Comments Add Comment

ताडीको ‘शिकार’ तस्वीरमा हेर्नुस्

१७ माघ, धनुषा । जनकपुर उपमहानगरपालिका–९ का बैजु महतो बिहान हुनेबितिकै साइकल लिएर घरबाट निस्कन्छन् । उनको दैनिकी भनेको ताडीको जोहो गर्नु र बजारमा लगेर बेच्नु हो । जनकपुर नगरभित्रका सबैजसो खजुर (ताडी)को रुखमा चढेर ताडी संकलन गर्छन् उनी ।

रुखको माथिल्लो भागलाई ताछ्दा तरल पदार्थ निस्किन्छ । यसैलाई ताडी भनिन्छ । तराई मधेसमा ताडी अत्यन्त लोकप्रिय पेय पदार्थ हो । यो नशालु हुन्छ । त्यसैले यसलाई ‘नेचुरल वाईन’समेत भन्ने गरिन्छ ।

बैजु महतोले ताडी निकाल्न थालेको २५ वर्ष पुगिसकेको छ । ‘दश वर्षको उमेरदेखि ताडी निकाल्दै बजारमा लगेर बेच्न थालेको हुँ,’ उनी भन्छन् ।

बुवाबाट ताडी निकाल्न सिकेका बैजु ताडीका निकै अग्ला रुखमा जोखिम मोलेर चढ्छन् । खजुरको रुखको माथिल्लो भागलाई धारिलो हतियारले ताछेर भाँडो झुण्ड्याई ताडी थाप्छन् । साँझपख झुण्डाइएको भाँडोमा ताडी चुहिन्छ र अर्को दिन त्यसलाई निकालेर छुट्टै भाँडोमा संकलन गरेर राखिन्छ ।

एकदिनमा एकसय लिटरभन्दा बढी ताडी संकलन गरेर बेच्ने गरेको बैजुले बताए । ताडी प्रतिबोतल २० देखि ३० रुपैयाँसम्म बिक्री हुने गरेको छ । दैनिक २ हजार भन्दा बढीको ताडी बेच्ने बताउने बैजु यस व्यवसायबाट आफ्नो आर्थिक अवस्थामा धेरै सुधार आएको बताउँछन् ।

‘ताडीबाट कमाएको पैसाले सातजना छोरालाई विद्यालयमा पढाएको छु, घर खर्च चलाएको छु,’ उनले भने ।


खुट्टा र पिठ्युँमा नरिवलको बलियो डोरीले बाँधेर अग्लो सुरिलो रुखमा चढ्ने गर्दछन् उनी । सन्तुलन थोरैमात्र बिग्रिएमा पनि ज्यान जाने खतरा हुन्छ । तर उनी कुशलतापूर्वक रुख चढेर अघिल्लो दिन भाँडो झुण्ड्याउँछन् र अर्को दिन फेरि ताडी संकलन भएको भाँडो लिन त्यसैगरी रुखमा चढ्छन् । अग्लो सुरिलो रुखको टुप्पोमा राखिएको भाँडो ढल्काउदै ताडी निकाल्दै गरेको दृश्यले जो कोहीको मन सिरिङ्ग हुन्छ । हेर्दा यस्तो लाग्छ बैजु ताडीको कुशल शिकारी नै हुन् ।

मिथिला क्षेत्र आसपासका स्थानीयबासीले ताडी स्वाद मानेर पिउने गर्दछन् । तराईमा गर्मीको पारो चढेसँगै ताडीको रुखमा झुन्डिने भाँडाका संख्या पनि बढ्दै जान्छन् ।

कस्तो हुन्छ त ताडी ? बैजु भन्छन्, ‘एक गिलास मात्र पिउनु भयो भने पनि ताडीको स्वाद मुखमा झुन्डिरहन्छ । फेरि पिउँपिउँ जस्तो लाग्छ । हल्का गुलियो स्वाद हुन्छ । खाँदै गयो भने झुम्म नशा लाग्छ ।’

बिहानपखको ताडी स्वास्थ्यको लागि फाइदा हुने स्थानीयबासी दाबी गर्दछन् । बिहानै झारेको ताडीले पेटको विरामी, ग्याष्ट्रिकको विरामीलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

तर, जति दिन ढल्किँदै जान्छ, ताडीको नशा पनि बढ्दै जान्छ । पछिल्लो समय ताडीलाई थप नशालु बनाउनका लागि बिक्रेताहरुले बिभिन्न किसिमका नशालु पदार्थहरु मिसाउने गरेका छन् । चिकित्सकहरु भने कुनै पनि नशालु पदार्थको सेवनले स्वास्थ्यमा हानी पु¥याउने भएकाले सेवन नगर्न सल्लाह दिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment