+
+

महिना दिनको भनिएको जुत्ता मेला ७ दिन मात्र चल्ने

४ घन्टाको बीचमा मेला रोक्ने र चलाउने २ पत्र

अमृत सुवेदी अमृत सुवेदी
२०७४ माघ २६ गते २०:०८

२६ माघ, पोखरा । शुक्रबारदेखि जुत्ता मेला सुरु गर्न पोखरा सभागृहमा आयोजकले तयारी गर्दै थिए । उद्घाटन गर्न सांसद रवीन्द्र अधिकारीलाई बोलाइएको छ ।

तर, जुत्ता निकालेर स्टलमा सजाउन नपाउँदै पोखरा महानगरपालिकाको मेला सञ्चालन नगर्न निर्देशनात्मक पत्र आयो । शुक्रबार तयारी भएर पनि मेला शुरु हुन सकेन ।

जुत्ता कम्पनीले मेला गरेरे जुत्ता बेच्दा आफूहरु व्यावसायिक रुपमा असुरक्षित भएको भन्दै स्थानीय व्यवसायीले विरोध गरेपछि महानगरपालिकाले मेला रोक्न पत्र काट्यो ।

आयोजक नेपाल जुत्ता घर प्रालिले मेलाका लागि प्रक्रिया नपुर्‍याएको र कमसल माल बेच्न लागेको भन्दै स्थानीय व्यवसायीले विरोध गरेका थिए । आफूहरुसँग समन्वय नगरी काठमाडौंबाट आएर मेला गर्न नपाउने उनीहरुको भनाइ थियो ।

काठमाडौं, वुटवल, विराटनगरबाट आएका र स्थानीय व्यवसायीबीच मेलास्थलमै बिहीबार नै विवाद भएको थियो भने स्थानीय व्यवसायीले मेला गर्न नदिन महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायतसँग गुहार नै मागेको थियो ।

व्यवसायीकै दबाबमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पनि मेलाका लागि दिएको अनुमतिलाई शुक्रबार बिहान बदर गरिदियो । मेलाका लागि आवश्यक अनुमति दिएर मेलाको तयारी गरिसकेको आयोजक रनभुल्लमा परे ।

सभाहल महिना दिन बुक, मेयर बेखबर

नेपाली जुत्ता घर प्रालिले गर्ने भनेर प्रचार गरिएको मेलाको अनुमति भने फरक नामबाट लिइएको थियो । जुत्ता मेला गर्न रन सुजको नामबाट अनुमति लिइएको थियो र प्रचार नेपाली जुत्ता घर प्रालिको गरिएको थियो ।

स्थानीय व्यवसायीले विरोध गर्दै महानगरपालिका पुगेपछि रन सुजको नामबाट अनुमति लिएर नेपाली जुत्ता घरको नाममा मेला गर्न लागिएको जानकारी भएको थियो ।
मयेर र कार्यकारी अधिकृतलगायतलाई जानकारी नै नदिइ एक महिनाका लागि पोखरा सभागृहको प्रांगणमा महानगरपालिकाका कर्मचारीले मेला गर्न अनुमति दिएका थिए ।

पोखरा सभागृहमा छोटो अवधिका लागि कार्यक्रम हुँदा कर अधिकृतले अनुमति दिन सक्ने छन् । तर, महिना दिनका लागि दिँदा आफू र कार्यकारी अधिकृतसँग सल्लाह नै नगरी कर अधिकृत शिवहरि शर्माले अनुमति दिएको मेयर मानबहादुर जिसीले नै बताए । ‘एक महिनाका लागि अनुमति दिएको हामीलाई जानकारी थिएन । स्थानीय व्यवसायीको विरोधपछि बल्ल थाहा पायौं,’ मेयर मानबहादुरले भने ।

यद्यपि महानगरले दिनको १७ हजारका दरले भाडा लिने गरी एक लाख रुपैयाँ एड्भान्स लिइसकेको छ ।

गतवर्ष प्रदर्शनी केन्द्रमा २० दिनसम्म मेला चलेको थियो । त्यसबेला कमसल जुत्ता बेचेको र काठमाडौंबाट आएर खुला व्यापार गर्दा स्थानीय व्यवसाय चौपट भएको भन्दै व्यवसायीले विरोध गरेपछि यसपटक मेला आयोजक पोखरा सभागृहमा पुगेको हो ।

प्रशासनको शरणमा व्यवसायी

महानगरपालिकाले मेला नगर्न निर्देशन दिएपछि व्यवसायी जिल्ला प्रशासनदेखि शरणमा पुगेका थिए ।

स्वतन्त्र रुपमा देशका जुनसुकै ठाउँमा व्यवसाय गर्न पाउने अधिकारमाथि सिन्डीकेट लाद्न खोजिएको भन्दै व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ‘हामी पोखरामा केही दिन जुत्ता मेला गरेर पैसा कुम्ल्याएर जाने अनि पसलै बन्द गरेर बस्न भनेर आएका होइनौं,’ रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले भने, ‘महानगरपालिकाबाट अनुमति लिएरै मेला गर्न आएका हौं ।’

कमसल जुत्ता बेचेको पाइए मेला स्थगित गर्न आफूहरु तयार रहेको न्यौपानेले बताए ।

नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले खुला व्यापार नीति अन्तर्गत व्यापार गर्न पाउनुपर्ने बताए ।

कास्की जुत्ता व्यवसायी संघका महासचिव मोहन पौडेलले मेलाका आयोजकले कास्की हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघको स्विकृति लिनुपर्नेमा त्यसो पनि नगरेको बताए । खुल्ला चौरमा सस्तोमा जुत्ता बेचेर व्यवसाय चौपट पार्ने भो भनेर उनीहरु मेला रोक्न लागेको आयोजक बताउँछन् ।

महिनाको मेला हप्ता दिनलाई

स्थानीय व्यवसायीको बिरोधका बाबजुत महानगरपालिकाले शनिबारदेखि शुरु हुने गरी हप्ता दिनलाई अनुमति दिएको छ । स्वतन्त्र रुपमा मेला तथा व्यवसाय गर्न पाउने अधिकारलाई कुन्ठित गर्न नहुने र नेपाली जुत्तालाई प्रवर्द्धन गर्ने भएकाले एक हप्ताका लागि अनुमति दिइएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

मेला रोक्न लिखित पत्र दिएको ४ घन्टापछि महानगरपालिकाले ७ दिन सञ्चालनका लागि अनुमति दिएको छ । मेयर जिसीले भने, ‘कमसल जुत्ता नबेच्ने, महानगरको नियम पालना गर्ने सर्तसहित मेला थाल्न अनुमति दिएका छौं ।’

मेलाका स्टलमा नेपाली उत्पादनका जुत्ताहरु मात्रै रहने नेपाली जुत्ता घर प्रालिले जनाएको छ । मेलामा नेपालमा जुत्ता उत्पादन गर्दै आएका ९ वटा कम्पनीले एकै ठाउँबाट आफ्नो उत्पादन बेच्ने छन् । मेलामा बिएफ डियर हिल, शिखर सुज, रोयल सुज, क्रसरोड सुज, रन सुज, फुटल्याण्ड सुज, कदम सुज र हाइलाइफका जुत्ताहरु मेलामा बिक्रीका लागि राखिने आयोजक कम्पनीले जनाएको छ ।

मेलामा काठमाडौं, पोखरा, बुटवल र विराटनगरका व्यवसायीले जुत्ता, चप्पलका स्टल राख्नेछन् ।

नेपालमा हाल साना र ठूला गरी २ हजारभन्दा बढी जुत्ता उत्पादक कम्पनीहरु छन् । नेपाली बजारको करिब ५५ प्रतिशत हिस्सा नेपाली उत्पादनले नै धान्ने गरेको छ । नेपालमा वाषिर्क ३५ करोडको जुत्ता कारोबार हुँदै आएको छ । १५ अर्ब भन्दा बढिको प्रत्यक्ष लगानी रहेको जुत्ता उद्योगहरुले वाषिर्क ३ करोड ७५ लाख जोर जुत्ताचप्पलहरु उत्पादन गर्छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?