Comments Add Comment

हरेक १० मध्ये एक जनालाई हुन्छ, टेट सिन्ड्रोम

काठमाडौं । थकाइ लाग्यो ? आराम गर्नुस् । गाउँमा हुनुहुन्छ भने एकछिन वर-पीपलको चौतारीमा सुस्ताउनुस् । थकाइ लाग्दैमा आत्तिनुपर्दैन । लामो बाटो हिँड्दा वा उकालो चढ्दा थकाइ लाग्नु स्वाभाविकै हो । थकाइ मार्नकै लागि हाम्रा गाउँघरमा पाटी, पौवा या चौताराहरु निर्माण गरिएका हुन्छन् ।

यस्तै, शहरको व्यस्त जीवनशैलीमा काम गरेपछि कहिलेकाहीं थकान महशुस हुनु पनि जैविक प्रक्रियाभित्रै पर्छ । तर, शरीरलाई बोझ पर्ने कुनै काम नगर्दा पनि यदि तपाईंले हरघडी थकान महशुस गरिरहनु भएको छ भने बेलैमा सजग हुनुहोस् । किनकि, जुनबेला पनि थकान महशुस हुनु ‘टेट सिन्ड्रोम’को लक्षण हुनसक्छ । अर्थात् ‘टायर्ड अल दी टाइम’ ।

टेट सिन्ड्रोम यस्तो समस्या हो, जसमा मानिसलाई हरसमय थकान महशुस हुन्छ । यस्तो समस्यालाई शुरुको अवस्थामा मानिस नजरअन्दाज गरिरहेका हुन्छन् । थकान बढ्दै जान्छ र गम्भीर समस्याका रुपमा देखापर्छ ।

टेट सिन्ड्रोम आफैंमा नयाँ शब्द होइन । पहिले यसलाई ‘क्रोनिक फ्याटिङ सिन्ड्रोम’ भन्ने गरिन्थ्यो ।  ‘क्रोनिक फ्याटिङ सिन्ड्रोम’ भएमा मानिसलाई ओछ्यानबाट उठ्नै मन नलाग्ने हुन्छ ।

मांसपेशी, जिउ या टाउको दुख्छ, ज्वरो आउँछ या कसैलाई कमजोरी महशुस हुन्छ । यसबारे ज्ञान नहुँदा कैयौं मानिस अझै पनि यो रोग लिएर बाँच्न विवश छन् ।

पहिलो ६ महिनासम्म यस्तो समस्या रहिरहे चिकित्सक विरामीलाई ‘क्रोनिक फ्याटिङ सिन्ड्रोम’ भएको ठहर गर्थे । अचेल यसैलाई टेट सिन्ड्रोम भन्न थालिएको हो ।

टेट सिन्ड्रोम प्रत्येक १० मध्ये एक जनामा देखिने समस्या भएको अध्ययनहरुबाट पत्ता लागेको छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको छ । तनाव तथा मानसिक दबाब, गलत खानपान, विलासी जीवनशैलीलगायत कारण टेट सिन्ड्रोम बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

यसका प्रमुख कारणहरु-

कामको तनाव

घर र कार्यालयको तनावका कारण पनि मानिसमा यो समस्या बढ्दैछ ।  कैयौं मानिस अनावश्यक कुराहरुमा पनि तनाव लिने गर्छन् । खासगरी, कार्यालयमा काम गर्ने व्यक्ति स-साना कुरालाई लिएर ‘टेन्सन’मा आउँछन् । तनावले शरीरको ऊर्जा घटाउँछ, जसका करण टेट सिन्ड्रोम देखा पर्न थाल्छ ।

शारीरिक बदलाव

रक्तअल्पता, थाइराइड, मुटु रोगलगायत कारण पनि मानिसलाई थकान महशुस हुन्छ । मोटापनाका कारण मानिसको शरीरमा हुने बदलाव, अनिद्रा, घुर्ने समस्या, चिन्ता, कुनै काम नबन्दा मानिसमा उत्पन्न हुने चिडचिडापन पनि टेट सिन्ड्रोमकै लक्षण हो ।

निद्राको कमी

निद्राको कमीले टेट सिन्ड्रोमको समस्यालाई अझ बढाउने काम गर्छ । स्वस्थ तथा स्फूर्त शरीरका लागि कम्तीमा पनि आठ घण्टाको निद्रा आवश्यक छ । र, त्यो गहिरो हुनुपर्छ ।

गलत खानपान

शरीरमा पानीको कमी भयो भने पनि थकान महशुस हुन्छ । खानपिनको असन्तुलन यसको अर्को मुख्य कारण हो । प्रोटिन, कार्बोहाइड्रेटयुक्त खाना कम खाने, समयमै खाना नखाने, आवश्यकताभन्दा बढी खाने र त्यसमा पनि मसालेदार खानामा जोड दिने बानीले थकान महशुस गराइरहेको हुन्छ ।

किनकि, ठीक समयमा सम्यक (पर्याप्त) मात्रामा भोजन गरिएन भने शरीरमा आवश्यक पोषक तत्वको कमी हुनजान्छ । अनि, थकान महशुस हुन्छ ।

विलाशी जीवनशैली

विलासी जीवनशैली यसको अर्को कारण हो । हाम्रो शरीर पनि एउटा मेसिनजस्तै हो, जुन चलिरहनुपर्छ । जसरी नचलाई थन्क्याउँदा मेसिनमा खिया लाग्छ, त्यसैगरी हाम्रो शरीरका हरेक अंगको पर्याप्त व्यायाम भएन तिनमा ऊर्जा प्रवाह हुनसक्दैन र ती कमजोर हुँदै जान्छन् ।

सहज जीवनयापनका क्रममा मानिसले सामान्य श्रममा समेत मेसिनको प्रयोग गर्न थालेको छ । घरायसी काममा श्रमको प्रयोग घट्दै गएको छ ।

मेसिन र ग्याजेटहरुको जमानामा मानिस हरेक काम घरै बसी-बसी गर्न थालेको छ । यसले गर्दा शरीरले श्रम गर्न छाडेको छ । र, शरीरमा पर्याप्त ऊर्जा प्रवाह नहुने र थकाइ लाग्ने समस्या देखिन थालेको छ ।

टेट सिन्ड्रोमका लक्षण

– शरीरमा शक्तिको कमी भएको महशुस हुनु

– लामो समयसम्म जिउ भारी भएको महशुस हुनु

– परेला भारी हुनु वा दिनभर निद्रा लागेको अनुभव हुनु

– एकाग्रता नहुनु

– ठोस निर्णय लिन समस्या हुनु

– नियमित काम पूरा गर्न कठिनाइ हुनु

– बेचैन हुनु

– बिनाकारण निरास हुनु

रोकथामका उपाय

– थकान महशुस हुने काम सकेसम्म नगर्ने । केही समयको अन्तरालमा गर्ने ।

– सकभर आधा घण्टा नियमित व्यायाम गर्ने । व्यायामले शरीरमा ऊर्जा प्रदान गर्छ, जसले गर्दा थकानको अनुभव हुँदैन ।

– ध्यान गर्ने । ध्यानले शरीरलाई एकाग्रता प्रदान गर्नुका साथै तनाव कम गर्न मद्दत गर्छ । दैनिक करिब १५ मिनट मात्र ध्यान गर्ने हो भने यसले चित्तवृत्ति निरोध गर्छ । मन शान्त हुन्छ र मानसिक तनाव स्वतः कम हुन्छ ।

– कैयौं मानिस वैकल्पिक चिकित्साका नाममा मालिस या अकुपञ्चरलगायत उपचारमा केन्दि्रत हुन्छन् । त्यसबाट शरीरले आराम पाउने ठान्छन् । दक्ष व्यक्तिबाट यसखाले थेरापी लिन सकिन्छ । कतिपय अवस्थामा यसले शरीरलाई आरामको साटो थप पीडा दिनसक्छ । अतः मसाज या अक्युपंचर विधि अपनाउनुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment