Comments Add Comment

स्वस्थानी व्रतालुको ‘परदेश यात्रा’, हेर्नुस् १० तस्वीर

१४ माघ, काठमाडौं । स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिर आएका छन् ।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु र्फकने परदेश यात्राको नियम छ ।

त्यसअघि पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाउने प्रचलनसमेत छ ।


स्वस्थानीका व्रतालु महिलाहरुले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ । व्रतालुले एक महिनाभर नुन बार्ने र दूध, घिउ, चाकु, रातो मुला सुन्तलाजस्ता खानेकुरा मात्र खाने गर्दछन् । व्रतालुले मन्त्रोच्चारण गरी शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने, जुत्ता लगाउन नहुने परम्परा छ । माधवनारायणका व्रतालुहरु घसि्रँदै मन्दिरसम्म पुग्ने परम्परा छ ।

स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । व्रतालुहरुले माधवनारायणको दर्शन नगरे स्वस्थानी व्रतको फल प्राप्त नहुने धार्मिक विश्वास पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment