Comments Add Comment

फेसबुकमा छोराको फोटो नराख्न आमालाई अदालतको आदेश


आफ्ना छोराछोरीका अनेक खालका तस्वीरहरु फेसबुकमा अपलोड गरेर फूर्ति लगाउने बाबुआमाहरु धेरै हुन्छन् । छोराछोरीका अनेक सन्दर्भ र पोजका तस्वीरहरु फेसबुकमा शेयर गरिरहँदा बाबुआमाहरुले सन्ततीहरुको स्वीकृति लिन वा उनीहरुलाई मन पर्ने नपर्ने कुरा थाहा पाउन आवश्यक ठान्दैनन् । तर एउटा घटनाले चाहिँ फेसबुकमा आफ्ना छोराछोरीका फोटाहरु अपलोड गरिरहने बाबुआमालाई सतर्क पारेको छ ।

एकजना इटालियन महिलालाई अदालतले आफ्नै छोराको तस्वीरमा फेसबुकमा पोष्ट गर्नबाट प्रतिबन्ध लगाएको छ । आफ्नो किशोरावस्थाको छोराका तस्वीरहरु आइन्दा फेसबुकमा पोष्ट नगर्न आदेश दिँदै अदालतले यदि आदेशको अवहेलना गरेमा १० हजार यूरो जरिवाना तिर्नुपर्ने फैसला गरेको हो ।

आफ्नो अनुमति वा रुचि विनानै आमाले आफ्ना फोटोहरु फेसबुकमा पोष्ट गर्ने गरेको भन्दै एकजना १६ वर्षे इटालियन युवकले आफ्नै आमा विरुद्ध अदालतमा मुद्दा हालेका थिए ।

इटालीको रोमस्थित पारिवारिक अदालतले ती किशोरको पक्षमा फैसला गर्दै आमाका नाममा यस्तो आदेश दिएको हो । आफ्नो लोग्नेसँग डिभोर्स गरिसकेकी ती महिलाले अबदेखि आफ्नै छोराका तस्वीरहरु पनि फेसबुकमा पोष्ट गर्न पाउने छैनन् ।

आमाले आफ्ना अनेक खालका तस्वीरहरु फेसबुकमा पोष्ट गरिरहने बानीबाट ती किशोर आजित थिए । यो विषयमा ती महिलाको डिभोर्सको प्रक्रियाका क्रममा पनि उठेको रहेछ ।

पारिवारिक अदालतले इटालियन प्रतिलिपि अधिकार कानूनको हवाला दिँदै तस्वीरहरुमा समेत कपिराइट हुने र आमाले छोराको अनुमति विना उसका तस्वीरहरु पोष्ट गर्नु कानूनविपरीत हुने फैसला गरेको छ ।

ती आमाले अहिलेसम्म फेसबुकमा अपलोड गरेका आफ्नो छोराका फोटो, भिडियो तथा अन्य पोष्टहरु समेत हटाउनुपर्नेछ । ती महिला र उनका छोराको नाम भने खुलाइएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment