Comments Add Comment

के गर्दैछन् प्रहरी महानिरीक्षक प्रकाश अर्याल ?

१६ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्याल नक्सालस्थित प्रधान कार्यालय परिसरको सरकारी निवासमै रहेको कुरामा कुनै सन्देह छैन । तर, उनी कमै मानिसहरुको सम्पर्क छन् । उनको काम गर्ने शैली अन्य पूर्वआइजीपीहरुको भन्दा फरक रहेको कतिपय प्रहरी अधिकारीहरुको अनुभूति छ ।

केही समय आइजीपी अर्याल घाँटीको समस्याका कारण उपचार र आराम गरिरहेका थिए । उनकै सचिवालयका अनुसार अहिले स्वस्थ भइसकेका छन् । तर, बिरामी भएको भन्दै उनले आफूसँग भेट्न आएका प्रहरी अधिकृतहरुलाई भेट नदिने गरेको गुनासो आउन थालेको छ ।

महानिरीक्षकको सचिवालयका एक डीएसपीका अनुसार एक सातादेखि उनी कार्यालयमा हाजिर भइरहेकै छन् । तर, लामो समयदेखि एकै ठाउँ काम गरिरहेर सरुवा नभएको लगायत गुनासो लिएर जाने अधिकृतहरुबाट उनी टाढै बसिदिने गरेका छन् ।

‘अहिलेका आईजीपी कहीँकतै सिनमा देखिँदैनन् । संगठनको नेतृत्व गर्ने मानिस डाइनामिक हुनुपर्छ,’ एक पूर्वमहानिरीक्षक भन्छन्, ‘उनको ड्युटी नै हो, सबै क्षेत्रसँग सम्पर्कमा रहने, गुनासो सुन्ने र समाधान निकाल्ने ।’

यसअघिका महानिरीक्षकहरु उपेन्द्रकान्त अर्याल, कुबेरसिंह राना र रविन्द्रप्रताप शाह प्रहरी अधिकृतहरु मात्र होइन, सर्वसाधारणको नम्बरबाट आउने फोनसमेत ‘रिसिभ’ गर्न हिच्किचाउँदैनथे । ती सबैको विश्वास पात्रका रुपमा चिनिएका महानिरीक्षक अर्यालले भने फरक शैलीमा प्रस्तुत भइरहेका छन् ।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गराएर आफ्नो जागिर लम्ब्याउन केही एआईजी र सोही ब्याचका डीआईजीहरु दौडधुप गरिरहेका छन् । तर, यसबारेमा महानिरीक्षक अर्यालको धारणा के हो ? कसैले पत्ता लगाउन सकेका छैनन् । हालसालै सात डीआईजीहरुको दरबन्दी थपियो । ‘संगठनात्मक सञ्जाल नक्शांकन र विश्लेषण’ (ओएनएम) सर्बे नगरी दरबन्दी थपिनुको कारण के ? महानिरीक्षक अर्याल मौन छन् ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला अर्याल आइजीपीमा नियुक्त भएका हुन् । जयबहादुर चन्द र नवराज सिलवालवीच विवाद र मुद्दा मामिला चलिरहेका बेला अर्यालले आएजीपीमा बाजी मारेका थिए ।

अर्यालको नियुक्ति र उनको कार्यसम्पादन मूल्यांकनमाथि प्रश्न उठाउँदै तत्कालीन डीआइजीले अदालतमा मुद्दा हालेका थिए । त्यसपछि चुनावमा एमालेले सिलवाललाई बोकेर हाल सांसद समेत बनाइसकेको छ ।

एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक कार्यक्रमहरुमै नवराज सिलवालको पक्षमा वकालत गर्दै आएका छन् । अब नवराज सिलवालको पक्षपोषण गर्दै आएका केपी ओली प्रधानमन्त्री बने भने आइजीपी प्रकाश आर्यालमाथि नयाँ वाम सरकारले कस्तो व्यवहार गर्ला ? सम्भवतः त्यो दृश्य निकै हेर्न लायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment