Comments Add Comment

पुनर्निर्माणका लागि चालु आवमै ५० अर्ब अपुगः प्राधिकरणले माग्यो बजेट

चालु आवका लागि सरकारी बजेट ५३ अर्ब मात्रै

२१ माघ, काठमाडौं । लक्ष्यअनुसार पुनर्निर्माणको काम सम्पन्न गर्न चालु आर्थिक वर्षमै करिब ५० अर्ब रुपैयाँ अपुग हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालका अनुसार आगामी असारसम्म करिब चार लाख ६० हजार घरको पुनर्निर्माण सम्पन्न गर्न उक्त रकम आवश्यक भएको हो ।

प्राधिकरणले चालु आवमा करिब ६० प्रतिशत घर निर्माण गर्ने लक्ष्य लिएको छ । ‘लक्ष्य पूरा गर्न करिब एक खर्ब रुपैयाँ लाग्ने देखिन्छ,’ सीईओ भुसालले भने । उनका अनुसार सरकारले ५३ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ । त्यसमध्ये ठूलो हिस्सा खर्च भइसकेको छ ।

थप रकमका लागि अर्थ मन्त्रालयलाई जानकारी गराइसकिएको सीईओ भुसालले बताए ।

करिब दुई साताअघि विश्व बैंकसँग पुनर्निर्माणका लागि प्रतिबद्धता गरेमध्येको तीन सय मिलियन अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) निकासा गर्न सम्झौता भएको छ ।

यस्तै, भारतले प्रतिबद्धता जनाएकोमध्ये २५ अर्ब रुपैयाँ अनुदानबाट नुवाकोट र गोरखामा ५० हजार घर निर्माणाधीन छन् । भारतले नै प्रतिबद्धता जनाएको ‘लाइन अफ क्रेडिट’अन्तर्गतको ७५ अर्ब रुपैयाँ पनि छिट्टै परिचालन हुने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, पछिल्लो समय सरकारले घोषणा गरेको थप एक लाख रुपैयाँ अनुदान भने चालु आवमा वितरण गर्न सक्ने अवस्था नरहेको प्राधिकरणको भनाइ छ । त्यसका लागि थप करिब एक खर्ब रुपैयाँ आवश्यक हुने आकलन छ ।

पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउन आगामी आवमा अर्को दाता सम्मेलन गर्नुपर्ने अवस्था देखिएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment