Comments Add Comment

सांसदको चेतावनी-बारा, पर्सा र रौतहटलाई छुट्टै प्रदेश बनाउँछौं

प्रदेशसभाको पहिलो बैठकको दिन वीरगञ्ज बन्द

१९ माघ, वीरगञ्ज । प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित बिरोधसभामा बोल्ने वक्ताहरुले छुट्टै प्रदेश बनाउने चेतावनी दिएका हुन् ।

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिको आव्हानमा आयोजित विरोध सभामा बोल्दै प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले वीरगञ्जलाई जसरी पनि राजधानी बनाउने बताए । ‘काठमाडौंले र जनकपुरले सुन वीरगञ्ज राजधानी हुँदैन भने बारा, पर्सा, रौतहट मिलाएर छुट्टै भोजपुरी प्रदेश र राजधानी वीरगञ्जलाई बनाउँछौं ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका शर्माले भने ‘एउटा नेपाली उखान छ, ‘दुध दिने गाईको लात सहनुपर्छर्’ तर वीरगञ्जवासी यस्तो छन्, जो कमाई पनि दिन्छन्, र लात पनि सहन्छन् । ‘

भारतमा संघीय संरचनामा जाँदा पनि सुरुमा थोरै राज्य र राजधानी रहेको भएपनि अहिले राज्यको र राजधानीको संख्या बढेर गएको भन्दै उनले वीरगञ्ज पूर्वाधारले सम्पन्न हुँदा हुँदै उपेक्षामा परेको बताए । ‘ टाउन हल, चिनी मिल जस्ता पूर्वाधार हुँदा हुँदै जनकपुरमा राजधानी लगियो, अहिले जनकपुरको सभा स्थलमा मर्मतको काम चल्दैछ । ‘ उनले भने ‘ जहाँ जानुपर्छ, जान्छु, जे गर्नुपर्छ त्यो गर्छु, आज नभएपनि १० वर्षपछि हुन्छ । तर वीरगञ्ज राजधानी बनाएरै छोड्छौं ।’

शिक्षक महासंघ पर्साका सचिव प्रदिप जयसवालले पनि जनकपुरलाई कुनैपनि हालतमा राजधानी नमान्ने बताए । ‘ पर्सा, बारा, रौतहट छुट्टै प्रदेश बनाउन तयार छौं, तर जनकपुरलाई राजधानी बनाउन तयार छैनौं ।’ उनले भने ।

विरोध सभामा बोल्दै एमालेका नेता बलिराम साहले मधेस आन्दोलनका क्रममा मधेसी दलका शीर्ष नेताहरुले वीरगञ्जलाई राजधानी बनाउने आश्वासन दिएर पनि धोका दिएको बताए । ‘मजदुरी गराउने तर ज्याला नदिने ? हामी छिनेर भएपनि लिन्छौं ।’ उनले भने ‘ आन्दोलन गरेरै भएपनि वीरगञ्जलाई राजधानी बनाएरै छोड्छौं ।’

नेपाली काँग्रेसका सचिव किशोरी साहले पनि वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुको विकल्प नभएको बताए । जनकपुरलाई प्रादेशिक राजधानी बनाउने संकेत पाए लगत्तै आन्दोलनमा उत्रिएको वीरगञ्ज संघर्ष समितिले एक महिना अघिदेखि रिले अनशन गरिरहेको संघर्ष समितिका सहसंयोजक एवं पूर्व सभासद राजकुमार गुप्ताले जानकारी दिए ।

जनकपुरमा पहिलो प्रदेश सभा बैठक बस्ने दिन २१ माघ आइतबार वीरगञ्ज बन्द आव्हान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment