Comments Add Comment

प्रदेश ७ मा टुंगो लाग्यो सबै मन्त्रालय भवन र मन्त्रीको क्वार्टर

माग १७, कैलाली । प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश मन्त्रालयका लागि भवनको टुङ्गो लागेको छ । भवन व्यवस्थापन समितिको बैठकले ७ वटै मन्त्रालयका भवनहरुको टुङ्गो लगाएको हो ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा रहनेछ । सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनमा रहने भवन व्यवस्थापन समितिका सदस्य सचिव, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला कृषि विकास कार्यालय कैलालीको भवनमा रहनेछ भने भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सिञ्चाई निर्देशनालय कैलालीको भवनमा रहनेछ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तारानगरमा रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा रहनेछ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा रहनेछ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक राजश्व कार्यालय कैलालीको आवासका लागि निर्माण भइरहेको भवनमा राख्ने सदस्य सचिव बोहराले जानकारी दिए । सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले प्रयोग गरिरहेका आवासलाई रङरोगन गर्ने र सोही आवासहरुमा मन्त्रीहरु बस्ने बोहराले बताए । उनले मुख्य मन्त्रीका लागि पनि निर्माणाधीन यातायात कार्यालयकै भवनमा आवासको व्यवस्था गरिने जानकारी दिए ।

यता माघ २१ गते बस्ने प्रदेशसभाको पहिलो बैठकका लागि प्रदेशसभा हलको तयारी तिब्र गतिमा भइरहेको छ । जिल्ला समन्वय समितिको हललाई काठमाडौंमा रहेको प्रतिनिधिसभाहलकै नमुनामा ढालिने छ । सभामुख र उपसभामुखको कार्यालयका लागि जिल्ला प्राविधिक कार्यालयको भवनलाई रङरोगन गरिदैछ ।

प्रदेशसभा हलको डिजाइन १० गतेमात्रै आएकोले सभाहलको निर्माण कार्य तिब्र गतिमा भइरहेको भवन व्यवस्थापन समितिका सदस्य सचिव सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । उनले २० गते बेलुकासम्म प्रदेशसभाहल तयार भइसक्ने बताए ।

माघ २१ गते बस्ने पहिलो प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गर्नेछ भने फागुन ३ गतेभित्रै मुख्यमन्त्रीको चयन गर्ने तयारी छ । वाम गठबन्धनका शीर्ष नेताहरुले प्रदेश नम्बर ७ मा माओवादीले मुख्य मन्त्री लिने सहमति भएसँगै माओवादीका वीरमान चौधरी, झपट बोहरा, अक्कल रावल लगायतका नेताहरु मुख्य मन्त्रीका लागि लबिङमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment