यमन्त्रीकै दाबेदार थिए । सम्भवतः उनी यो प्रदेश संसदको सभामुख हुनेछन् ।

पौडेल सभामुख भए भने उपसभामुख माओवादीले पाउनेछ । त्यो अवस्थामा माओवादीबाट उपसभामुखमा राधिका तामाङ, कञ्चन खनाल वा सुशीला पुनको सम्भावना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment